Headlines News :
fb
Home » » बन्द चिनी–मिलमा रामदेवको चासो

बन्द चिनी–मिलमा रामदेवको चासो

काठमाडौं-भारतीय योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले एक दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना चलाउन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको छ। करिब दस वर्षअघि खारेजीमा लैजाने निर्णय भएको उक्त चिनी कारखाना (मिल) सार्वजनिक–निजी साझेदारी अवधारणामा चलाउन योगपीठको नेपाल इकाइ पतञ्जली योगपीठ ट्रस्टले एक महिनाअघि प्रस्ताव ल्याएको उद्योगमन्त्री कर्णबहादुर थापाले जानकारी दिएका हुन्।
‘योगगुरु रामदेवको संस्थाले चिनी कारखाना चलाउन औपचारिक प्रस्ताव गरेको छ। हामीले उहाँहरूको प्रस्ताव सकारात्मक रूपमा लिएका छौं,' उद्योगमन्त्री थापाले मंगलबार  भने, ‘उहाँहरूको प्रवेशले चिनी कारखानालाई मात्र होइन, मुलुकलाई नै धेरै फाइदा हुनेछ।'

करिब एक वर्षअघि संस्थान निर्देशन बोर्डले बन्द चिनी मिल चलाउन सकिने अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। चिनी कारखाना सञ्चालन प्रस्ताव विश्वासिलो र नेपालका लागि आकर्षक रहेको मन्त्री थापाले दाबी गरे।

‘कारखाना सञ्चालन गर्न प्रस्ताव गर्ने संस्थाप्रति धेरैको विश्वास छ। त्यसैले सकारात्मक रूपमा लिएर प्रस्ताव अघि बढाएका हौं,' उनले भने, ‘यसलाई जतिसक्दो चाँडो टुंग्याउनेतर्फ अघि बढ्नेछौं।'
प्रस्तावमा एक वर्षअघि नै किसानलाई उखुको अग्रीम भुक्तानी दिइने उल्लेख छ।
अहिले किसानले उखु बिक्री गरेको महिनौंसम्म भुक्तानी नपाउने समस्या छ। कारखानामा रहेका १ सय ९४ कर्मचारीलाई तलबभत्ता दिएर बिदाइ गर्ने दायित्वसमेत संस्थाले बेहोर्ने प्रस्तावमा उल्लेख छ।

मन्त्री थापाका अनुसार किसानलाई आवश्यक बिउबिजन पनि कम्पनीले नै बेहोर्नेछ।
‘उखु किसानलाई आवश्यक बिउबिजन र ट्र्याक्टरसमेत किनिदिने प्रस्तावमा भनिएको छ,' पतञ्जलीको प्रस्ताव उल्लेख गर्दै मन्त्री थापाले भने, ‘संस्थासँग विश्वास र पुँजीको समस्या देखिँदैन।' उनका अनुसार कारखाना सञ्चालनबाट आएको पैसा विदेश (भारत) नलैजाने, नेपालमै सामाजिक सेवामा लगाउने प्रतिबद्वता प्रस्तावमा छ।

‘यो उद्योग सञ्चालनमा आउँदा रोजगारी सिर्जना मात्र होइन, उखु किसानलाई समेत फाइदा हुन्छ। हामीले चिनीका लागि विदेशको भर पर्नुपर्ने बाध्यता अन्त्य हुन्छ,' मन्त्री थापाले भने, ‘उखुमा जति फाइदा किसानलाई अरू बालीमा छैन, यसले मुलुकको अर्थतन्त्रमा टेवा दिनेछ।'

पतञ्जली योगपीठ ट्रस्ट नेपालले विभिन्न स्थानमा योगशिविर सञ्चालनबाहेक भारतमा उत्पादन हुने आयुर्वेदिक सामग्री बिक्रीवितरण गर्दै आएको छ। नेपालमा बिक्रीवितरण हुँदै आएका यी सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो क्रममा छ।
रामदेवसँग अहिले विभिन्न कम्पनी र ट्रस्ट गरेर तीन दर्जनभन्दा बढी संस्था छन्। रामदेवका सहयोगी आचार्य बालकृष्ण नेपालमै जन्मिएकाले उनी नेपालमा लगानी गर्न उत्साहित छन्। स्याङ्जामा जन्मिएका बालकृष्ण रामदेव ट्रस्ट दिव्य योगमन्दिरका प्रमुख हुन्। बालकृष्ण पाँच कम्पनीमा प्रबन्धनिर्देशक र २७ कम्पनीमा निर्देशक छन्।

यी कम्पनीले आयुर्वेदिक, उपभोग्य वस्तु, बिस्कुटदेखि सौन्दर्य प्रशाधनसम्म उत्पादन गर्छन्। पतञ्जली आयुर्वेद लिमिटेडको चुक्ता पुँजी ४१ करोड भारतीय रुपैयाँ छ। कम्पनीले २ सय २५ प्रकारका औषधी उत्पादन गर्छ। यो ट्रस्टले सन् २००९/२०१० मा ११ अर्बको कारोबार गरेको थियो।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar