काठमाडौं, जेष्ठ २५ । सन् २०२२ को फुटबल विश्वकप आयोजना गर्न कतारलाई दिनेक्रममा ठूलो अनियमितता भएको भन्ने खबरसँगै विश्व फुटबलको सर्वोच्च संस्था फिफा विवादको घेरामा तानिँदै आएको छ । कतारले घूष खुवाएर निर्णय आफ्नो पक्षमा पारेको भन्ने खबर दिनानुदिन आउन थालेपछि फिफाका प्रायोजकहरुले तत्काल छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।फिफाको मूख्य प्रायोजक मध्येको एक सोनी कम्पनीले विश्वकपका लागि गरिएको टेण्डरका क्रममा गलत क्रियाकलाप भएको भन्नेबारे सही अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन फिफाका पदाधिकारीहरुसँग माग गरेका हुन् ।
द सन्डे टाइम्सले टेण्डर स्वीकृत गराउने समयमा कतारले सदस्य राष्ट्रहरुलाई अनुचित प्रभावमा पारेको प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक गर्न थालेपछि फिफा पदाधिकारीहरु दबाबमा परेका हुन् ।
उक्त पत्रिकाले कतारका तात्कालीन फिफा उपाध्यक्ष मोहम्मद बिन हमामले निर्णय आफ्नो पक्षमा पार्न ३० लाख पाउण्ड सदस्य राष्ट्रका पदाधिकारीहरुलाई खुवाएको खुलासा गरेको थियो । भ्रष्टाचारको आरोप पुष्टि भए नयाँ आयोजक खोज्न सकिने फिफा अपाध्यक्षले यसअघिनै बताइसकेका छन् । सन् २०१० मा कतारलाई सन् २०२२ को वल्र्डकप गर्न दिने निर्णय गरिएको थियो ।
