Headlines News :
fb
Home » » कुनै पदमा नबस्ने भट्टराई पक्षको चेतावनी

कुनै पदमा नबस्ने भट्टराई पक्षको चेतावनी


  • प्रस्तावित ९९ मध्ये भट्टराईका १५ र श्रेष्ठ पक्षका १० मात्रै’

विराटनगर, वैशाख २३ - एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहालको नयाँ केन्द्रीय समिति सदस्यका लागि प्रस्तावित नामको सूचीलाई नेता बाबुराम भट्टराई पक्षले अस्वीकार गरेको छ । भट्टराई पक्षका सबै नेताले समितिमा नबस्ने घोषणा गरेका छन् । नेता नारायणकाजी श्रेष्ठले पनि उक्त प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । भट्टराई र श्रेष्ठका असन्तुष्टिका कारण सोमबार दिनभरको गृहकार्य असफल भएको थियो । रोडशेषस्थित 'स्वागतम' होटलमा पटक-पटक भएका छलफल बिनानिष्कर्ष टुंगिएपछि बन्दसत्र स्थगित भएको थियो ।

दाहालले प्रस्ताव गरेको केन्द्रीय समितिका ९९ जनामध्ये भट्टराईका १५ र श्रेष्ठ पक्षका १० जना परेको ती पक्षले बताएका छन् । दाहाल पक्षले भने दुवै पक्षको ३० जना रहेको दाबी गरेको छ ।

असन्तुष्ट भट्टराईले मंगलबार अपराह्न ३ः१५ बजेको उडानबाट काठमाडौं र्फकने तय गरेका

छन् । राष्ट्रिय सम्मेलन आयोजक समिति बैठकमा अध्यक्ष दाहालले नयाँ केन्द्रीय समितिको नाम प्रस्ताव गरेपछि भट्टराईले आफू कुनै पदमा नबस्ने बताएका थिए । 'अध्यक्षले प्रस्ताव गरेको प्यानल मलाई चित्त नबुझे पनि असहयोग गर्दिनँ,' उनले आयोजक समिति बैठकमा भने, 'मलाई कुनै पनि पदमा नराख्न आग्रह गर्छु ।' उनले आफू कुनै पदमा नरहे पनि विश्वमा कम्युनिस्ट पतनबारे अनुसन्धान गर्ने बताएका थिए । नेता श्रेष्ठले पनि दाहालको प्रस्तावमा असन्तुष्टि जनाए । उनले भट्टराई जस्तो कुनै पदमा नबस्ने बताएनन् । 'अध्यक्षको प्रस्ताव चित्त बुझ्दो छैन, न्यायपूर्ण छैन,' उनले भने ।

दाहालको केन्द्रीय समिति 'प्यानल' प्रति आपत्ति जनाउँदै भट्टराई पक्षका नेताले आफूहरूलाई कुनै पदमै नराख्न आग्रह गरे । नेताहरू टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, गंगा श्रेष्ठ, कुमार पौडेल, वामदेव छेत्री, नवराज सुवेदी लगायतले केन्द्रीय समितिमा नबस्ने घोषणा गरे ।

भट्टराई पक्षका कुनै पनि नेता केन्द्रीय समितिमा नबस्ने घोषणापछि जारी राष्ट्रिय सम्मेलन संकटमा फसेको छ । आफ्ना पक्षका धेरै नेता नसमेटिएको भन्दै भट्टराई पक्ष रुष्ट बनेको हो । भट्टराई पक्षका नेता पौडेलले सहमति पनि नभएको र धेरै वरिष्ठ नेता छुटेकाले नबस्ने घोषणा गरेको बताए । 'पहिलो कुरा सहमतिको प्यानल होइन, दोस्रो कुरा धेरै वरिष्ठ साथी छुट्नु भएको छ,' उनले भने, 'त्यसकारण हामीले नैतिक रूपमा बस्न नमिल्ने भनेका हौं ।' संस्थापन पक्षका नेता वर्षमान पुनले सहमतिबाटै केन्द्रीय नेतृत्व चयन हुने दाबी गरे । 'अध्यक्ष र बाबुराम छलफल गरिरहनु भएको छ, सहमतिमै चयन हुनेछ,' उनले भने । सोमबार दिनभर दाहाल, भट्टराई र श्रेष्ठबीच सहमतिका लागि 'प्यानल' बनाउने गृहकार्य भए पनि सहमति हुन सकेन । त्यसपछि दाहालले केन्द्रीय समितिको प्यानल आयोजक समितिमा राखेका थिए । उनले शीर्ष तहमा सहमति नभए पनि छलफलका लागि बैठकमा राखेको बताए ।

'सहमति नभए पनि मैले अध्यक्षका हैसियतले प्यानल प्रस्तुत गरेको हुँ,' दाहालको भनाइ थियो, 'यो अन्तिम भन्ने होइन, छलफल गर्न सकिन्छ ।' सोमबार राति र मंगलबार बिहान पनि शीर्ष तहमा छलफल गर्ने, त्यसपछि पनि सहमति हुन नसके प्रस्तावलाई हलमा राख्ने तयारी दाहालले गरेका छन् ।

सहमतिबिना प्रस्ताव हलमा राखे भट्टराई पक्षले बहिष्कार गर्न सक्ने एक नेताले बताए । भट्टराई पक्षले त्यसो गरे सम्मेलन 'व्यर्थ' हुनेछ । एक पक्षले चित्त नबुझे सम्मेलन बहिष्कार गर्नु पार्टी विभाजनको दिशातिर जानु हो । त्यसो हुन नदिन दाहालले कसरत गरिरहेको निकट नेताहरूले बताएका छन् ।

सहमति नभए निर्वाचनमा जानुपर्ने युवा नेताहरूको दबाब चर्को छ । दाहालको प्रस्तावमा नपरेका युवा नेताले निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् । संस्थापन पक्षका नेताहरूले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रस्ताव भट्टराईले पहिलो पटक ल्याए पनि हाल हच्किएको टिप्पणी गर्न थालेका छन् । सहमतिका नाममा भट्टराई र श्रेष्ठ पक्षले भागबन्डा खोजेको संस्थापन पक्षको आरोप छ । अर्को पक्षले भने दाहाल पक्षले पेलेर केन्द्रीय समिति बनाउन खोजेको बताएका छन् ।

प्रतिनिधि फर्कन थाले

नेताहरूबीच केन्द्रीय समितिमा सहमति नभएपछि दिक्क भएका सम्मेलन प्रतिनिधि घर फर्कन थालेका छन् । सम्मेलन लम्बिएपछि बेखर्ची भएकाले उनीहरू घर फर्कन थालेका हुन् । सम्मेलनप्रति उदासीन हुँदै घर फर्किने तयारी गर्नेहरू पनि थुप्रै छन् । नेताको निर्णय प्रतीक्षामा रहेका प्रतिनिधि दिनभर बैठक स्थल वरिपरि भौंतारिएका थिए । केही प्रतिनिधि किनमेल गर्न सीमावर्ती बजार जोगबनी गएका थिए ।

प्रस्तावित केन्द्रीय समिति

पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, दीनानाथ शर्मा, वर्षमान पुन, लीलामणि पोख्रेल, गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, हिसिला यमी, चन्द्रप्रकाश खनाल, हेमन्त ओली, गोपाल किराँती, हितराज पाण्डे, देवेन्द्र पौडेल, सुरेन्द्र -राम) कार्की, नन्दकिशोर पुन, लोकेन्द्र बिष्ट, लेखराज भट्ट, विश्वनाथ साह, विश्वभक्त दुलाल, डिलाराम आचार्य, नवराज सुवेदी, रामचन्द्र झा, उर्मिला अर्याल, शशि श्रेष्ठ, खिमलाल देवकोटा, गिरिधारीलाल न्यौपाने, प्रमु साह, अमर तमु, वामदेव छेत्री, नारायण दाहाल, धु्रव पराजुली, गंगा कार्की, सन्तु दराई, गणेशमान पुन, जोखबहादुर महरा, पुष्पविक्रम मल्ल, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, खगराज भट्ट, महेश्वर गहतराज, टेकबहादुर बस्नेत, कमला रोका, तेजबहादुर ओली, ओनसरी घर्ती, झक्कु सुवेदी, डोरप्रसाद उपाध्याय, हरि अधिकारी, कृष्णप्रसाद सापकोटा, गंगा श्रेष्ठ, टंक आङबुहाङ वा मुकेश, हिमाल किराँती, कुमार पौडेल, भीम कडायत, केशव नेपाल, प्रह्लाद बुढाथोकी, डीआर पौडेल, जीवन गौतम, हकिकुल्लाह खा, अन्जना विशंखे, ईश्वरी भट्टराई, प्रकाश पोख्रेल, दीप योन्जन वा धावा लामा, राजु खड्का, दिनेश पन्थी, रामकुमार शर्मा, धर्मदत्त देवकोटा, रेखा शर्मा, कृष्णध्वज खड्का, महेन्द्र शाही, झलक दर्लामी, हेमराज भण्डारी, शालिकराम जमकट्टेल, महेन्द्र पासवान, अजय शंकर, रामरिझन यादव, भरत साह, अशोक जैसवाल, विमल सुवेदी, सत्य पहाडी, कल्पना धमला, सीता पोख्रल, पूणर्ा सुवेदी, देवी खड्का, रामकुमारी चौधरी, विष्णु चौधरी, वीरमान चौधरी, बलावती शर्मा, दयाराम न्यौपाने, घनश्याम पौडेल वा लीलाबहादुर थापा छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar