रियो दी जेनेरियो (एपी), असार २५ - श्वकपका दुई प्रतिभाशाली खेलाडी लियोनल मेसी र आर्जेन रोबेन एकअर्काविरुद्ध भिड्ने भएका छन् । जब बुधबार हुने सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्दा धेरैको आँखा यी दुई स्टार खेलाडीमा हुनेछ । ब्राजिलमा रोबेन छिटा देखिएका छन् । मेसी झन् अझ छिटा भएका छन् । तर साओ पाउलोमा हुने भिडन्तबाट एक टिममात्र फाइनलमा पुग्नेछ । 'हामीले मेसीलाई हुने सहयोगलाई तोड्नुपर्छ,' डचका डिफेन्डर ब्रुनो मार्टिन्सले भने ।
बार्सिलोनाका स्टार मेसीले अर्जेन्टिनालाई समूह चरण पार गराउँदा ४ गोल गरेका थिए । उनले ५ खेलमा एक सय ८० पास खेलेका छन् । डच टिमका खेलाडीले भने एक-अर्का मिलेर गोल गरेका छन् । रोबेन र रोबिन भान पर्सीद्वयले समान ३/३ गोल गरेका थिए भने मेम्पिहिस डेपेले दुई गोल गरेका छन् । समूह चरणमा डच टिमले १० गोल गरेको थियो । बायन म्युनिखका विंगर रोबेनको उत्कृष्ट प्रदर्शनमा डचले टिमले सानदार प्रदर्शन गरिरहेको छ । 'हामीलाई थाहा छ, हामी उत्कृष्ट टिमसँग खेलिरहेका छौं भनेर । किनकि गतिका कारण यो टिमको काउन्टर एट्याक राम्रो छ,' अर्जेन्टिनाका मिडफिल्डर जाभियर मास्चेरानोले भने, 'त्यसैले हामीले उनीहरूलाई काउन्डर एट्याक गर्ने मौका दिन हुन्न । साथमा उनीहरूलाई बल पोजेसन पनि दिनु हुन्न । त्यसले गर्दा हामीलाई तनाव हुन सक्छ ।'
समूह चरणमा १० गोल गरे पनि नेदरल्यान्ड्सले नकआउट चरणमा दुई गोलमात्र गर्न सकेको छ । डच टिम यतिबेला आफ्नो गोल स्कोरिङ मेसिन कप्तान भान पर्सी फेरि र्फममा आएको हेर्न चाहन्छ । उनले कोस्टारिकाविरुद्धको खेलमा सहज मौकाहरू गुमाएका थिए । नेदरल्यान्ड्स फेरि एक पटक बलिया मिडफिल्डर निगेल डी जोङबिना हुनेछ । उनी चोटका कारण खेल्न सकेका छैनन् । उनको स्थानमा लेरोय फेर खेल्ने सम्भावना छ । उनी पनि चोटबाट फर्किएका हुन् ।
अर्जेन्टिनी टिम रियल म्याडि्रडका विंगर एन्जेलो डी मारियाबिना हुनेछ । उनलाई बेल्जियम विरुद्धको खेलको पहिलो हाफमा चोट लागेपछि सब्स्िटच्युट गरिएको थियो । तर स्ट्राइकर सर्जियो अगुइरो भने चोटपछि फर्किने भएका छन् । डी मारियाले स्विट्जरल्यान्ड विरुद्धको खेलमा अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका थिए ।
'उनी राम्रा खेलाडी हुन् । तर हामी पूरा टिमलाई हेर्छौं । एक खेलाडीलाई मात्र हेर्ने होइन,' नेदरल्यान्ड्सका गोलकिपर जेस्पर सिलेसेनले भने, 'अर्जेन्टिनाले कस्तो खेल्छ, हामी हेर्ने छौं । अर्जेन्टिनालाई हराउन हामी योजना बनाउने छौं ।' सिलेसेनलाई कोस्टारिका विरुद्धको टाइब्रेकरमा सब्सिटच्युट गरिएको थियो । उनको स्थानमा टिम क्रुललाई पोस्टको जिम्मा दिएपछि नेदरल्यान्ड्स सेमिफाइनलमा पुग्न सफल भयो । रणनीतिक रूपमा अग्रपंक्तिमा गनिने नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले क्रुललाई मैदानमा लाँदै सबैलाई चकित पारेका थिए । क्रुलले दुई पेनाल्टी पनि रोके । 'हामी सबै कुराका लागि तयार छौं,' क्रुलले भने, 'आशा गरौं, अर्जेन्टिनाविरुद्ध त्यसको आवश्यकता नपरोस्, हामीले ९० मिनेट भित्रमै काम पूरा गरौं ।'
यी दुई टिम बीचको विश्वकप इतिहास लामो छ । त्यसमा नेदरल्यान्ड्सले बेहोरेको पीडादायी हार पनि सामेल छ । सन् १९७८ को फाइनलमा जब रोब रेनसेनबि्रन्कको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्कियो, योसँगै खेल निर्धारित समयमा १-१ मा सकियो । अतिरिक्त समयमा अर्जेन्टिनाले खेल ३-१ ले जित्दै उपाधि जित्यो । सन् १९९८ मा गुस हिडिन्कको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको टिमले अर्जेन्टिनासँग सन् १९७८ मा बेहोरेको हारको बदला लियो । अर्जेन्टिनालाई नेदरल्यान्ड्सले क्वाटरफाइनलमा हरायो ।
मेसीभन्दा रोबेन उत्कृष्टः भान मार्विक
साओ पाउलो (एएफपी) नेदरल्यान्ड्सका पूर्व प्रशिक्षक बर्ट भान मार्विकले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई आर्जेन रोबेनको प्रदर्शनले छायामा पार्ने भएका छन् । नेदरल्यान्ड्स र अर्जेन्टिना बुधबार विश्वकपको सेमिफाइनलमा भेट्नुअघि भान मार्विकले यस्तो बताएका हुन् । रोबेनलाई लिएर डाइभिङ गर्नेमा विवाद छ ।
बायन म्युनिखका स्टारले नेदरल्यान्ड्सका लागि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । साओ पाउलोबाट रोबेनका कारण नेदरल्यान्ड्सको टिम नै अघि बढ्ने उनले बताए । 'अर्जेन्टिनासँग मेसी छ र हामीसँग रोवेन । साँच्चै भन्नुपर्दा मलाई रोबेन नै राम्रो खेलाडी लाग्छ,' चार वर्षअघि दक्षिण अफ्रिकामा टिमलाई फाइनल पुर्याएका प्रशिक्षक मार्विकले भने, 'जब मैले रोबेनले प्रतियोगितामा खेलेको देखें, त्यो देखेर मलाई लोभ लाग्यो । सन् २०१० को प्रदर्शनभन्दा निकै फरक छ ।' चार वर्षअघि विश्वकपको ठीक पूर्वसन्ध्यामा रोबेन हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए । 'उनले प्रतियोगिता अवधिभर चोटका बाबजुत खेले । र, कहिल्यै पनि शत प्रतिशत ठीक थिएनन् । तर यो वर्ष उनलाई रोक्न सकिएको छैन,' मार्विकले भने । उनका अनुसार पूर्ण रूपमा फिट र आक्रामक रोबेन नै सन् २०१० को स्पेनविरुद्धको फाइनलमा फरक हो । निर्धारित समयमा रोबेनले गरेको प्रहारलाई स्पेनी गोलकिपर इकर कासियासले रोकेपछि नेदरल्यान्ड्सले उपाधि चुम्ने मौका गुमाएको थियो । 'यो खेलकुदको अंग हो । एक क्षण र एक समय,' रोबेनले भने, 'तर यो म र मेरो खेल जीवनको भाग हो ।' रोबेनको अहिलेको र्फमलाई हेर्दा धेरैले यसपटक डचले विश्वकप जित्न सक्ने अनुमान गरेका छन् । अहिलेसम्म डचले खेलेको तीन विश्वकप फाइनलमा हार बेहोरेको छ ।
सेमिफाइनल सम्मको यात्रामा रोबेनले तीन गोल गरेका छन् । उनले अन्तिम १६ मा मेक्सिकोविरुद्धको खेलमा खेल जित्न सफल पेनाल्टी किक जितेका थिए । अनुभवी रोबेनले टिमको नेतृत्वलाई पनि राम्रोसँग सम्हालेका छन् । उनी टिमका उपकप्तान हुन् । रोबिन भान पर्सी मैदानमा नहुँदा उनको हातमा आर्म-ब्यान्ड हुन्छ । 'मेक्सिको विरुद्धको खेलमा जब डि्रङ्स ब्रेक भएको थियो । उनले सबै खेलाडीलाई हौस्याउने काम गरे,' नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले भने ।
fb

