Headlines News :
fb
Home » » प्रहरीको धरापमा घुस लिने १२ प्रहरी नै समातिए

प्रहरीको धरापमा घुस लिने १२ प्रहरी नै समातिए

वीरगन्ज : प्रहरीको आचरण शुद्धीकरण अभियान थालेको मध्यक्षेत्रीय प्रहरी कार्यालयले यस पटक राजमार्गमा चालकसँग घुस असुल्ने प्रहरीलाई धरापमा पारेको छ। चितवनदेखि धनुषा जिल्लासम्मको राजमार्गमा घुस असुल्ने प्रहरीलाई पक्राउ गर्न सञ्चालित दुई साता लामो अभियानका क्रममा चार हबलदारसहित १२ प्रहरी घुस असुल्दै गर्दा पक्राउ परेका छन्।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष टोलीले चितवन, पर्सा, बारा, रौतहट, महोत्तरी र धनुषा जिल्लाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको चेकपोस्टमा तैनाथ प्रहरीले ट्रक, बस, टेम्पो र ट्र्याक्टरचालकसँग घुस असुल्दै गरेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो।

असार महिनाको १२ देखि १७ गतेसम्म सञ्चालित अभियानमा पर्साको रजतजयन्ती, बाराको सिमरा, कलैया, चितवनको आँपटारी, रौतहटको सुकदेव, महोत्तरीको जिरोमाइल, पिपरा, धनुषाको जिरोमाइल बेलापुरचोकमा तैनाथ प्रहरी घुस असुल्दै गर्दा विशेष टोलीको कब्जामा परेका थिए। पक्राउ परेका प्रहरीले २० देखि दुई सय रु पैयाँसम्म घुस असुलेको पाइएको स्रोतले जनाएको छ।

सादा पोसाकमा विशेष टोली परिचालन गरिएपछि घुस असुल्ने प्रवृत्तिमा थोरै भए पनि अंकुश लागेको छ। बारा र पर्सा जिल्लामा मात्रै वर्षौंदेखि डिउटी गर्दै आएका एकजना ट्राफिक प्रहरी सहायक निरीक्षकले भने, 'थोरै पैसाको लोभमा जागिर गुम्ने त्रासले सबै सतर्क भएका छन्।'

आचरणविपरीत कार्य नगर्न पटकपटक निर्देशन दिँदासमेत व्यवसायी र सर्वसाधारणबाट प्रहरीले दु:ख दिएको, घुस असुलेको गुनासो आउने क्रम जारी रहेपछि डीआईजी प्रकाश अर्यालले सादा पोसाकमा विशेष टोली परिचालन गरेर आफ्नै प्रहरी कर्मचारीविरुद्ध धराप थापेका हुन्। फुर्सदको समयमा उनी स्वयम् पनि छद्म भेष धारण गरेर प्रहरीको गतिविधिबारे निगरानी राख्न निस्किन्छन्। कहिले हाफ पाइन्टमा यात्रु बनेर र त कहिले ट्याक्सीचालक भएर यात्रामा निस्किने उनलाई हत्तपत्त पहिचान गर्न नसक्दा घुस असुल्ने प्रहरी पक्राउ पर्ने गरेका छन्।

वीरगन्जको रजतजयन्तीचोक, बसपार्कचोक, गण्डकचोक, प्रतिमाचोक, परवानीपुर बजार, जितपुरचोक, बाराको कलैया, सूर्य नेपाल, पथलैया, निजगढ, चन्द्रनिगाहपुरचोक, नवलपुर, लालबन्दी बजार, जिरो माइलचोकको डिउटी प्रहरी र ट्राफिक प्रहरीका लागि कमाउ मानिएको पोस्टिङ हो। यी पोस्ट्मा झोले पोके तस्करदेखि लिएर सवारी नियम उल्लंघन गर्ने चालकसम्म प्रहरीबाट घुस असुलीको सिकार हुने गरेका छन्।

'भ्रष्टाचारविरु द्ध शून्य सहनशीलताको सांगठनिक नीतिअन्तर्गत नै विशेष शुद्धीकरण अभियान सञ्चालन गरेका हौं,' डीआईजी अर्यालले भने, 'पेसागत मर्यादाविपरीत आचरण गर्ने प्रहरी जुनसुकै बेला पक्राउ पर्न सक्छ भन्ने सन्देश यो अभियानले दिएको छ।' मध्यक्षेत्रीय प्रहरी कार्यालयले प्रहरी आचरण शुद्धीकरणका लागि विशेष अभियान जारी रहने बताएको छ।

सर्वसाधारणलाई प्रहरीले अनाहकमा दु:ख दिने र घुस असुल्ने प्रवृत्ति निरु त्साहित गर्न टोल फ्रि टेलिफोन नम्बर (फोन गरेबापत शुल्क तिर्नु नपर्ने) १६६०५७५२१०० समेत सञ्चालनमा ल्याइएको छ। मध्यक्षेत्रीय प्रहरी कार्यालयले आफ्नो मातहतका प्रत्येक इकाइमा टेलिफोन नम्बर अंकित सूचना बोर्ड सर्वसाधारणले प्रत्यक्ष देख्न सक्ने गरी झुन्ड्याउन लगाएको छ।

पेसागत मर्यादाविपरीत कार्य गरेको अभियोगमा मध्यमाञ्चल क्षेत्रभरबाट गत आर्थिक वर्षमा प्रहरी नायब निरीक्षकदेखि जवान पदसम्म कुल पाँच सय ८१ जनालाई विभागीय कारबाही गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar