क्वालालम्पुर, श्रावण ५ - वैदेशिक रोजगारीनिम्ति मलेसिया आउने नेपाली कामदारमध्ये हजारौं जना विभिन्न स्वास्थ्य समस्या (मेडिकल फेल) का कारण स्वदेश फिर्ने गरेका छन् । नेपालमा स्वास्थ्य परीक्षण गर्दा पास भएका भनिएका कयौं मलेसिया आएपछि पुनः परीक्षण गर्दा अयोग्य देखिन्छन् । बर्सेनी डेढदेखि तीन प्रतिशत नेपाली अयोग्य भई फर्कने गरेको नेपाली दूतावासको अनुमान छ ।
केहीमहिनाअघि र्सार्वजनिक एक तथ्यांकअनुसार मलेसियामा कानुनी हैसियतमा रहेका विदेशी कामदारमध्ये वाषिर्क झन्डै ३० हजार जना स्वास्थ्य परीक्षण गर्दा समस्या देखिएर फर्कने गरेका छन् । उनीहरूले रोजगारीका लागि आएको पहिलो महिनामै स्वास्थ्य परीक्षण गराउनुपर्छ । फर्कने कामदारहरूमा नेपालसहित बंगलादेश, इन्डोनेसिया, म्यानमारलगायतका छन् । उनीहरूमध्ये ७५ प्रतिशत सरुवा रोग, १७ प्रतिशत धेरै पुरानो रोग, ४ प्रतिशत लागू औषत प्रयोग र ४ प्रतिशत गर्भधारणको समस्यामा देखिन्छन् ।
साधारण कामदारका रूपमा मलेसिया आउनेको करार अवधि ३ वर्षो हुन्छ । विदेशी कामदारको स्वास्थ्य परीक्षणको व्यवस्थापन र लगत राख्ने काम फोमेमा एसडीएन बीएचडी नामक कम्पनीले गर्दछ ।
छातीमा देखिने सामँन्य दागदेखि विविध जटिल स्वास्थ्य समस्याका कारण पनि नेपालीहरू फर्काइन्छन् । त्यतिमात्र होइन, हरेक वर्षभिसा नवीकरण हुनुअगावै गरिने स्वास्थ्य परीक्षणमा समेत अयोग्य देखिएर फर्कनेसमेत कम छैनन् । अयोग्य भएपछि नेपाल फर्कनुपर्दा कामदारलाई आर्थिक भारसमेत पर्ने गरेको छ । 'बल्लतल्ल ऋण गरेर आएँ । आएको दुई हप्तापछि कम्पनीले मेडिकल गरायो । अहिले छातीमा दाग छ, फेल भनेर रिपोर्ट आयो, घर फर्काउन लागेको छ ।' दामनसरास्थित एक चिनियाँ रेस्टुरेन्टमा काम गर्न आएका पुर्कोट तनहुँका रविन थापाले दुःखेसो पोख्दै भने, 'नेपालमा खासै समस्या देखिएको थिएन, पास भएको रिपोर्ट आएको थियो । अब ऋणमाथि झन् ऋण हुने भयो ।'
स्वास्थ्य परीक्षणमा अयोग्य भएर फिर्नेमध्ये अधिकांश थापाजस्तै छन् । केही चाहीँ म्यानपावर कम्पनी र स्वास्थ्य परीक्षण गर्ने संस्थाबीचको 'सेटिङ' मा नक्कली योग्यतापत्रमा पठाएपछि यहाँ आएर समस्याम पर्छन् । स्वास्थ्य समस्या देखिनेमा धेरैजसोको छातीमा दाग देखिन्छ भने कतिपयमा सरुवा रोगसमेत भएको पाइन्छ । जानकारहरूका अनुसार छातीमा दाग देखिनु केही हदसम्म गम्भीर रोगको लक्षण मानिनसक्ने भए पनि प्रायः अवस्थामा यो सामान्य हो ।
मलेसियाले चार वर्षघि नेपालसँग श्रममन्त्रीस्तरको वार्ताका क्रममा साधारण स्वास्थ्य समस्या हुँदैमा नेपाली कामदार नफर्काउने प्रतिबद्धता व्यक्त गरेको थियो । प्रतिबद्धतालाई मूर्तरुप दिलाउन कूटनीतिक प्रयास हुन सकेको छैन ।
वायोमेट्रिकले काम गर्ला ?
झन्डै २० लाख विदेशी कामदार कार्यरत मलेसियामा बर्सेनी हजारौं कामदार स्वास्थ्य परीक्षणमा अयोग्य भएको पाइएपछि उसले वायोमेटि्रक प्रणाली अख्तियार गरेको छ । मलेसियाले गत फेब्रुवरीयता केही कामदार स्रोत मुलुकसित वायोमेटि्रक मेडिकल एवं भिसा नीतिका विषयमा औपचारिक सम्झौता गरिसकेको छ । हाल उसले नेपाल र बंगलादेशसित यसमा अभ्यास गरिरहेको छ ।
'वायोमेटि्रक प्रणाली लागू भएपछि मेडिकल फेलका समस्या घट्ने मलेसियाको विश्वास छ र नेपालका लागि यो आफैंमा नराम्रो छैन,' मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले भने, 'तर यसबाट रोजगारीका क्रममा मलेसिया आउने नेपाली कामदारलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने नै हाम्रो मान्यता हो ।'
fb