काठमाडौं, १ जेठ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले पार्टीको नवौं महाधिवेशनबाट नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाइएमा नेतृत्व हस्तान्तरण हुने बताउनुभएको छ । एमाले निकट अनेरास्ववियुले केन्द्रीय पुस्तकालय स्थापनाका लागि बिहीबार सुरु गरेको पुस्तक संकलन कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अहिले केपी ओलीमा नेतृत्व आउनु भनेको अबको नेतृत्व सर्लक्कै युवा पुस्तामा जानु हो, पुस्ता हस्तान्तरण भनेको प्राकृतिक र मानवीय कुरा हो, यो कसैले चाहेर हुने होइन, स्वतः हुन्छ, समय भएपछि पुस्ता हस्तान्तरण कसैले रोक्न सक्दैन ।”उपप्रधानमन्त्री गौतमले सो पुस्तकालयका निम्ति आफू पदमा रहे पनि नरहे पनि एउटा ल्यापटप र स्क्यानर मेसिन दिने घोषणा गर्नुभयो ।

