
सोमबार दिउँसो १ बजे बोलाइएको संविधानसभा बैठकमा बैठक सुरु हुनुअघि राष्ट्रिय गान बजाउँदा भरिभराउ बैठक कक्ष साँझ चार बज्दा खाली भइसकेको थियो । कहिले बोल्ने पालो आउला भनेर व्यग्रताका साथ पर्खने र पालो आउनासाथ बोलेर निस्कने सभासद्को प्रवृत्तिप्रति बैठक हेर्न गएका दर्शकदीर्घामा बस्नेहरुले समेत तीतो प्रहार गर्ने गरेको बुधबार साप्ताहिकमा खबर छ । सामेबारको बैठकमा कांग्रेसका सभासद् बस्ने लहरका सुरुका पाँच लाइनमा एक जना पूर्णबहादुर खड्का मात्र बाँकी थिए भने माओवादीको लहरमा शक्ति बस्नेत र भक्ति पाण्डे मात्र थिए । एमाले सभासद्को प्रवृत्ति पनि त्यो भन्दा भिन्न थिएन् । हिजोको बैठकमा अघिल्लो पटक प्राकृतिक स्रोत र आर्थिक अधिकार बाँडफाँडसम्बन्धी प्रतिवेदनमाथि छलफल भएको थियो । बैठकमा झन्डै तीन दर्जन सभासदहरुले आ-आफ्नो धारणा राखेका थिए ।