Headlines News :
fb
Home » » बेलबारी हत्याकाण्डका पीडित भन्छन्-राज्यले हामीलाई भुल्यो -

बेलबारी हत्याकाण्डका पीडित भन्छन्-राज्यले हामीलाई भुल्यो -

 १४ बैशाख, बेलबारी (मोरङ) । आठ वर्षअगाडि मोरङको बेलबारीमा नेपाली सेनाबाट गराइएको गोलीकाण्डका पीडितको आँखामा अहिले पनि त्यो घटना झलझली आइरहन्छ । विनाकारण आफन्त गुमाउँदाको पीडा भुल्न नसकेका उनीहरुलाई राज्यले भने भुलिसकेको छ ।

गोलीकाण्डका पीडितहरुले अहिलेसम्म न्याय र राहत नपाउँदा थप पीडित बन्नुपरेको गुनासो गरिरहेका छन् । घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनीहरु अहिले विक्षिप्त अवस्थामा छन् । दोषीमाथि कानुनी कारबाही हुने आशमा बसेका पीडितहरु मुद्धा ओझेलमा पर्दै गएपछि क्रमशः निराश बनिरहेका छन् । अनाहकमा आफ्ना सदस्य गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका उनीहरुको दोषीलाई कारवाही नहुँदा मन कुँडिएको छ ।
०६३ बैशाख १२ गते राति सपना गुरुङलाई सेनाले बलात्कारपछि गरेको हत्याको विरोधमा उत्रेका स्थानीयमाथि सेनाले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको थियो । घटनामा बेलबारीका प्रशान्त तामाङ, इन्द्रपुरका फूर्बा शेर्पा, खिने दर्जी, प्रभुनाथ भट्टराई, मृगौलियाका टेकनाथ चौधरी र बेलबारीकी सुनिता ऋषिदेवको गोली लागेर मृत्यु भएको थियो ।
पीडितहरूको पीडा झन बढ्दै

घटनामा १३ जना अंगभंग र गम्भीर घाइते भएका थिए भने अन्य ३६ जना बढी सामान्य घाइते भएका थिए । घटनाका पीडित फिरोज खान वैशाखीका सहारामा जीवन बिताइरहेका छन् । यसअघि सामान्य चुरी बेचेर जीवन बिताइरहेका खान अपाङ्ग भएपछि उनको गरी खाने मेलो पनि बन्द हुने अवस्था छ । घरका एक्लो सदस्य खान उपचार र जीवनयापन गर्ने दोहोरो चिन्ताले सताएको छ ।

‘सेनाले जथाभावी गोली बर्साएपछि ज्यान जोगाउन भाग्ने क्रममा गोली लागेको हो’, खानले भने, ‘गोली चलेपछि भाग्दैगर्दा चप्पल टिप्ने क्रममा गोली लाग्यो, अहिले पनि उपचार गरिरहेको छु ।’
 त्यसैगरी सोही घटनामा गम्भीर घाईते मोरङको बेलबारी-४लालभित्तीका गणेशप्रसाद दाहाल ६० पुगे । उनको पनि कम्मरदेखि मुनिको भागमा गोलीले लागेको थियो । वैशाखी टेकेर हिड्ने दाहाललाई उठ्न बस्न सहज छैन । ‘दिसा बस्नुपरे गाह्रो हुन्छ, सेनाले गोली हानेर काम गरिखान नसक्ने बनायो, अपांग परिचयपत्र बनाईदिए पनि हुन्थ्यो’ उनले भने, ‘जीवन चलाउन गाहृो भईरहेको छ ।’

 सोही घटनाका अर्का घाईते दीपक दाहलको अवस्था उस्तै छ । अर्का घाईते बेलबारी-४ लालभित्तीका गोपालचन्द्र गौतम घटनाबाट विक्षीप्त बनेपछि केहीवर्षअघि आत्महत्या गरेका थिए । अर्का पीडित रणवहादुर श्रेष्ठले भने, ‘राज्यबाट पनि पीडित बनिरहेको अवस्थामा, परिवारबाट पनि पीडित हुन लागिरहेका छौं ।’
गोली लागेर घुँडाको पाँग्रा गुमाएका बेलबारीका टंकवहादुर गुरुङ राम्रो हिडडुल गर्न सक्दैनन् । उनी अहिले पनि उपचार गरिरहेका छन् । त्यसैगरी सो घटनामा कोखामा गोली लागेर पनि बाँचेका बद्रीनाथ आचार्य गह्रौं सामान उचाल्न नहुने बताउँछन् ।


घटनाका गम्भीर घाईतेको सूचीमा दोर्ण श्रेष्ठ, सन्तवहादुर मगर, प्रकाश कोइराला, सन्तोष श्रेष्ठ,पुष्पराज भट्टराई, किर्तन राई, बलराम रिजाल, किशनदेव शर्मा, हेमसागर ढकाल पर्छन् । घटनापछि सांसद परी थापाको संयोजकत्वमा गठित संसदीय छानविन समितिले तोकेबमोजिमको राहत सरकारले दिएको छैन ।
समितिले गम्भीर घाईतेहरुका लागि ६ लाख रुपैयाँ उपलब्ध गराउ सिफारिस गरेपनि सरकारले डेढलाख मात्र उपलब्ध गराएको बेलबारी हत्याकाण्ड संघर्ष समितिका अध्यक्ष हेमसागर ढकालले बताए ।
बलात्कारपछि मारिएकी सपना गुरुङको परिवारको अवस्था पनि उस्तै छ । उनका दुई छोरा र एक छोरी हजुरआमाको आश्रयमा छन् । मृतक परिवारलाई त्यतिखेर तत्काल दशलाख दिन समितिले सिफारिस गरेको थियो । अहिलेसम्म तीन लाख रुपैयाँमात्र उपलब्ध गराएको छ । घटनामा आफन्त गुमाएका मृतकका परिवारहरु क्षतिपूर्तिसहित न्याय नपाउँदा पीडाको सागरमा डुबेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar