Headlines News :
fb
Home » » चक्रे छुट्दा दुनियाँलाई सास्ती

चक्रे छुट्दा दुनियाँलाई सास्ती

काठमाडौं- सुन्धाराको सिटिसी मल परिसर सोमबार दिउँसो अचानक मानिसको चहलपहलले भरियो। काठमाडौं महानगरपालिका, सिटिसीबाट चाइना टाउन जाने बाटो, केन्द्रीय कारागार परिसर चिल्ला निजी गाडी र मोटरसाइकल पार्किङले सजिए।
लावालस्कर र भिडभाडले बाटो जाम भयो। चमकधमक देख्दा यस्तो लाग्थ्यो, त्यहाँ कुनै घरानियाको विवाह पार्टी चलिरहेछ र गन्यमान्य भिआइपीहरू धमाधम आइरहेका छन्। सहिदगेट र त्रिपुरेश्वरबाट गाडी र मोटरसाइकलको लर्को थपिँदै थियो। कतिपय पैदलै ओइरिँदै थिए।
बिहे त होइन पो रहेछ। केन्द्रीय कारागारबाट कुख्यात अपराधी मिलन गुरुङ उर्फ चक्रे मिलन छुट्दै रहेछन्, त्यो सारा भिड उनकै स्वागतमा रहेछ।
नभन्दै, तीन घन्टा लामो प्रतीक्षापछि चक्रे थुनामुक्त गरिए। भिडलाई सानले हात हल्लाउँदै अघि बढे। भिड पछि लाग्यो।
सर्वसाधारणले १ मिनेट पनि मोटरसाइकल वा गाडी रोक्न नपाउने उक्त स्थानमा एकैपटक सयभन्दा बढी मोटरसाइकल पार्क गरिए भने ट्रेड सेन्टरबाट केन्द्रीय कारागार जाने सडकमा तीनचारवटा गाडी रोकिएका थिए।
मूल सडक नै अस्तव्यस्त हुने गरी भिड जम्मा गर्ने गुरुङको स्वागतमा आएका मानिसहरुको भिडलाई न प्रहरीले व्यवस्थित बनाउन सक्यो, न त ट्राफिक प्रहरीले नै। जसले तीन घन्टाभन्दा बढी समय सर्वसाधारणे सास्ती खेप्नुपर्योय।
गुरुङलाई स्वागत गर्न आएका मानिसका सवारीलाई सहज रुपमा चाइनाटाउन गेटभित्र मोडिन दिइए पनि सहिदगेट तर्फबाट आएका सर्वसाधारण जनताका मोटरसाइकललाई गेटतर्फ मोडिनसमेत दिइएको थिएन। ट्राफिकले नै मोड्न नदिएकाले चाइनाटाउन आउनुपर्ने सर्वसाधारण त्रिपुरेश्वर घुमेर आउनुपरेको थियो।
भिडका कारण सवारी व्यवस्थापन गर्न समस्या भएकाले केही समय चालकलाई त्रिपुरेश्वर पठाउनुपरेको एक ट्राफिकले बताए। ट्राफिक प्रहरीका अनुसार भिडलाई नियन्त्रण गर्ने र व्यवस्थित गर्ने काम जनपद प्रहरीको भए पनि उनिहरुले राम्रो भूमिका नखेल्दा सर्वसाधरणले दुःख झेल्नुपरेको हो।
'हाम्रो काम सवारी व्यवस्थापन गर्नु थियो,' ती ट्राफिकले भने, 'लामो समय दुःख झेलेरै भए पनि सफल भयौँ।' उनले सिटिसी मलको व्यवस्थापनले समेत जथाभावी सवारी रोक्न दिँदा समस्या आएको बताए।
लागुऔषध तथा अवैध हतियार राखेको अभियोगमा ५ वर्षदेखि कैद सजाय भोगिरहेका गुरुङको कैद भुक्तान दुई दिनअगाडि नै भइसकेको थियो। तर सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटी बुझाउन नसक्दा जेलमै रहेका गुरुङले धरौटीबापतको रकम बुझाएर सोमबार जेलबाट छुटेका हुन्।
सम्पत्ति शुद्धकिरण विभागले गुरुङलाई ०७० जेठ ५ गते ७ करोड ८ लाख १५ हजार बराबरको सम्पत्ति अवैध रहेको भन्दै मुद्दा दायर गरेको थियो। गुरुङले सोमबार अदालतमा १ करोड धरौटी बुझाएका थिए। अदालतले जेठको अन्तिममा नै गुरुङसँग धरौटीबापतको एक करोड रकम मागेको थियो। तर लागुऔषध र अवैध हतियार मुद्दामा सजाय भोगिरहेकाले उनले उक्त रकम बुझाएका थिएनन्। गुरुङले तनहुँको व्यास नगरपालिकाको अर्कैका नाममा रहेको जग्गा धरौटीमा राखेका छन्।
गुरुङ छुट्ने पक्का भएपछि स्वागत गर्न २ नबज्दै सुन्धारामा भिड सुरु भएको थियो। केन्द्रीय कारागारले प्रक्रिया पूरा गरी गुरुङलाई जिल्ला प्रसासन कार्यालयमा पठाएको थियो। कारागारबाट ४:४५ बजे निस्केका उनलाई प्रहरीले सोझै प्रशासन कार्यालय लगेका थिए। तर त्यतिबेला गुरुङ समर्थित व्यक्तिले केही बेर खादा तथा माला लगाउँदै बधाई दिने क्रममा मूल सडक नै ठप्प हुन पुगेको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar