काठमाडौं– केही दिनअघि सञ्चारमाध्यमहरुमा एउटा समाचार आएको थियो, आफ्ना नियमित नाईको बिहेमा अभिनेता राजेश हमाल हेलिकप्टर चार्टर गरेर सर्लाही पुगे। हमालका नियमित नाई सर्लाहीका राम ठाकुर हुन्। तर, तस्बिरमा राजेश हमालको अँगालोमा देखिएका दुलहा थिए सुरेन्द्र ठाकुर। सञ्चारकर्मीले कुरै नबुझी समाचार लेखिदिएकोमा राम ठाकुरलाई आश्चर्य लागेको छ।
'राजेश दाइको कपाल मैले नै विगत १२ वर्षदेखि नियमित काट्दै आएको छु। तर केही दिन यता अरु कसैले ७ वर्षदेखि राजेश दाइकोमा कपाल काट्न गएको खबरले छक्क परेको छु,' रामले भने, 'समाचारमा आएजस्तो सुरेन्द्र ठाकुरले राजेश दाइको कपाल काटेका छैनन्।'
गत शुक्रबार राजेश हमाल हेलिकप्टर चढेर सुरेन्द्रको बिहेमा सहभागी हुन सर्लाही पुगेका थिए। तिनै सुरेन्द्रले आफूले हमालको घरमा गई विगत सात वर्षदेखि कपाल काट्दै आइरहेको दाबी गरेका थिए। तर हमालका सहयोगी दीपेन्द्र चौधरीले सुरेन्द्रको दाबी झुटो भएका बताए।
'हामी पनि समाचार पढेर छक्क पर्यो। दाइले एक डेढ वर्षअघि राम ठाकुरकै आग्रहमा सुरेन्द्रको पसलको उद्घाटन गरिदिनु भएको हो। त्यसयता कपाल काट्नु त के, भेटसम्म पनि भएको याद छैन,' दीपेन्द्रले भने।
राजेश आफैँ हेलिकप्टर चार्टर गरेर सर्लाही पुगेको अर्थ झल्किने खालको समाचारप्रति पनि दीपेन्द्रको आपत्ति छ। उनले भने, 'राजेश दाइ दुलहा सुरेन्द्रकै खर्चमा हेलिकप्टर चढेर जानुभएको हो।'
सुरेन्द्र आफ्नो साथी भएकाले आफूले नै हमाललाई सर्लाही गइदिन अनुरोध गरेको रामले बताए। 'मैले नै दाइलाई अनुरोध गरेको हुँ। तर साथीले मलाई नै माइनस गर्ने काम गर्यो। स्पष्टिकरण दिँदा दिँदा हैरान भइसकेँ,' रामले भने।
fb