Headlines News :
fb
Home » , » पुल भत्केपछि पूर्व पश्चिम राजमार्गमा यस्तो विजोग (फोटो फिचर)

पुल भत्केपछि पूर्व पश्चिम राजमार्गमा यस्तो विजोग (फोटो फिचर)

महोत्तरी, भदौ ३ – महोत्तरी र धनुषाको सीमानामा रहेको रातु नदीमा ड्राइभर्सन निर्माण सफल नहुँदा पूर्व पश्चिम राजमार्गमा अझै यातायात सञ्चालनमा समस्या छ ।
साउन २८ गते आएको बाढीले नदीमाथिको पुलको ११ वटामध्ये एउटा पिल्लर डेढ फिट भासिएपछि राजमार्गमा यातायात अवरुद्ध छ । शुरुमा एक फिट भासिएको पिल्लर अहिले डेढ फिट भासिएको छ भने विम पनि चर्किन थालेको छ ।
बाढी नआएकाले सोमबारदेखि सडक डिभिजन कार्यालय मुझेलियाले नदीबाटै ड्राइभर्सन निर्माणको काम थालेको छ । तर पानीको मात्रा धेरै भएकाले ड्राइभर्सन निर्माणमा समेत समस्या भएको कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । तीन वटा स्काभेटर र लोडरले सोमबार पानीभित्र सडकको लेवल बसाल्ने काम गरेको छ । पुलको भासिएको पिल्लरलाई उकासेर मर्मत गर्न कम्तीमा ६ महिना लाग्ने प्रमुख इन्जिनियर साहले बताउनुभयो । उहाँका अनुसार नदीमा बाढी नआए दुई दिनपछि ड्राइभर्सनबाट गाडी चलाउन सकिनेछ ।
स्काभेटरले बनाएको ड्राईभर्सन ट्रयाकबाट सोमबार करिब सय वटा ट्रक र केही साना गाडीहरु पार भएका छन् । नदीमा पसेका ट्रकलाई स्काभेटरले पछाडिबाट धकेलेर पार गराइएको थिो । केही सवारी साधनलाई ट्रयाक्टर लगाएर तानिएको थियो । पुलबाट पैदल यात्री र मोटरसाइकललाई मात्र आवतजावत गर्न दिइएको छ ।
पूर्वबाट आएका सवारी साधनहरु धनुषाको लालगढ र ढल्केवरमा रोकिएका छन् भने पश्चिमतिरबाट आएका सवारी साधनहरु महोत्तरीको बर्दिवासमा रोकिएको छ । यात्रुहरु करिब चार किलोमिटर पैदल हिंडेर बर्दिबास, लालगढ, बडहरी लगायतका ठाउँमा पुगेर अर्को गाडी चढेर गन्तव्य तर्फ लागिरहेका छन् । एक हप्तादेखि बर्दिबास र लालगढको सडकमा रोकिएका ट्रकका चालक र सहचालकहरुले होटल सञ्चालकहरुले चिया, खाजा र खानाको चर्को मूल्य असुलेको गुनासो गरेका छन् । महोत्तरीको बर्दिबासदेखि धनुषाको ढल्केबरसम्मको करिब १० किलोमिटर क्षेत्रमा एक हजार भन्दा बढी सवारी साधन रोकिएका छन् । कम भार भएका कतिपय बस र साना सवारी साधनहरु बर्दिवासबाट जलेश्वर जनकपुर हुँदै ढल्केबर निस्किएर गन्तव्य तर्फ लागेपनि ट्रकहरु बर्दिबास र ढल्केबरको सडक क्षेत्रमै रोकिएका छन् ।
बर्दिबासबाट जलेश्वर जनकपुर हुँदै ढल्केवर निस्कने ८४ किलोमिटर लामो सडक अधिकांश कच्ची र क्षतिग्रस्त अवस्थामा रहेकाले गाडी कम चलेका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तुलसीप्रसाद उप्रेतीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले बसलाई पुलदेखि दुई किलोमिटर टाढा नै रोकेर दुख दिएको यात्रुहरुको गुनासो छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक हरीप्रसाद शर्मा भने यातायात व्यवस्थापनमा समस्या पर्ने भएकाले गाडीहरुलाई टाढै रोकेको बताउनुहुन्छ ।
रातु पुलबाट गाडी नचल्दा यात्रुहरुको सामान ओसार पसारमा प्रयोग भएका ठेलागाडा र रिक्सा सञ्चालकहरुले भने राम्रो आम्दानी गरिरहेका छन् । बर्दिबास र लालगढका सडकमा यतिबेला दुईसय भन्दा धेरै ठेला गाडा र रिक्सा सञ्चालनमा छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar