काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको 'सम्झौता' मा बनाइएको एक सय ४९ सदस्यीय केन्द्रीय समिति असन्तुलित देखिएको छ। समावेशी र क्षेत्रीय सन्तुलन तथा युवा र प्रौढबीचको सन्तुलन बेवास्ता गर्दै गुटगत भागबन्डामा केन्द्रीय समिति बनाइएको आरोप असन्तुष्ट नेताले लगाएका छन्।
केन्द्रीय समितिमा दाहाल पक्षका एक सय एकजना, भट्टराई पक्षका ३० जना र श्रेष्ठ पक्षका १८ जनाको भागबन्डा छ। समितिमा ललितपुर, भक्तपुर, रसुवा, बारा, पाँचथर, तेह्रथुम, इलाम, उदयपुर, तनहुँ, कञ्चनपुर, मुगु, हुम्ला, बाजुरा, म्याग्दीसहित डेढ दर्जन जिल्लाको प्रतिनिधित्व छैन।
केन्द्रीय समितिमा रोल्पाका १०, रुकुमका आठ, गोरखाका आठ, चितवनका सात, प्युठानका ६ तथा बागलुङ, सिन्धुपाल्चोक र सिन्धुलीका पाँचपाँचजना छन्। सशस्त्र संघर्षमा युवालाई सहभागी गराएर आएको एमाओवादीको केन्द्रीय समितिमा ४० वर्षभन्दा कम उमेरका २१ जनामात्रै छन् भने अवकाश लिने बेला भएका ६० वर्षभन्दा माथिकाको संख्या पनि २१ नै छ।
एमाओवादीमा ४० देखि ६० वर्ष उमेरका नेता एक सय सातजना छन्। केन्द्रीय समितिमा सशस्त्र संघर्ष लडेका एक सय १० जना छन् भने शान्तिप्रक्रियापछि पार्टीमा प्रवेश गरेका ३९ जना छन्। समावेशीको मुद्दा उठाउँदै आए पनि समितिमा बाहुनक्षेत्री ७१ जना, जनजाति ३२ जना, मधेसी १६ जना, महिला २३ जना, दलित तीनजना, अल्पसंख्यक तीनजना र मुस्लिम एकजनाको प्रतिनिधित्व छ।
'कुनै पनि दृष्टिले केन्द्रीय समितिमा सन्तुलन मिलाइएको छैन। नेताका नजिकका मान्छेलाई टीका लगाएर केन्द्रीय समितिमा पुर्याइएको छ', युवा नेता युवराज चौलागाईंले भने, 'गलत विचार प्रवृत्तिले पार्टीलाई अप्ठ्यारो पार्यो भनेर त्यो प्रवृत्तिविरुद्ध लड्न नसक्नु पनि घातक हुन्छ।'
स्थानीय र राष्ट्रिय सम्मेलनले दिएको म्यान्डेटविपरीत नेताहरूले सम्झौता गरेको आरोप पनि उनले लगाए। उनले भने, 'यो केन्द्रीय समिति बूढा घोडाहरूको भद्दा सवारी मात्रै हो। यसले पार्टी बनाउँदैन, बिगार्छ मात्रै।'
राष्ट्रिय सम्मेलनलाई 'मजाक' मा उडाइएको आरोप पनि असन्तुष्ट नेताले लगाएका छन्। 'जिल्लाको नेतृत्व र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि निर्वाचित हुनुपर्ने केन्द्रीय समितिका सदस्य तीन नेताको भागबन्डामा टीको लगाएर मनोनीत गर्दा पनि हुने?' एक नेताले भने, 'जिल्लामा ५१ सदस्यीयभन्दा बढी हुन नहुने, सहसचिव राख्न पनि नपाइने, केन्द्रमा आफूलाई चाहिएजति राख्न मिल्ने? यो सामन्तवादी संस्कृति हो।'
कनिष्टलाई समेटेर वरिष्ठलाई छाडेकोमा आपत्ति जनाउँदै आएका नेता लोकेन्द्र बिष्टले पार्टी पुनर्निर्माण हुने सर्तमा पालैपालो पदमा बस्ने व्यवस्थाका लागि आफू तयार रहेको तर प्रदूषित केन्द्रीय समितिमा बस्न तयार नरहेको बताए। 'दाहाल, बाबुराम, नारायणकाजी, मोहन वैद्य, मातृका यादव, मणि थापा र परी थापा एउटै पार्टीमा रहनुपर्छ भन्ने मान्यता राख्छु', उनले भने, 'पार्टी रूपान्तरणसहित पुनर्निर्माण हुने अवस्थामा मलाई कुनै पद चाहिएको छैन, सेल कमिटीमा बसेर काम गर्न तयार छु। तर प्रदूषित नालीजस्तो पार्टीको पदमा बस्दिनँ।' बिनाकाम बहसमात्रै गर्ने पार्टीमा बस्न आफूलाई एक मिनेट पनि समय नभएको उनले बताए।
नेता भट्टराईलाई समेट्ने नाममा आफू पक्षधर नेताहरूको विरोधका बीच राष्ट्रिय सम्मेलनबाट छानिएका ८४ जनाबाहेक ६५ जनाको सूची मंगलबार दाहालले केन्द्रीय समितिबाट पारित गराएका थिए।
राष्ट्रिय सम्मेलनमा विद्रोह गरेर केन्द्रीय समितिबाट बाहिरिएका भट्टराईसहित उनी पक्षधर नेता अब समितिमा फर्कन तयार भएका छन्। दाहालले भट्टराईका १५ जना थप्ने निर्णय गरेपछि भट्टराई केन्द्रीय समिति बैठकमा फर्कन तयार भएका हुन्। दाहालसँग बुधबार बिहान छलफल गरेपछि भट्टराई बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।
fb