तरकारीको मुख्य स्रोत बजार कालिमाटी फलफुल तथा तरकारी विकास समितिमा गएको असार ४ गतेदेखि बिषादी परीक्षण गर्ने यन्त्र राखिएको छ । बिहीबारसम्म गरिएको १ सय ४८ वटा नमुना परीक्षणमा बिष पाइएको वाली संरक्षण निर्देशनालयले जनाएको छ । तर उपभोग गर्न नमिल्ने गरी ९ वटा नमुनामा मात्र बिष पाइएको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराज शर्माले बताउनुभयो । तरकारी बजारमा द्रुत बिषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना भएपछि दिनहुँ बिहान ५ बजेदेखि १२ बजेसम्म बिषादी परिक्षण हुन्छ । दैनिक रुपमा बजारमा सबैभन्दा बढी भित्रने तरकारीमध्येबाट क्षेत्रगत रुपमा समाबेश हुनेगरी ८ वटासम्मको परीक्षण गरिन्छ । चार जना प्राविधिकले पालैपालो काम गर्नुपर्ने र बिषादी जाँच गर्ने यन्त्र एउटा मात्र भएका कारण बजारमा भित्रिएका सबै तरकारीको परिक्षण हुन सकेको छैन ।झण्डै एक महिनाको अबधिमा भन्टा, काउली, खुर्सानी, बोडी, आलु, प्याजको सागमा बिषादीको मात्रा बढी भेटिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका कार्यक्रम निर्देशक शर्मा भन्नुहुन्छ ‘अरु तरकारीमा पनि बिषादी भेटिन्छन् । फरक यत्ति हो कुनैमा कम कुनैमा बढी ।’
बिषादीको मात्रा जाँच्न तरकारी बजारमा ताइवानबाट १५ लाख रुपैयाँमा स्पेक्टो फोटो मिटर ल्याइएको थियो । यही यन्त्रको मद्दतबाट बिषादीको लेभल जाँच गरिन्छ । जाँचको आधारमा बिषादी छ/छैन र छ भने कति प्रतिशत छ भन्ने पत्ता लाग्छ । परीक्षणका क्रममा लेभल ३५ प्रतिशतभन्दा तल देखिएमा खान योग्य मानिन्छ । लेभल ३५ र ४५ प्रतिशतको बिचमा छ भने पाँचदिनसम्म खुला ठाउँमा भण्डारण गरेर राखेपछि मात्र खान योग्य हुन्छ । यदि परीक्षणबाट लेभल ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । कार्यक्रम निर्देशक शर्माका अनुसार यस्ता तरकारी नष्ट गर्नु बाहेकको उपाय छैन ।
स्पेक्टो फोटो मिटरले आधा घण्टा भित्रमा तरकारी फलफुल वा कृषिजन्य वस्तुमा बिषादीको मात्रा कति छ भन्ने पत्ता लगाउँछ । परीक्षणका क्रममा बिषादीको प्रतिशतलाई शतप्रतिशत निश्चित गर्नका लागि एक पटक गरे हुने परीक्षणलाई तीन पटक अर्गेनोफस्फेट र अर्को तीन पटक कार्बामेट परीक्षण गरी छ पटक परीक्षण गरिन्छ । नेपालमा प्रयोग हुने बिषादी मध्ये झण्डै ७० प्रतिशत बिषादी अर्गेनोफस्फेट र कार्बामेट समूहका छन् ।लेभललाई कसरी बुझ्ने ?
निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार बिषादी परीक्षणका क्रममा स्पेक्टो फोटो मिटरले देखाउने लेभल बिषादीको प्रतिशत होइन । हाम्रो शरीर सञ्चालन गर्ने विभिन्न नशा प्रणाली छन् । नशा प्रणाली एक्टिभ गर्ने अरु थुप्रै एन्जाइम हुन्छन् । त्यो एन्जाइमको क्रियाकलापलाई बिषादीले अबरोध गर्छ । यदि बिषादी बढी छ भने त्यसको अबरोध क्षमता पनि बढ्दै जान्छ । बिषादी कम छ भने अबरोध क्षमता घट्छ । त्यहि अबरोधको प्रतिशत स्पेक्टो फोटो मिटरमा देखिएको हो । यस्ता बिषादीका कारण प्यारालाइसिस हुने, हात गोडा गल्ने, मानसिक रुपमा थकान बढ्ने, बेहोस हुने जस्ता समस्या देखिन्छ ।
निर्देशनालयले तरकारी बजारमा बिषादीको लेभल ४५ प्रतिशतभन्दा धेरै भेटिएका तरकारी नष्ट गर्न र विक्रि गर्नेलाई कारबाही गर्न सकेको छैन । कानुन अभावका कारण कारबाही गर्न नसकिएको निर्देशक शर्माले बताउनुभयो । बिषादी धेरै भएका तरकारीको व्यापारीलाई ‘फेरि पनि यस्तै दरमा बिषादी भेटिएमा सबै तरकारी नष्ट गर्ने’ चेतावनी दिएर छाडिएको उहाँको भनाई छ । निर्देशनालयले अहिले सम्बन्धित ऐनहरु अध्ययन गरिरहेको छ । कुन ऐनमा कस्तो ब्यवस्था छ र बिषादीको गलत प्रयोग गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न कुन कानुन प्रभावकारी हुन्छ भनेर खोजी गरिरहेको शर्माले बताउनुभयो । साथै कमजोर कानुनलाई परिमार्जन गरेर दण्डको व्यबस्थालाई बलियो बनाइने उहाँको भनाई छ । जिओनाशक बिषादी ऐन २०४८ र नियमावली २०५० ले बिषादी अवशेषको बारेमा कुनै कुरा नबोलेको हुँदा दण्ड कानुनको व्यबस्था राखेर परिमार्जनका लागि सदनमा पेश गर्नेे तयारीमा निर्देशनालय लागेको छ ।खाद्य नियमावली तथा उपभोक्ता संरक्षण ऐनमा खान अयोग्य ठहरिएका कुनैपनि खाद्यपदार्थलाई नष्ट गर्न सकिने व्यवबस्था छ । नयाँ कानुन नबन्दासम्मको लागि सरकारले यहि कानुनको आधारमा बिषादी लेभल ४५ प्रतिशत भन्दा बढी भएका तरकारी स्थानीय, जिल्ला प्रशासन तथा स्थानीय निकायको सहयोग लिएर पुर्ण नष्ट गर्ने तयारी पनि गर्दैछ ।
बिषादीको प्रयोगमै ध्यान दिनुपर्ने
कुनै पनि बिषादीको लेभलमा ‘प्रयोग गरेको कतिदिनसम्म उपभोग गर्न मिल्दैन’ भन्ने पूर्ण जानकारी लेखिएको हुन्छ । जतिदिनसम्म प्रयोग गर्न हुन्न भनिएको छ त्यति दिनपछि प्रयोग गर्दा तरकारीमा बिषादीको अबशेष भेटिने सम्भावना निकै कम हुन्छ । अर्को समस्या भनेको जति मात्रामा बिषादी छर्नुपर्ने हो त्यो भन्दा बढी छर्दा पनि समस्या आउँछ । त्यस्तो अबस्थामा लेभलमा लेखिएको उपभोग गर्न नमिल्ने दिनसँग मेल खाँदैन । त्यसकारण किसानले बिषादीको प्रयोग गर्दा मात्रा र पर्खनुपर्ने समयको अत्यन्त ख्याल राख्नुपर्छ ।
तरकारी कसरी उपभोग गर्ने ?
ब्यवसायिक खेती गरिएका तरकारीमा बिषादीको प्रयोग लगभग सबैमा हुन्छ । बजारमा आउने भनेको तिनै तरकारी हुन् । त्यसकारण बिषादी नहालिएको तरकारी पाउनु सायद कल्पना मात्र हुनजान्छ । यद्यपी उपत्यकाको केही ठाउँमा अर्गानिक पसल पनि छन् । चलेको बजार भाउभन्दा केही महँगो र थोरै परिमाणमा मात्र पाईने भएकाले सर्वसाधारणको पहुँचमा यस्तो तरकारी छैन । त्यसैले बजारमा खरिद गरिएका तरकारी उपभोग गर्नुभन्दा अघि ध्यान दिनुपर्छ ।
बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक शर्माका अनुसार यदि तरकारी वा फलफूलमा बिषादी छ भन्ने शंका लागेमा तीन/चार पटक पानीले राम्रोसँग पखाल्नुपर्छ । सम्भव भएमा मनतातो पानीमा १० मिनेट डुबाएर राख्ने हो भने ५० देखि ६० प्रतिशत बिषादीको मात्रा बगेर जान्छ । बजारमा पाइने आलुमा बिषादीको खतरा बढी हुने भएकाले बोक्रा फालेर मात्र उपभोग गर्न उहाँको सुझाव छ । त्यस्तै बोक्रा भएका अन्य तरकारी तथा फलफुलको बोक्रा फालेर मात्र उपभोग गर्दा पनि बिषादीको मात्रा आधा कम हुन्छ ।
