आइतबार अपरान्ह ४ बजे बार एशोसिएसनको कार्यालयमा सिफारिसमा परेको न्यायाधीशको उछितो काढ्ने गरी हुने छलफलमा मिडियालाई सहभागी नगराइने बारका पदाधिकारीले बताएका छन् । मिडियालाई छलफलमा सहभागी गराउँदा बरिष्ठ अधिवक्ताहरुले खुलेर कुराकानी नगर्ने भएकाले मिडियालाई प्रवेश नगराइने बताइएको छ ।
न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसको विरोधमा आयोजना गरिएको सो भेलामा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष र पूर्वमहासचिवहरु संलग्न हुने छन् । त्यसैगरी देशभरिका करिब ७० बरिष्ठ अधिवक्तामध्ये राजधानीमा ३० को हाराहारी संख्यामा रहेका बरिष्ठ अधिवक्तालाई पनि भेलामा बोलाइएको छ । न्यायपरिषदको निर्णयविरुद्ध बारले यसरी बैठक बोलाएको न्यायक्षेत्रमा यो पहिलो घटना हो ।न्यायपरिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशका लागि वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा, देवेन्द्र गोपाल श्रेष्ठ र जगदीश शर्मलाई सिफारिस गरेपछि नेपाल बारले यो निर्णयको चर्को विरोध गर्दै आएको छ । वकिलबाट पनि न्यायाधीश नियुक्त नगरिएकोमा वार असन्तुष्ट बनेको हो । साथै सिफारिसमा परेकामध्ये ६ जना न्यायाधीशहरु असल चरित्रका नभएको बारको आरोप छ ।
चोलेन्द्र र दीपकराजलाई भ्रष्टाचार मुद्दामा कारवाहीको सिफारिस भएको, दीपकराजले लागू औषधका अपराधीलाई छाडेकोे, गोपाल पराजुलीले चारपटक बिहे गरेको आरोप छ । गोविन्द माधव नेपालका दाजु हुनुका साथै उनले महिला कर्मचारीमाथि हातपात गरेको अारोप छ
न्यायपरिषदको निर्णयपछि संसदीय सुनुवाइ विशेष समितिले आठैजना न्यायाधीशको सार्वजनिक सुनुवाइका लागि सूचना निकालिसकेको छ । संसदले न्याय परिषदको निर्णय उल्टाउनुपर्ने पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
बहुविवाह र महिलामाथि हातपातको आरोप
नेपाल बारका एक पदाधिकारीले दिएको जानकारी अनुसार न्यायपरिषदले सिफारिस गरेकामध्ये वैद्यनाथ उपाध्याय मिश्रबाहेक अन्य ६ जनामाथि प्रश्न उठेको छ ।
चोलेन्द्र र दीपकराजलाई जेपी गुप्ताको भ्रष्टाचार मुद्दामा कारवाहीको सिफारिस भएको, दीपकराजले इलाममा कार्यरत हुँदा लागू औषधका अपराधीलाई छाडेकोे, गोपाल पराजुलीले चारपटक बिहे गरेको र बलात्कारीलाई थुनामुक्त गरेको लगायतका आरोप लगाइएको छ ।
त्यसैगरी गोविन्दकुमार उपाध्याय एमाले नेता माधवकुमार नेपालका दाजु हुनुका साथै उनले दिपायलको मुख्य न्यायाधीश भएका बेला महिला कर्मचारीमाथि हातपात गरेको नेपाल बारका नेताले बताए ।
