- नौ वर्षमा एक सय ३६ दुर्घटना, एक सय ३२ को मृत्यु, तीन सय ५७ घाइते
सिन्धुली : एक वर्षअघि सिन्धुलीको पुरानो झाँगाझोली-४ मा कहालीलाग्दो सडक दुर्घटना भयो। ४१ जनाको घटनास्थलमै ज्यान गयो, १६ जना पूर्ण अपांग बने। उक्त घटनाको केही महिनामात्रै अघि त्यही खण्डमा अर्को दर्दनाक दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए। ३० भन्दा बढी घाइते भए।
सोमबार मात्र बीपी राजमार्गकै बर्दिबास-सिन्धुलीखण्डअन्तर्गत करकरेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो। ३२ जना घाइते भए। योसँगै यस मार्गमा यातायात सञ्चालन भएयता एक सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५७ जनाको अंगभंग भएको प्रहरीको तथ्यांक छ।
उक्त मार्गअन्तर्गत लामो तथा छोटो दूरीमा गरी नौ वर्षयता सवारीसाधान सञ्चालन हुँदै आएका छन्। यो अवधिमा राजमार्गको बर्दिबास-नेपालथोकखण्डमा सानाठूला गरी एक सय ३६ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक छ। पछिल्लो दुई वर्षयता राजमार्गको खुर्कोटदेखि नेपालथोकसम्मको सडकमा दुर्घटना बढेका छन्। प्रहरी अनुसन्धान अधिकारीका अनुसार ८० प्रतिशत मानवीय र २० प्रतिशत यान्त्रिक कारण यस्ता दुर्घटना हुने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत प्रमोद क्षत्रीका अनुसार जिल्लामा भएका प्राय: दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको पाइन्छ। पहाडी सडककमा घुम्ती, उकालो, ओरालो र सडकको दुरावस्थाका कारण पनि दुर्घटना भइरहेका छन्। ट्राफिक संकेत, प्यारफिटको उचित व्यवस्ता नहुँदा अप्ठ्यारो र साँघुरो सडकमा अत्यधिक गतिमा सवारीसाधन चलाउने र कतिपय अवस्थामा मादकपदार्थ सेवन गर्नु पनि दुर्घटनाको कारक बनेको क्षत्रीले बताए।
यस मार्गमा राजमार्गको खुर्कोट-रातमाटाखण्डको विभिन्न भाग निर्माणाधीन भएको र झन्डै २२ किलोमिटर कच्ची ट्र्याकमा सवारी सञ्चालन हुँदै आएको छ। 'खुर्कोटदेखि नेपालथोकसम्मको सडकखण्डमा हुने दुर्घटना सडकको कारण भए पनि अन्य क्षेत्रमा हुने दुर्घटनामा चालकको समेत लपरबाही हुने गरेको पाइन्छ। प्रहरी निरीक्षक क्षत्रीले भने, 'सडक दुर्घटनाका लागि सरकारले नीतिनियम बनाए पनि चालकले कार्यान्वयन नगर्दा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन्। राजमार्गअन्तर्गत शीतलपाटी-मूलकोट सडकखण्डमा ठूला दुर्घटना भए। त्यस्ता दुर्घटनामा ७० भन्दा बढीको ज्यान गयो।'
पुराना सवारीसाधनमा क्षमताभन्दा बढी लोड हुने भएकाले पनि बढी क्षति हुँदै आएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका हबल्दार रामेश्वर पाण्डेले बताए। जिल्लाको मुख्य विकासको आधार बनेको बीपी राजमार्ग निर्माणकै चरणमा छ। यस मार्गमा निर्माण नसकिँ दै यातायातका साधन सञ्चालन भइरहेका छन्।