Headlines News :
fb
Home » » सडक विस्तारले स्पिड बढ्यो

सडक विस्तारले स्पिड बढ्यो

काठमाडौं-मिनिबस चालक सरोज कोइराला केही महिना अगाडिसम्म लैनचौर–महाराजगन्ज सडकमा सवारी कुदाउँदा मुस्किलले ३० किलोमिटर प्रतिघन्टाको रफ्तार (स्पिड)मा सवारी कुदाउँथे।
अझ कार्यालय समयमा त उक्त सडक खण्डमा उनको सवारीको स्पिड बढीमा १० किलोमिटर प्रतिघन्टा हुन्थ्यो। करिब तीन किलोमिटर उक्त सडक छिचोल्न घन्टौं जाममा पर्नुपर्थ्यो।
तर, अहिले उनको सवारीको स्पिड बढेर ५०–६० किलोमिटर प्रतिघन्टामा पुगेको छ। कार्यालय समयमा समेत उनको बसको स्पिड ४० किलोमिटर रफ्तारमा हुँइकिरहेको हुन्छ। पहिला सडक पार गर्न घन्टौं जाममा फस्ने उनी अहिले १५ मिनेट अन्तरालमै उक्त खण्ड पार गरिसक्छन्।
कमलपोखरी–ज्ञानेश्वर खण्डदेखि जोरपाटीसम्म माइक्रो चलाउँदै आएका दिनेश थापाको माइक्रोको रफ्तार पनि बढेको छ। विगतमा घन्टौं लामो पट्यारलाग्दो जाममा फस्दै आएका उनी अहिले उक्त खण्डमा कहीँ कतै जाममा फस्दैनन्। उनको पनि माइक्रोको रफ्तार विगतको तुलनामा तीन गुणा बढेको छ।
राजधानीका दुई छुट्टाछुट्टै सडक खण्डमा सवारी कुदाउने कोइराला र थापाको सवारीको स्पिड बढ्नुको कारण भने एउटै छ, दुवैले सवारी कुदाउने सडक विस्तार भएर निकै फराकिलो हुनु। लैनचौर–महाराजगन्ज र लैनचौर–महाराजगन्ज खण्ड मात्र होइन सडक विस्तारस“गै उपत्यकाका विभिन्न स्थानमा अहिले सवारीको रफ्तार बढेको छ भने घन्टौंसम्मको जाम घट्दै गएको छ।
दिक्दारलाग्दो जामबाट सवारी चालकले मात्र होइन यात्रुले पनि मुक्ति पाएका छन्। सवारी चालकले फराकिला सडकका कारण सवारीको स्पिड बढेसँगै तेल क लागेको बताएका छन्। ‘पहिला त जाममा परेर हैरान हुन्थ्यो। अनि तेलजति जाममा परेर सकिन्थ्यो,' कोइरालाले भने, ‘अहिले त जाम पनि छैन, स्पिड पनि बढ्यो अनि तेलसमेत खपत हुन थाल्यो।'
फराकिलो सडकका कारण सार्वजनिक सवारी चालकले यात्रु बोक्ने टि्रपसमेत बढाउन भ्याएका छन्। ‘पहिला मुस्किलले दिनमा चारपाँच टि्रप हुन्थ्यो,' थापाले भने, ‘अहिले त सातआठ पटक पनि भ्याइन्छ।' उनका अनुसार सवारीलाई मात्र होइन यात्रुलाई पनि धेरै राहत भएको छ। समयमै यात्रु गन्तव्यमा पुग्न सक्ने अवस्था आएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पनि उपत्यकामा अहिले धेरै स्थानमा सवारीको स्पिड बढेको छ। उपत्यकाका दर्जनभन्दा बढी विस्तारित सडक खण्डमा ८० प्रतिशत जाम हटेको र ती स्थानमा सवारीको रफ्तार तीन गुणासम्म बढेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विगतमा १५–२० किलोमिटर प्रतिघन्टा रफ्तारमा कुद्ने सवारी विस्तारपछि ६० किमी प्रतिघन्टासम्म कुद्न थालेका छन्।
महाशाखाका अनुसार विस्तारित सडक खण्ड कमलपोखरी–ज्ञानेश्वर–रातोपुल, माइतीघर–नयाँ बानेश्वर–तीनकुने, पुरानो बानेश्वर–नयाँ बानेश्वर, चारखाल–नक्साल, नक्साल–बालुवाटार– महाराजगन्ज, कालिमाटी–बल्खु–त्रिवि गेट, चाबहिल, जावलाखेल, एकान्तकुना, भाटभटेनी, विशालनगर, गैह्रीधारा लगायत क्षेत्रमा सवारी जाम हटेको र रफ्तार बढेको छ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार सडक विस्तारले एक घन्टासम्म गुड्ने पालो कुर्नुपर्ने चोकमा अहिले बढीमा पा“च मिनेट मात्रै कुरे पुग्ने अवस्था आएको छ। उनका अनुसार बिहानबेलुकाको पिकआवरमा पनि धेरै स्थानमा सामान्य पालो पर्खनु मात्र पर्ने हुन्छ। ‘अहिले त धेरै हलुंगो भएको छ,' उनले भने, ‘पहिला सवारी मुस्किलले गुड्नुपर्ने स्थानमा पनि अहिले सहज रुपमा गुडिरहेका हुन्छन्।'
महाशाखाले जाम हटेका क्षेत्रमा सवारीको रफ्तार धेरै बढेको पाएपछि सवारीलाई लेन अनुशासनमा कडाइ गर्दै लगेको छ। विस्तारित सडकका कतिपय स्थानमा लेन छुट्याउन बाँकी रहेको, मार्किङ गर्न बाँकी रहेकाले दुर्घटना बढ्न सक्ने भन्दै लेन अनुशासनलाई कडा बनाइएको अधिकारीले जानकारी दिए।
उपत्यकामा नै सर्वाधिक सवारीसाधन ओहोरदोहोर हुने नया“ बानेश्वर, थापाथली, सिंहदरबार, माइतीघर, गौशाला, चाबहिल, बालाजु, कालीमाटी, बल्खुलगायत क्षेत्रमा पनि सडक विस्तारका कारण सवारी व्यवस्थापनमा धेरै सहजता आएको महाशाखाले जनाएको छ। ‘एकाध स्थानमा अझै विस्तारको काम बाँकी रहेकाले अझै केही समस्या देखिएकै छ,' अधिकारीले भने, ‘तर निर्माण सम्पन्न भएपछि भने उपत्यकाका धेरै सडक जाममुक्त हुनेछन्।' उनका अनुसार माइतीघर–तीनकुने खण्डमा सडक विस्तारले धेरै सहजता प्रदान गरे पनि धोबीखोला र बागमतीमा पुल नहुँदा समस्या छ।
ठूला गाडी आएनन्
काठमाडौं-सरकारले उपत्यकाको सडकमा सार्वजनिक सवारी साधनको अस्तव्यस्तता र मनपरी नियन्त्रण गर्न २५ सिटभन्दा साना सवारीको नयाँ यातायात सञ्चालन अनुमित (रुट परमिट इजाजत) रोक्का गरेको दुई महिना भइसके पनि अहिलेसम्म ठूला सवारीले इजाजत लिएका छैनन्।
दैनिकजसो साना सवारी नै राख्न पाउनुपर्ने भन्दै यातायात व्यवसायीले मौखिक दबाब दिइरहेका छन्। बागमती अञ्चल यातायात व्यवस्था कार्यालय प्रमुख जीवन दुलालका अनुसार साना सवारीलाई विभिन्न रुटमा नयाँ परमिट दिन छाडेको दुई महिना भयो तर अहिलेसम्म कसैले ठूला सवारी ल्याउन चाहेका छैनन्। उनले भने, ‘तर उनीहरुले ल्याउन दबाब दिइरहेका छन्। जुन कुरा सरकारले बन्द गरिसकेको छ।'
यातायात व्यवस्था विभागले उपत्यकामा साना सवारीको मनपरीका कारण दुर्घटनाको दर बढ्नका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै वैशाख १ देखि नयाँ रुट परमिट दिन बन्द गरेको थियो। उपत्यकाका २४ वटा सडक खण्डको रुट परमिट दर्ता रोक्का छ। तर २५ सिटभन्दा माथिका बसको दर्ता भने रोकिएको छैन।
कतिपयले निवेदन नै दिनेगरेको पनि उनले जनाए। ‘पुराना साना गाडीको सट्टा नयाँ राख्न आएका छन्, तर यसको दिने नदिने टुंगो लागिसकेको छैन,' उनले थपे। कार्यालयका शाखा अधिकृत मातृका लम्सालका अनुसार सरकारले रोकेपछि २० वटा बस ३२ सिटका दर्ता भएका छन्। तर तिनीहरु बाहिरी रुटका लागि दर्ता भएको उनले जनाए।
‘सरकारले ठूलालाई मात्र बाटो खोल्दिएको रुटमा नयाँ ठूला बसले इजाजत पाएका छैनन्,' लम्सालले भने।
नयाँ दर्ता रोकिएका प्राथमिक सडकमा ८ वटा रुट छन् भने सेकेन्डरीमा १६ वटा रुट छन्। प्राथमिक रुटमा चक्रपथ परिक्रमा दुवैतर्फबाट, नारायणगोपाल चोक–लैनचौर–त्रिपुरेश्वर– लगनखेल–सातदोबाटो, नारायणगोपाल चोक–लैनचौर–सिंहदरबार–कोटेश्वर–सूर्यविनायक, जोरपाटी–गौशाला–कलंकी–नैकाप, जोरपाटी–गौशाला–कमलपोखरी–थापाथली–एकान्कुना, कोटेश्वर–गौशाला–कमलपोखरी–लैनचौर–सोह्रखुट्टे–नयाँ बसपार्क र कोटेश्वर–नयाँ बानेश्वर–थापाथली–कलंकी छन्।
यस्तै, सेकेन्डरी रुटमा बुढानिलकण्ठ–नारायणगोपाल चोक, नारायणगोपाल चोक–बालुवाटार–पुतलीसडक–अनामनगर–कोटेश्वर, कीर्तिपुर–कालिमाटी–भाटभटेनी–चप्पल कारखाना, कीर्तिपुर–कालिमाटी–सोह्रखुट्टे–नक्साल–जोरपाटी, नयाँ बसपार्क–ठमेल–बागबजार–पुतलीसडक–डिल्लीबजार–सिनामंगल–एयरपोर्ट, गोकर्ण–गौशाला–नयाँ बानेश्वर–तीनकुने, कोटेश्वर–मूलपानी–जोरपाटी, नगरकोट–कोटेश्वर, साँगा–कोटेश्वर, सिस्नेरी–सातदोबाटो, गोदावरी–सातदोबाटो, चापागाँउ–सातदोबाटो, बुङमती–एकान्तकुना, फर्पिङ–पुरानो बसपार्क, थानकोट–कलंकी र सितापाइला चोक–रत्नपार्क छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar