जनकपुरधाम: सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न अभियुक्त हरूको पहिचान भइसकेको तथा छिटै सार्वजनिक गरिने जानकारी प्रहरीले दिएको छ। २०६६ फागुन १७ मा फागु पुर्णिमाको दिन जनकपुरको शिवचोकमा सिंघानियालाई गोली हानी हत्या गरिएको थियो।
सिंघानियाको हत्या गर्ने प्रमुख सुटर पक्राउ परिसकेको र उसलाई परिचालन गर्ने व्यक्ति हरुको समेत पहिचान समेत भइसकेकोले यो हत्याकाण्डको रहस्य छिटै सार्वजनिक हुने धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए।
जनकपुर बम काण्डका मुख्य अभियुक्त मुकेश चौधरी पक्राउ परिसकेपछि उनीसँगको बयानका आधारमा अनुसन्धान अगाडी बढाइएको थियो। प्रहरीले सिंघानियालाई गोली हान्ने सुटर धनुषा वीरेन्द्र बजारको एकवाल भनिने योगेन्द्र सहनी तथा अन्सी राइनलाई पक्राउ गरिसकेको र उनीहरूले जनकपुरका केही राजनीतिक दलका नेता तथा व्यापारीहरूको योजना बमोजिम आफूहरूले सिंघानियाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।
सिंघानियाको हत्या गराउनका लागि जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका निलम्वित सभासद् संजय साहका प्रमुख सहयोगी तथा सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादवले सुटर सहनीलाई मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका धनुषा उपाध्यक्ष चन्द्रदीप यादवमार्फत सुपारी दिन लगाएको प्रहरी स्रोतले जानकारी गराएको छ। यता सहनी र राइनको बयान पछि प्रहरीले रामविनोद तथा चन्द्रदिपलाई मोस्ट वाण्टेडको सूचीमा राखी खोजतलास गरिरहेको छ।
रामविनोद र चन्द्रदिपसंगै जनकपुरका व्यापारी श्याम दोकानियालाई समेत शंकाको घेरामा राखिएको छ। यता सिंघानियाको हत्यामा संलग्न रहेको सुटरहरू पक्राउ परेपछि तथा सुपारी दिने व्यक्ति हरूको पहिचान भएको खबर बाहिर आउन साथ जनकपुर क्षेत्रका करिब सय जना राजनीतिक दलका नेता कार्यकर्ता तथा अपराधीक प्रवृत्तिका व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ। सिंघानिया स्थानीय जनकपुर टुडे दैनिक पत्रिका तथा रेडियो टुडे एफ.एम समुहका अध्यक्ष रहेका थिए भने उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका थिए। उनको हत्या आर्थिक तथा व्यापारीक कारणले गराइएको हुनसक्ने अनुमान गरिएको छ।
सिंघानियाको हत्यामा संलग्न व्यक्तिहरु सम्वद्ध पार्टीका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई शंकाको घेरामा राखी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। सिंघानियाको हत्याका मुख्य योजनाकारलाई बाहिर ल्याउन प्रहरीले हाल विभिन्न पक्षमा अनुसन्धान गरिराखेको रहेको र त्यससँग सम्बन्धित र व्यक्ति हरूलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई विशेष सोधपुछ गर्ने गरिएको छ।
fb