काठमाडौं- थापाथलीस्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय अगाडि सडक भासिएको छ। सो क्लबले निजी कम्पनीलाई व्यापारिक भवन बनाउन दिए पनि कुनै सावधानी नअपनाई जग्गा खन्दा ४५ मिटर लम्बाइ सडकको छेउपट्टिको भाग भासिएको सडक विभागले जनाएको छ।
रोकथामको प्रयास नै नगरी बहुतले भवन बनाउन खोज्दा सार्वजनिक सडक जोखिममा परेको हो। ३५ वर्ष भाडामा लिएर ११ तला भवन बनाउन लागेको टुन्डी कन्स्ट्रक्सन प्रालिका कारण सडक जोखिममा परेको विभागको ठहर छ। बिहीबार सो क्षेत्रमा भेटिएका कम्पनीका साइट इन्जिनियरका अनुसार असार १३ देखि ठूलो पानी परेकाले सडकको यो अवस्था भएको हो। नाम नलेख्ने सर्तमा उनले सडक विभागसँग छलफल भइसकेको र मंगलबारदेखि बाटो मर्मतको काम थाल्ने जानकारी दिए।
विभागका उपसचिव मुकुन्द अधिकारीका अनुसार चार लेनको उक्त सडक १५ देखि २० सेन्टिमिटर भासिएको छ। 'सडकको छेउभाग दबिएको छ,' उनले भने, 'जलले गर्दा अन्य ठाउँ पनि जोखिममा पारेको छ।'
'यसरी सार्वजनिक सम्पत्ति नै बेवास्ता गरेर घर बनाउँदा घरवाला नै जिम्मेवार देखिन्छ,' उनले भने, 'भवन बनाउन गहिर्या्उँदा भित्तामा गतिलो आड दिन सकेको भए यस्तो अवस्था सायद आउने थिएन।' सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकलाई बेवास्ता गरेको विभागको ठहर छ। विभागले करिब १ करोड ४५ लाख रुपैयाँ रकम धरौटी राख्न सो कम्पनीलाई पत्राचार गरेको पनि उनले जानकारी दिए। 'यदि उनीहरु नै बनाउन चाहन्छन् भने हाम्रै मापदण्ड अनुसार अगाडि बढ्नुपर्छ,' उनले भने, 'नत्र धरौटी बुझेर विभागले सडक बनाउँछ।'
भासिँदा सडक पूर्णरुपमा क्षति भएकाले त्यसको विशेष मर्मत गर्नुपर्ने उनले बताए। 'जस्तो सडकको अवस्था थियो त्यस्तै बनाउनुपर्छ,' उनले थपे। ती इन्जिनियरले एक महिनादेखि सो ठाउँमा बेसमेन्ट बनाउने काम भइरहेको जानकारी दिए। दुई बेसमेन्टसहित ११ तलाको व्यापारिक भवन बनाउन लागिएको पनि उनले बताए।
उनका अनुसार पाँच वर्ष पुरानो इस्टमेट अनुसार सो कम्पनीले भवनमा ३० करोड रुपैयाँ लगानी गर्ने भएको थियो भने नयाँ तयार भएको छैन। नक्सा पास गर्नका लागि काठमाडौं नगरपालिका बुझाइसकेको उनले जानकारी दिए र पास नहुन्जेल बेसमेन्टको काम मात्र हुने उनले जानकारी दिए।
'कालो माटो र त्यसमाथि १३ असारदेखि परेको पानीले सडकमा समस्या आएको हो,' सडकलाई लगाइएको आड देखाउँदै उनले भने, 'त्यही भएर अहिले सडकपट्टि वाल लगाउने काम भइरहेको छ। एकदुई दिनमा वाल लगाएपछि सडक सुधार्ने काम गर्छौं।'
घरको पिसिसी तहदेखि १० मिटर गहिरो खनिएको उनले जानकारी दिए। 'यो खनिएको थुपै्र समय भयो,' उनले जानकारी दिए, 'पानी परेर हिलो हुँदाहुँदै पनि काम छिट्छिटो गर्न लागिपरेका छौं।' सो ठाउँमा बहुतले भवन बनाएर ३५ वर्ष कम्पनीले प्रयोग गर्ने र त्यसपछि रोटरीलाई बुझाउने सम्झौता ५ वर्षअघि भएको उनले जनाए।
रोटरी क्लब काठमाडौंका कार्यालय सचिव श्रीकृष्ण दाहालले २ वर्षदेखि सो ठाउँमा माटो परीक्षण लगायत जग हाल्न जमिन गहिर्यााउने काम भइरहेको उल्लेख गरे। 'त्यहाँबाट माटो झिक्ने काम दुई वर्षैदेखि भइरहेको छ,' उनले भने, 'पर्खाल बलियो बनाएपछि सडकको काम थाल्ने कम्पनीले बताइरहेको छ।'
fb