Headlines News :
fb
Home » » लोकमानसिंहको संकेत प्रचण्डमाथि ?

लोकमानसिंहको संकेत प्रचण्डमाथि ?

पूर्वलडाकूको सम्पत्तिमा अख्तियार पस्ने डर
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले प्रमाण भेटिए राजनीतिक दलका नेतालाई पनि अख्तियारले समात्ने अभिव्यक्ति दिएपछि यसको तरंग एमाओवादीसम्म पुगेको छ । कार्कीको यो अभिव्यक्तिलाई कतिपयले एमाओवादीमाथि लक्षित रहेको अनुमान लगाएका छन् । एमाओवादीमा पूर्वलडाकूहरुका लागि राज्यले प्रदान गरेको करोडौं रकम हिनामिना गरिएको आरोप लाग्दै आएको छ ।

यही विषयलाई लिएर पार्टीभित्र खैलाबैला मच्चिएपछि पोष्टबहादुर बोगटीको नेतृत्वमा एमाओवादीले तीन सदस्यीय छानविन समिति गठन गरेर समितिले पार्टी हेडक्वार्टरमा प्रतिवेदनसमेत पेश गरिसकेको छ । तर, वर्षौं बितिसक्दा पनि सो प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । एमाओवादी नेताहरुले अकूत सम्पत्ति कमाएको गुनासो बढेपछि सो पार्टीले अमिक शेरचनको अध्यक्षतामा एमाओवादी नेताको सम्पत्ति छानविनसम्बन्धी अर्को समिति पनि बनाएको थियो ।

 लोकेन्द्र विष्टमगर र नवराज सुवेदी सदस्य रहेको सो समितिले बुझाएको प्रतिवेदन पनि एमाओवादीले अहिलेसम्म गुपचुप राखेको छ । नेताको सम्पत्ति छानविनसम्बन्धी प्रतिवेदन पार्टीको आन्तरिक विषय भए पनि लडाकूको सम्पत्ति राज्यसँग जोडिएको विषय हो । राज्यले दिएको रकममा भएको हिनामिना अख्तियारको अधिकारक्षेत्रभित्र पर्ने विषय भएकाले कुनै पनि बेला यो विषयमा अख्तियारले हस्तक्षेप गर्न सक्ने एमाओवादी नेताहरुमा डर रहँदै आएका बेला लोकमानसिंह कार्कीले नेतालाई समेत नछाडिने बताएका हुन् ।

 क-कसले खाए लडाकूको पैसा ?
राज्यले लडाकूहरुलाई दिएको रकम हिनामिना गर्नेमा अधिकांश डिभिजन कमाण्डरहरु छन् । तर, उनीहरुलाई कारवाही गर्न प्रचण्ड डराएका कारण छानविन समितिको प्रतिवेदन सार्वजनिक हुन नसकेको एमाओवादी स्रोत बताउँछ । ‘

चितवनको शक्तिखोरस्थित ३ नम्बर डिभिजनका तत्कालीन कमान्डर धनबहादुर मास्कीले सबैभन्दा बढी रकम हिनामिना गरेका छन् । ६ नम्बर डिभिजनका तत्कालीन कमान्डर महेन्द्रबहादुर शाहीलाई पनि छानविन समितिले दोषी देखाएको छ,’ एमाओवादी स्रोतले अनलाइनखबरसँग भन्यो-’पूर्वडेपुटी कमाण्डर एवं सभासद जनार्दन शर्मा प्रभाकरले लडाकूको पैसा जनमैत्री अस्पताल र विभिन्न शिक्षण संस्थामा लगानी गरेको पाइएको छ । तर, उनीहरुमाथि कारवाही गर्ने आँट कसैले गरेको छैन ।’

 एमाओवादी स्रोत भन्छ, ‘पूर्वलडाकू कमान्डरले प्रचण्डलाई थर्काउने गरेका छन्, कालीबहादुर खामले त बैठकमै भनिसकेका छन्, हिजो तिमीहरुलाई संकट पर्दा कसले सुरक्षा दिएको थियो ? हामीमाथि कारवाही भयो भने तिमी नेताहरु पनि सुरक्षित हुने छैनौं ।’ लडाकूको सम्पत्ति हिनामिनाबारे प्रतिवेदन सार्वजनिक गर्दा पूर्व कमान्डरहरुको नाम मुछिने र त्यस्तो भएको अवस्थामा प्रचण्डको सुरक्षामा भौतिक समस्या पर्ने भएकाले यो बोगटी आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको स्रोत बताउँछ ।

सम्पत्तिको सम्बन्ध हेडक्वार्टरसम्म 
यसैबीच पूर्वकमाण्डर जनार्दन शर्मामार्फत जनमैत्री अस्पतालमा लडाकूको करोडौं रकम डुबेको भए पनि सो कार्य शर्माले एक्लै गरेको नभई पार्टीकै निर्णयअनुसार भएको स्रोतले बतायो । ‘पार्टीले नै गरेको र यसमा अध्यक्षको पनि सहमति छ भनिसकेपछि कसलाई कारवाही गर्ने ?’ स्रोतले अनलाइनखबरसँग भन्यो । तर, डिभिजन कमान्डर धनबहादुर मास्कीले पार्टीको निर्णयविनै ठूलो रकम हिनामिना गरेको समितिको प्रतिवेदनलाई उधृत गर्दै स्रोतले बतायो ।

अकूत सम्पत्ति कमाउने को-को 

बोगटीले तयार पारेको लडाकूको सम्पत्ति छानविन प्रतिवेदनजस्तै नेताको सम्पत्ति छानविन प्रतिवेदन पनि अलपत्र छ । स्रोतका अनुसार पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका पति बाँकेका चन्द्रकान्त सुवेदी र महेश्वर गहतराज अकूत सम्पत्ति कमाउनेमा परेका छन् । त्यसैगरी मजदुर नेता शालिकराम जमर कट्टेलले विभिन्न क्यासिनोमा लागनी गरेर मजदुरको साटो मालिक बनेको निश्कर्ष सम्पत्ति छानविन आयोगको प्रतिवेदनमा उल्लेख छ । अकूत सम्पत्ति कमाएको आरोप लागेका पूर्वसभासद शिवचन्द्र कुशवाहाले भने पार्टी परित्याग गरिसकेका छन् । पूर्वमन्त्री गिरिराजमणि पोखरेलका पीएसमेत अकूत सम्पत्ति आर्जन गरेको सूचीमा परेका छन् । यद्यपि समितिको यो प्रतिवेदन अहिलेसम्म एमाओवादीले गपचूप राख्दै आएको छ । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar