पाल्पा- बुढो सिमलमा गिद्ध झुम्मिन थालेपछि ‘अशुभ’ ठानेर गाउँलेले रुखै ढाल्ने योजना बनाए। सिमल नजिकै थियो– रेडियो मदनपोखरा। गाउँकै रेडियोले एकदिन ‘गिद्ध प्रकृतिको कुचीकार’ भन्दै यसलाइ बचाउनु पर्ने समाचार फुक्यो। गाउँले हच्किए, सिमल बच्यो।
त्यही बुढो सिमल अहिले मदनपोखराको गहना बनेको छ। हिजोआज बुढो सिमलमा झुम्मिएका गिद्ध हेर्न आउने पर्यटक देखेर गाउँले दंग छन्। बुढो सिमलको नाम फेरिर ‘गिद्धे सिमल’ भएको छ।
गिद्धको नाम सुन्दै छिः भन्नेहरु अहिले संरक्षणमा जुटेका छन्। गिद्धलाई फोहोरी र अशुभ मान्नेहरु ‘प्रकृतिको कुचीकार’ भन्दै सम्मान दर्शाउँछन्। केही वर्षअघिसम्म पाल्पाको आकाशमा फाट्टफुट्ट देखिने गिद्ध अहिले सयौंको संख्यामा देखिन्छन्। स्थानीयलाई आकाशमा प्रसस्तै गिद्ध देखिनु सामान्य लाग्न थालेको छ। तर यहाँ आउने पर्यटकहरु आकाश हेर्दै भन्छन्– ‘आम्मै कति धेरै गिद्ध हुन्।’ स्कुले केटाकेटी आकाशमा हेर्दै गिद्धको गन्ती लाउँछन्– ‘पचास, एकाउन्न, बाउन्न...।’ उनीहरुको गन्ती कहिलेकाँही सयसम्मै पुग्छ।
अचेल गिद्धको संख्या बढाउन बुढो सिमलको योगदानको प्रसस्तै चर्चा हुन थालेको छ। मदनपोखराको अँधेरी छरछरे वनको बीचमा हाँगा फिँजाएर ठडिएको छ– बूढो सिमल। त्यसमा एकै पटक सयभन्दा बढी गिद्धहरुको झुण्ड हेर्ने मौका निकै रोमाञ्चक लाग्छ। बिहान गिद्धहरुको खुबै मेलमिलापको वातावरण देख्नो पाइन्छ। सबै गिद्ध बिहानीको ध्यान शिविरमा मग्न छन् जस्तो भान हुन्छ। जब दिन चढ्दै जान्छ गिद्धहरुको सल्बलाहट पनि बढ्दै जा । ‘विहान शान्त बस्छन् दिनभरी आहाराका लागि लड्छन्,’ घर नजिकै जंगल बीचको सिमल देखाउँदै प्रेमनाथ बश्यालले भने– ‘साँझमा त कोलाहल मच्चाउँछन् मोराहरु’ उनी थप्छन्– ‘रात काट्ने गतिलो ठाउँ खोस्न छिनाझप्टी गरेको हेर्दा यति ठूलो रुख पनि सानो भएझैं लाग्छ।’
‘गिद्धे सिमल’ र ‘गिद्ध रेष्टुरेण्ट’ अहिले मदनपोखराको थप परिचय बनेको छ। गिद्धको सहज अवलोकनका लागि २०६८ सालमा गिद्ध अवलोकन केन्द्र बनाइएको थियो। अवलोकन केन्द्रमा भ्रमण गर्न आउने बढेका छन्। स्थानीय शिक्षक रुद्र बस्याल भन्छन्– ‘गिद्ध हेर्नकै लागि आउनेहरुबाट रेष्टुरेण्ट सञ्चालनका लागि आर्थिक सहायता समेत जुटेको छ।’
जिल्ला वन कार्यालयसँगै यहाँको अँधेरी छर्छरे सामुदायिक वन गिद्ध संरक्षणमा सक्रिय छन्। छर्छरे वन उपभोक्ता समितिका १ सय ८२ घर, जिल्ला वन कार्यालय र राष्ट्रिय पंक्षी संरक्षण केन्द्रको संयुक्त प्रयासमा गिद्ध संरक्षण अभियानलाई यहाँ निकै जोड दिइएको छ। ‘जनतामा चेतना बढेपछि गिद्ध पनि बढेका छन्,’ जिल्ला वन अधिकृत प्रकाश लम्साल भन्छन् ‘प्रकृतिको सरसफाइमा गिद्धको महत्वलाई उनीहरुले बुझेका छन्।’ गिद्धको संरक्षणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको लम्सालले बताए। जिल्ला वन कार्यालयले पछिल्लो समय वनजंगलसँगै जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेको लम्सालले जानकारी दिए। ‘केही वर्षअघिसम्म हामीले रुखबिरुवा संरक्षणलाई मात्रै महत्व दिन्थ्यौं,’ उनले भने, ‘अहिले भने जंगली जीवजन्तुको संरक्षण र सुरक्षित वासस्थानलाई पनि प्राथमिकता दिन थालेका छौं।’
मदनपोखराको छर्छरे सामुदायिक वनले चलाएको गिद्ध रेष्टुरेन्ट क्षेत्रमा डेढ सयको संख्यामा गिद्ध भेला हुन्छन्। वनका अध्यक्ष बुद्धिराज बस्याल भन्छन्, ‘पाँच वर्ष पहिले रेष्टुरेण्ट सुरु गर्दा ६० वटा जति गिद्ध थिए, अहिले तीन गुणा बढ्यो।’ सुरुमा ‘गिद्ध रेष्टुरेण्ट’ भन्दा धेरैले गिद्धको मासु पाइने रेष्टुरेण्टका रुपमा बुझेका अध्यक्ष बस्यालले अनुभव सुनाए। ‘हाम्रो अभियानलाई कतिपयले उल्टो रुपमा बुझेछन्,’ उनले भने ‘एकछिन हाँसोको विषय पनि बन्यो।’
जंगलको बीचमा रहेको निकै वर्ष पुरानो सिमलको बूढो रुखमा प्रायः बिहान र साँझको समयमा गिद्धको झुण्ड देख्न सकिन्छ। दिनभर भने धेरैजसो आहारको खोजीमा बाहिर निस्कन्छन्। गिद्धको पालेपहराका लागि एकजना हेरालु पनि राखिएको छ। कसैले गिद्धलाई जिस्काउन पाउँदैन। हेरालुले बेलाबखत गिद्धको गन्ती लिने, गुँडको रेखदेख गर्ने र बच्चा उडाउने बेलामा विशेष ख्याल पुर्याखउने काम गर्छ।
‘गिद्धले सिनो नखाइदिए वातावरण प्रदूषित हुन्छ भन्ने बुझेपछि यसको संरक्षणमा जुटेका हौं।’ स्थानीय केशव बश्याल भन्छन्, ‘गिद्ध नहुँदा सिनो त्यसै सड्ने र त्यसले विभिन्न रोगब्याधी निम्त्याउने खतरा हुन्छ।’ गिद्धलाई अशुभ मान्ने पुरानो संस्कार हटेको र अहिले प्रकृतिको सरसफाइकर्मी भन्ने आफूहरुले बुझेको उनले बताए।
गिद्ध बचाउ अभियानमा जुटेका मदनपोखराका स्थानीय खडानन्द बञ्जाडेले मरेका वस्तुभाउलाई आहारकेन्द्र अर्थात गिद्ध रेष्टुरेन्टसम्म ल्याउने व्यवस्था मिलाइएको बताए। ‘वस्तुभाउ मर्ने घरले सिनो दिएबापत पैसा पाउँछ,’ उनले भने, ‘सिनो लिन घरमै ट्याक्टर पठाउँछौं।’ गाउँमा मरेका गाई वस्तुलाई गाड्न नपाउने नियम बसेको उनले बताए। मरेका गाईवस्तु २ सय रुपैयाँमा आहार केन्द्रमा बिक्री हुने गरेको उनले सुनाए। ‘देशभरमै डाइक्लोफेनेक औषधीको प्रयोग बन्द हुनु पनि गिद्धको संख्या बढ्नुको कारण हो।’ बराल भन्छन्, ‘पशु विरामी हुँदा प्रयोगमा आउने यो औषधी सेवन गरेको पशुको सिनो खादा गिद्ध मर्छन्।’
पाँच वर्ष पहिले गिद्ध रेष्टुरेण्ट सुरु भएपछि तत्कालीन वन अधिकृत रामबाबु पौड्यालको पहलमा मदनपोखराका ३५ जनाले नवलपरासीमा रहेको गिद्ध संरक्षण केन्द्रमा भ्रमण गरेका थिए। वन कार्यालयले गिद्ध संरक्षण अभियानबारे जानकारी दिन ठाउँठाउँमा होर्डिड्ड बोर्डसमेत राखेको छ। ‘विभिन्न ठाउँमा होर्डिड्ड बोर्ड राखेर गिद्ध संरक्षण सँगै गिद्ध रेष्टुरेण्टको प्रचार गरिएको छ।’ उनले पर्यटक भित्र्याउन र गिद्धबारे अध्ययन अनुसन्धान गर्नेहरुको ध्यान आकर्षण बढेको बताए।
देशका विभिन्न जिल्लामा गिद्धको फोटो पर्दशनी गर्दै चेतना बाँड्ने अभियानमा जुटेका पोखराका फोटो पत्रकार कृष्णमणी बरालका अनुसार पाल्पामा हिमाली र डंगोर प्रजातिका गिद्धको संख्या अधिक छ। ‘गिद्धको फोटो खिच्नकै लागि धेरैपटक पाल्पा आएँ,’ बराल भन्छन्, ‘पाल्पामा जस्तो बाक्लो संख्यामा गिद्ध अन्यत्र देखिनँ।’ उनका अनुसार नेपालमा पाइने हाडफोर, हिमाली, सुन, डंगोर, खैरो, सानो खैरो, लामो ठूँडे, राज र सेतो गिद्ध मध्ये ६ प्रजातिका गिद्धहरु पाल्पामा देखिएको छ। विश्वमै लोप हुने अवस्थामा पुगेका गिद्धको पाल्पामा गुँड र बच्चा समेत भेटिएको उनले सुनाए।

