काठमाडौं : कतारका महान्यायाधिवक्ता (एटोर्नी जनेरल) डा. अलिदिन फितास अलमेरीले आफ्नो निजी जहाजमा नेपाल भ्रमण गरेका छन्। उनी उडान नम्वर क्युआर ७४५१ को जहाजबाट आफ्ना ६ जना सहकर्मीसहित बिहीबार बिहान ७:५० मा दोहाबाट काठमाडौं आएका थिए।
काठमाडौं आए लगत्तै अलमेरीले उपराष्ट्रपति परमानन्द झा, कानुन मन्त्री नरहरि आचार्य र महान्यायाधिवक्ता बाबुराम कुँवरसँग छुट्टा छुट्टै भेट गरेका थिए। उनी नेपालस्थित कतार दूतावासमा पुगेर महान्यायाधिवक्ता कार्यालय आएका थिए। एक्कासी भएको उनको भ्रमण २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटवलका बेला श्रमिकको कानुनी हक र मानवअधिकारको विषयमा आउन सक्ने आलोचनालाई दृष्टिगत गरी त्यस अगावै वातावरण बनाउन हुनसक्ने तर्क सरकारी अधिकारीको छ।
श्रमिकको हक सुरक्षामा सरकारको मुख्य कानुनी सल्लाहाकार रहने महान्यायाधिवक्ताको विशेष भूमिका रहन्छ। पाँच लाख भन्दा बढी नेपाली कामदार कतारमा छन्। विश्वकपका लागि कतारको मौसम अनुकुल नभएको भन्दै आलोचनासमेत भइरहेको छ। महान्यायाधिवक्ता कुँवरले कतारका महान्यायाधिवक्ताबाट नेपाली श्रमिकको सेवा र सुरक्षाका विषयमा चासो राखेको बताए। शिष्टाचार भेटका क्रममा अलमेरीले कतारमा कार्यरत नेपाली श्रमिकको श्रम समस्याका विषयमा सुझाव पनि मागेका थिए।
श्रमिकको समस्यामा आफू सहयोग गर्न तयार रहेको बचन पनि अलमेरीले दिएका थिए। 'उहाँ आफ्नै प्राइभेट जहाज चढेर ६ जना कर्मचारीसहित आउनुभएको थियो। द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन अफिसियल भिजिट हो' महान्यायाधिवक्ता कुँवरले भने, 'मसँग पनि एक घण्टा कुराकानी भयो। दुई देशबीचको कुटनीतिक सम्बन्ध अझै बलियो बनाउनुपर्छ भनेर कुरा राख्नुभयो। दुवै देशको कानुनी प्रणालीमा एकअर्का परिचित हुनुपर्ने भनाई उहाँको थियो।' अलमेरीले कानुनमन्त्री आचार्य र कुँवरलाई कतार भ्रमणको निमन्त्रणा दिएर बिहीबार राति ११ बजे फर्केका छन्।
fb