३२ असार, काठमाडौँ
नेकपा एमाले का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल र भारतका प्रधानमन्त्री तथा शीर्ष नेताहरुले बधाई तथा शुभकामना दिएका छन् ।
ओली एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएको खबर पाएपछि हाल उपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले गएराति टेलिफोन गरी बधाई र शुभकाना दिएका हुन् ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार प्रधानमन्त्री कोइरालाले आफू स्वदेश फर्केपछि संविधान निर्माण र सरकारका प्राथमिकताका काममा आपसमा मिलेर अघि बढ्ने बताएका थिए भने जवाफमा ओलीले मुलुकका सामु उत्पन्न चुनौतीलाई सहकार्यका आधारमा जनतालाई राहत हुने गरी सम्बोधन गर्न फरक ढङ्गले क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी गएराति नै एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपालले टेलिफोन गरी ओलीलाई बधाई दिएका थिए ।
यसैगरी ओलीलाई बुधबार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतले टेलिफोनमार्फत बधाई दिएका छन् ।
स्वकीय सचिव आचार्यका अनुसार ओली निवास बालकोटमा मंगलबार राति देखि कार्यकर्ता र शुभेच्छुकको बधाई दिने भिड छ ।
यसैबीच नवनिर्वाचित अध्यक्ष ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता दलका अमित शाहले पनि इमेलमार्फत बधाई र शुभकामना दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई एमाले केन्द्रीय कार्यालयमा बिहीबार १ बजे नवौँ महाधिवेशनको समापन कार्यक्रम गरी प्रमाणपत्र दिइनेछ । ओली नेता नेपालसँग ४४ मतअन्तरले विजयी भएका थिए ।
एमाले महाधिवेशन आजै समापन हुने कार्यक्रम छ ।
fb