नयाँ दिल्ली, असार १७ - नेपाल सरकारले गरेको आग्रहबमोजिम भारतले इराकबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा सहयोग र समन्वय खोज्दै आउने नेपाली नागरिकलाई समेत उद्धार गरेर घर फिर्ता पठाउने भएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता साइद अकरुविद्धिनले मंगलबार अपरान्ह आयोजित पत्रकार भेटघाटमा इराकमा कठीनाइ बेहोरिरहेका नेपाली नागरिकलाई घर फिर्ता पठाउन भारत सरकार तत्पर रहेको प्रतिक्रिया दिएका छन् । "अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई पनि भारतीयसरह व्यवहार गर्न र फिर्ता ल्याउन भारत सरकार तत्पर छ",अकरुद्धिनले भने । उनले छिमेकी देश नेपालको इराकमा आफ्ना दुतावास नरहेका कारण र सहयोग गर्न आग्रह गरिएको अवस्थामा भारतले सम्पूर्ण साथ सहयोग गर्ने बताए ।
इराकमा दुइ सातायता चर्केर गएर आन्तरिक द्धन्द्धका कारण कठीनाइ बेहोरिरहेका नागरिक फिर्ता ल्याउन भारतले बग्दादस्थित आफ्नो दुतावासलाई निर्देशन दिएर उद्धार कार्य सुरु भएपछि नेपाल सरकारले पनि सहयोगका निम्ति आग्रह गरेको थियो । दिल्लीस्थित नेपाली दुतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार उनले विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव-जेएस नर्थ) अभय ठाकुरलाई भेट गरेर इराकमा रहेका नेपालीको उद्धार गर्न सहयोग र समन्वयको आग्रह गरेका थिए । दिल्लीस्थित दुतावासले इराक र टर्कीका दुतावासलाई पनि नेपालीको उद्धारमा समन्वय जुटाइदिन अनुरोध गरेको थियो ।
भारतले भने मंगलबार सम्ममा ३३७ जना भारतीय नागरिकलाई बग्दादबाट दिल्ली फिर्ता ल्याएको छ । इराकमा रोजगारीका लागि रहेका थप १ हजार भारतीय नागरिकले घरफिर्ताका लागि सम्पर्क गरेको विदेश मन्त्रालयले जनाएको छ ।
इराकको कुर्दिस्तानस्थित गैर आवासीय नेपाली संघ प्रतिनिधिका अनुसार झण्डै ३० हजार नेपाली इराकमा कार्यरत छन् । घर फिर्न चाहने नेपालीको उद्धार र समन्वय गर्न नेपाल सरकारले परराष्ट मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई कुवेतस्थित नेपाली दुतावासमा रहेर काम गर्ने गरी काजमा पठाइसकेको छ ।
fb