Headlines News :
fb
Home » » आमाको हातैबाट खोसेर बालक अपहरण

आमाको हातैबाट खोसेर बालक अपहरण

काठमाडौं-आइतबार। दिउँसो ३ बजे।
पिंकी बजाज आफ्नो पाँच वर्षीय छोरा स्कुलबाट फर्कने बाटो हेर्दै थिइन्। भाटभटेनीको मिल्सबेरी स्कुलको गाडी धापासी–८ स्थित उनको घर इन्द्रपुरी आवासको गेटैमा रोकियो।


बालक गाडीबाट ओर्लियो। आमा पिंकी छोरालाई बोकेर घरभित्र छिर्न मात्र खोजेकी थिइन्, दुइटा मोटरसाइकल हुइकिँदै आइपुगे। मोटरसाइकलमा दुई–दुईजना सवार थिए। ती चारैजनाले सुइइइ आएर पिंकीको हातैबाट छोरालाई खोसे। पिंकी चिच्याउँदै थिइन्, मोटरसाइकल एकैछिनमा अलप भए।
हेर्दाहेर्दै बालक अपहरणमा पर्‍यो।
उनले आफ्ना श्रीमान दीपकलाई खबर गरिन्। त्यहीबीच स्थानीयले प्रहरीलाई जानकारी गराए। उनीहरूले त्यस्तो अवस्थामा पनि एउटा मोटरसाइकलको नम्बर टिप्न भ्याएका रहेछन्। नम्बर थियो, बा३२प १०९८।
महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले त्यही नम्बरलाई मुख्य आधार बनाएर अनुसन्धान सुरु गरेको काठमाडौं परिसरका एसपी नारायणसिंह खड्काले जानकारी दिए। स्थानीयले दिएको सूचनाका आधारमा चारैतिरका 'चेकप्वाइन्ट'लाई सतर्क गराइयो। मोटरसाइकल गएको दिशातिरबाट धुइँपत्ताल खोजी सुरु भयो।
मोटरसाइकलमा बच्चा लिएर भागे पनि अहिलेसम्म मोटरसाइकल कतै लुकाइसकेका होलान् भन्ने अनुमानका आधारमा निजी वा सार्वजनिक सवारीमाथि निगरानी बढाइयो।
करिब आधा घन्टापछि स्वयम्भुको हलचोकनजिकै चेकप्वाइन्ट थापेर बसेका असई ऋषिराम चपाईंले बा१ज ९७७३ नम्बरको माइक्रो तलासी गर्दा एक बालक डराएर बसिरहेको फेला पर्‍यो। उसलाई एक युवकले च्यापेको थियो। प्रहरीले त्यो युवकलाई माइक्रोबाट झारेर बच्चाबारे सोधखोज गर्‍यो। केराकर हुन थालेपछि त्यो युवक बच्चा छाडेर स्वयम्भु पूर्वतिर कुलेलाम ठोक्यो। चपाईंको शंका झन् बलियो भयो। उनले स्वयम्भुतिर दौडिएको युवकलाई पिछा गरेर पक्राउ गरे।
नभन्दै त्यो बालक पिंकीका अपहरित छोरा नै रहेछ। प्रहरीले अपहरणको एक घन्टामै एक अपहरणकारीसहित बच्चा फेला पार्‍यो।
ती अपहरणकारी थिए, झापाका खेमराज खड्का। प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा बालकलाई झापा पुर्‍याएर फिरौती असुल्ने योजना रहेको खुल्यो।
उनीहरूले अपहरणलगत्तै धापासीको भित्री बाटो हुँदै माछापोखरी आएर मोटरसाइकल छाडेका रहेछन्। त्यहाँबाट माइक्रोबस चढेको खड्काले बयान दिए। उनले बालकलाई झापा लैजान अन्य चार अपहरणकारी कलंकीमा कुरेर बसेको पनि बताए। प्रहरी टोली सादा पोसाकमा खड्कालाई अघि लाएर कलंकी पुग्यो।
'कलंकीमा चारजना रहेको भनिए पनि तीनजना मात्रै फेला परे,' एसपी खड्काले घटनाबारे जानकारी दिँदै आइतबार नागरिकसँग भने।
कलंकीमा पक्राउ परेकाहरू धुलावारी–४ का विवेक राई, निसेध तामाङ र रमेश अधिकारी हुन्। अपहरणको योजनामा संलग्न अन्य दुईजना नयाँ बसपार्कमा रहेको पनि खुल्यो। उनीहरूसँग हतियारसमेत रहेको थाहा पाएपछि पक्राउ गर्न जाने प्रहरी संख्या थपियो।
प्रहरीले बसपार्कबाट झापाकै सुरज लिम्बू र केशव तामाङलाई पक्राउ गरे। एसपी खड्काका अनुसार लिम्बूको साथबाट पेस्तोल तथा तीन राउन्ड गोली र तामाङको साथबाट रिभल्बर फेला परेको छ।
अपहरणकारीको समूह नै पक्राउ परे पनि प्रहरीले अपहरणमा प्रयोग भएको मोटरसाइल फेला पारेको थिएन। सोधपुछबाट उक्त मोटरसाइकल खड्काले बसपार्कको म्याग्दी चोकमा रहेको आफ्नो डेराको कम्पाउन्डमा लुकाएको थाहा भयो। प्रहरी टोली गएर मोटरसाइकलसँगै खड्काकी श्रीमती मनिषालाई समेत पक्राउ गर्‍यो। अपहरणमा संलग्न प्रसन्न कार्की भने अझै फरार छन्।
अपहरणमा परेका बालकको परिवार जुत्ता व्यापारमा संलग्न छ। दीपक सुरज आर्केडमा जुत्ताको थोक कारोबारमा संलग्न रहेको प्रहरी अधिकारीले जानकारी दिए।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सुमन खड्का र प्रसन्न कार्कीले दुई महिनाअघि बालक अपहरणको योजना बनाएका थिए। उनीहरूले यसका लागि बालक र परिवारको गतिविधि नियालेका थिए। चालीस लाखसम्म फिरौती असुल्ने उनीहरूको योजना थियो।
'अहिलेसम्मको अनुसन्धानमा फिरौती असुल्नकै लागि बच्चा अपहरण गरी झापा पुर्‍याउने योजना रहेको खुलेको छ,' अनुसन्धानमा संलग्न एसपी खड्काले भने, 'उनीहरूको समूहमा अरू को–को हुन सक्छन् र अपहरणमा क–कसले सघाएका थिए, त्यो विस्तृत अनुसन्धानपछि खुलाउने छौं।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar