Headlines News :
fb
Home » » यस्ता पो हिरो!

यस्ता पो हिरो!

सुख दुःख फिल्म भव्यताका साथ चलिरहेको थियो।
दुर्गा लामिछाने 
दुई पटक त फिल्म हेरिसकेकी थिएँ। श्रीकृष्ण श्रेष्ठ, मदनकृष्ण श्रेष्ठलगायत उक्त चलचित्रका कलाकार आउने भन्ने थाहा पाएपछि उनीहरुलाई हेर्ने र अटोग्राफ लिने योजनासहित हेटौंडामा रहेको ओम चलचित्र हल पुगें।

बिहानको सोमा आउने भन्ने जानकारीका आधारमा बहिनीहरुलाई समेत लिएर बिहानै पुगें। मेरो उद्देश्य चलचित्र हेर्नुभन्दा पनि बढी कलाकारहरुलाई नजिकबाट हेर्नु र उनीहरुको अटोग्राफ लिनु थियो। फिल्म सुरु हुने बेलासम्म कलाकारहरु नआएपछि खिन्न मन लिएर हलभित्र छिरें। फिल्म चलिरहँदा र मध्यान्तरहुँदा पनि उनीहरु आइपुगे कि? बाहिरैबाट गए कि? भन्ने छट्पटी मनमा चलिरह्यो।

फिल्म सकिएर बाहिर आउँदा कलाकारहरु बल्ल आइपुगेका रहेछन्। उनीहरुको नजिक पुग्ने र अटोग्राफ लिने मौका नपाउँदै उनीहरु दर्शकसँगै चलचित्र हेर्न अर्को सोका लागि भित्र छिरे। झल्याक झुलुक् देखेको उनीहरुको अनुहारले अब त नभेटी जाँदै जान्न भन्ने लाग्यो मलाई। बिहान के कसो खाएर गएका बहिनीहरु भोकले आत्तिन थालिसकेका थिए। केही खानेकुरा किनेर खुवाएँ र कलाकारहरुको प्रतिक्षामा आफूसँगै उनीहरुलाई पनि राखें।

फिल्म सकिएर कलाकारहरु बाहिर निस्किन थालेपछि उनीहरुलाई भेट्न भीड भित्र भित्रै छिर्न थालें। प्रहरी तथा अन्यको घेराभित्र रहेका मदनकृष्ण श्रेष्ठ, केशव भट्टराई, श्रीकृष्ण श्रेष्ठ लगायतका कलाकारलाई देखें। कपी र कलम खोलेर हातमा बोकी उनीहरुसम्म पुग्न भीड छिचोल्न थालें। कुनै चलचित्रका कलाकारप्रतिको यस्तो लगाव यो मेरो पहिलो थियो र आजसम्मलाई अन्तिम पनि।

बल्लतल्ल मदनकृष्ण श्रेष्ठलाई भेटें। उहाँको अटोग्राफ लिएँ। त्यसपछि केशव भट्टराई र अन्य केही साना भूमिकाका कलाकारको। चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठलाई भेट्न भीड छिचोल्नु मुस्किल परिरहेको थियो।

प्रहरी तथा उनको सुरक्षामा खटिएकाहरु श्रीकृष्णलाई दर्शक (फ्यान) बाट परै राख्न चाहँन्थे तर, श्रीकृष्ण भने नजिकिन चाहिरहेका थिए। यस्तैमा भीड छिचोलेर म श्रीकृष्णको देब्रे पाखुरा समाउन पुगें। अटोग्राफ प्लिज भनें। उनी पनि अटोग्राफ दिन खोज्दैथिए। तर भीड र सुरक्षाकर्मीहरुका कारण उनी अटोग्राफ दिन सक्ने स्थितिमा थिएनन्। उनी “एक्कैछिन् है” भन्दै थिए, सुरक्षाकर्मीले मलाई पर ठेल्न खोज्दै थिए।

मैले जोरसित श्रीकृष्णको पाखुरा समाइराखें। मलाई याद छ, मैले त्यतिबेला महशुस गरेकी थिएँ कि, ए हिरोहरुले ज्यान बनाएको भनेको त हात पनि यस्तो साह्रो पो हुँदो रहेछ भनेर। म उनको पाखुरा अँठ्याएर उनीसँगै हिंडिरहेकी थिएँ। अरु मलाई छुटाउन खोजिरहेका थिए। आँगनको भीड छिचोलेर गेटमा पुग्नै लाग्दा उनले भने, “म उ त्यो बाहिर रोकेको गाडीको अगाडी पटि्टबाट गएर गाडीको ढोकामा पुग्छु, तपाईँ पछाडीबाट आउनु है!” म “हुन्छ!” भन्दै उनको पाखुरा छोडेर गाडी तिर दौडिएँ।

म गाडीको ढोकामा पुग्दा उनी ठ्याक्कै भित्र छिरिहाले। मलाई गाडीको ढोकामा रोक्नेलाई श्रीकृष्ण आफैंले मलाई भित्र जान दिन निर्देशन दिए र म उनी बसेकै सिट छेउ पुगेर अटोग्राफ लिन सफल भएँ। सिग्नेचर गर्दागर्दै सोधे, “कतिमा पढ्नुहुन्छ?” “१२ मा।” हत्तपत्त भनिहालें, “मिल्छ भने फोन नम्बर पनि दिनु न है!” बिना हिच्किचाहट उनले नम्बर पनि लेखिदिए। “सरी है तपाईँलाई यति अटोग्राफ लिनलाई पनि साह्रै गाह्रो पर्यो।” फोन नम्बर लेख्दै गर्दा उनले भने। “होइन ठिकै छ, थ्यांक्यु है!” भन्दै म गाडीबाट ओर्लिएँ।

मलाई राम्रैसँग याद छ, उनले अटोग्राफ दिँदैगर्दा उनको आँखामा हिरो हुनुको अहँ रत्तिभर थिएन। चिनिरहेको कोही दाइसँग कुरा गरे झैं अनुभूति गरिरहेकी थिएँ।

उनले दिएको त्यो नम्बरमा मैले कहिल्यै फोन गरिनँ। कुन्नी किन मागें नम्बर, मलाई त भेट्नु थियो, अटोग्राफ लिनु थियो। पाएँ, सक्कियो। अटोग्राफ लिने काम पनि कुनै एक समयले ल्याएको चाहँना थियो, लिइसकेपछि न कसैलाई देखाएँ, न साथीहरुलाई सुनाएँ, बस् कतै थन्क्याइदिएँ।

पछि तिनै दर्शकका शुभचिन्तक कलाकार श्रीकृष्ण श्रेष्ठलाई 'ब्लड क्यान्सर' भयो रे भन्ने सुन्दै आङ् सिरिंङ्ङ भयो। उनको उपचारका लागि देशव्यापी रुपबाट सहयोग उठेपछि उनीप्रति झन् बढी श्रद्धा जाग्यो। राज्यले गहना भनेका कलाकारलाई परिआउँदा राज्यले केही नगरिरहेको अवस्थामा सरकारी कर्मचारी, सर्वसाधारण जनताले जुटाएको रकमबाट त्यत्ति जटिल उपचार पाउनु चानचुने कुरा थिएन।

उपचार सफल भयो, उनी सामान्य जीवनमा फर्किए। आफूलाई मन परेको कलाकारको स्वास्थ्य लाभको खबरले मन हर्षित भयो। लामो अन्तरालपछि उनले फेरि आफूलाई चलचित्र कर्ममा फर्काए। तर मेरोलागि भने …सुखदुःख' नै श्रीकृष्ण अभिनित अन्तिम फिल्म भयो। उनीप्रतिको श्रद्धा र शुभकामना कायम रहे पनि खोइ किन हो त्यसपछिका उनका फिल्म हेरिएनछ।

म एक साधारण किशोरी, अटोग्राफ नदिन पनि सक्थे। अटोग्राफ दिए नि फोन नम्बर नदिन पनि सक्थे। तर बिना हिच्किचाहट सरलतापूर्वक उनको प्रस्तुती उनलाई सम्भि्कएका हरेक पटक मेरो स्मृतिमा आउने गर्छ।

आइतबार बिहान साइबर जानुभएका श्रीमानले अँध्यारो अनुहार लगाउँदै आएर “एउटा ब्याड न्यूज छ” भन्नुभयो। मैले अनुमान पनि नगरेको उनै नायकको निधनको खबरले एकछिन् अवाक बनायो। एकाएक भन्न आएछ, “सायद श्रीकृष्ण अब अर्को जन्म लिएर आउँदैनन्।” “किन नि?” श्रीमानको प्रश्नप्रति मेरो जवाफ थियो, “मैले भेट्दा उनमा पाएकोे सरलता, ब्लड क्यान्सर हुँदा पनि बाँच्न सफल हुनु, बिवाह गरेको एक महिना बित्दा नबित्दै जानु, सायद बिवाह उनको बाँकी कर्म थियो। त्यो सकियो, अब आउने सायद कर्म बाँकी छैन कि!” “हुन पनि सक्छ”, मानिसको कर्मचक्रमा विश्वास गर्ने श्रीमानको प्रतिकृया थियो।

श्रीकृष्ण आउलान्, नआउलान् त्यो अर्को कुरा। तर यतिखेर मलाई श्वेताको भाग्य र जीवनप्रति सहानुभूति लागिरहेछ। आफूले प्रेम गरेको व्यक्ति भैकन पनि उमेरको अन्तर साथै जातको अन्तर पक्कै पनि बिवाहसम्म पुग्ने क्रममा निकै अड्चन बनेका थिए होलान्।

परिवारकै सहभागितामा भएको बिवाह भए पनि ब्लड क्यान्सरबाट पार भएर आएको केटोसँग बिवाहको अनुमति सजिलै मिलेको पनि थिएन होला। सम्भवतः यी सबै अवस्थालाई पार गर्दै हज्जारौं सपना संगालेर नयाँ जीवनमा गाँसिएको व्यक्ति एक महिना पुग्नासाथ (हनिमुन पिरियड) बित्छ भने ती नवबिवाहिताको मनमा के के बित्छ म एक बिवाहित महिला भएकाले पनि अनुमान लगाउन सक्छु।

गुमेको जीवनसाथी, कसैको साथ, प्रेम केहीले पनि पूरा हुन सक्दैन। त्यसमाथि पनि यति चाँडै र अचानकको घटनाले श्रीमान बित्दा हाम्रो जस्तो समाजमा निर्दोष श्वेताहरु दोषी कहलाइनु, कुरा काटिनु र 'कठैबरा!' का स्वरले पीडित पारिनु सामान्य परिपाटी हो। कामना छ, उनको परिवार र समाज पृथक रुपमा प्रस्तुत भैदिओस्। श्वेतामा धैर्यधारण गर्दै आफूलाई समयको हातमा सुम्पने शक्ति मिलोस्। अनि श्रीकृष्णको आत्माले यो दुःखको सागरमा फेरी फर्किनु नपर्ने गरी चीर शान्ति पाओस्। भावपूर्ण श्रद्धासुमन!  
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar