९ बैशाख, दाङ । दाङको पहाडी स्युजा गाविसका १० घर अग्निपीडितहरु एकहप्तादेखि खुला आकाशमुनि स्याउला ओच्छ्याएर रात काट्न बाध्य छन् ।
आगलागीले घरका सबै सामानहरु जलेपछि राहत नपाउँदा पीडितहरुको रात खुला आकाशमुनि वितेको हो । पीडितहरुले भोकभोकै बस्नुपर्ने बाध्यता छ । स्युजा-५ प्यारधाराका ७ घर, ६ को एक घर र सैघाको २ घरमा एकहप्ताभित्र आगालगी भएको थियो ।
अग्नी पीडितहरु दिनभरी अरुको काम गरेर बेलुकी खुला आकाशमुनि स्याउलामाथि रात काटिरहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रति परिवार ५ हजार, काष्ठ व्यवसायी संघले प्रति परिवार ५ हजार र जिल्ला विकास समितिले एक हजारका रदले राहत उपलब्ध गराएको छ ।
त्यस्तै स्युजा गाविस, रेडक्रस र आईएनएफले करिब एक लाख बराबरको खाद्यान्न उपलब्ध गराएको छ । अग्नि पीडितहरुले घर बनाउन सहयोगको याचना गरेका छन् ।
अन्नको वीउसमेत नभएपछि खेति गर्न पनि नसकेको पीडितहरुको भनाइ छ । कपडाको नाममा एकसरो बाहेक अरु नबचेकाले स्याउलाको ओच्छ्यानमा रात काट्ने गरेको अग्नीपीडित नारायण घर्तीले बताए ।
बढ्दो गर्मी र हुरीकाकारण पहाडी गाविसमा पछिल्ला दिनमा वनसँगै गाउँमा पनि आगलागी भैरहेको छ । सडकको पहुँच र आगो निभाउने संयन्त्रसँगै पानीको अभावमा आगलागीको घटनाले ठूलो रुप लिएको छ ।
fb