१३ साउन, धादिङ । सदरमुकामस्थित नीलकण्ठ नगरपालिका- ३ की एक महिलालाई उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई गएराति सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका हुन् । ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’- पीडित महिलाले रुँदै भनिन् ।
राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् ।
