Headlines News :
fb
Home » » प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, 'अब पूर्ण स्वस्थ भएको छु।'

प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, 'अब पूर्ण स्वस्थ भएको छु।'

 काठमाडौं-फोक्सोको क्यान्सर उपचार गराएर मंगलबार अमेरिकाबाट फर्केका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, 'अब पूर्ण स्वस्थ भएको छु।'

 'आगामी दिनमा मेरो दिनचर्याले पनि स्वस्थ भइसकेँ भन्ने प्रमाणित गर्नेछ,' एक महिनाको अमेरिका बसाइपछि स्वदेश फिरेका कोइरालाले पत्रकारहरूसँग भने, 'योसँग सकिने रहनेछ भनेर रोग पनि भाग्यो।' उनलाई यसअघि जिब्रोको क्यान्सर भएको थियो।

राजनीतिक यात्रा क्रममा मृत्यु र रोगसँग लड्दा–लड्दा आफूमा सहनशीलता विकास भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले 'जस्तोसुकै समस्यामा कहिल्यै विचलित नहुने' स्मरण गरे।
'राजनीतिक जीवनमा कैयौंचोटि मृत्युसँग लडेको मान्छे, विगतमा पनि जिब्रोको क्यान्सरसँग लडेर जितेकै हुँ,' उनले भने, 'म रोग र मृत्युसँग कहिल्यै विचलित भइनँ।'

न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा कोइरालाको फोक्सोको क्यान्सर उपचार गरिएको हो। फोक्सोमा देखिएको दाग क्यान्सर भएको पुष्टि भएपछि रेडियोथेरापी विधिबाट उनको उपचार गरिएको थियो। उनको पाँचपटकम्म थेरापी गरिएको थियो। उनी असार २ गते उपचारका लागि अमेरिका गएका हुन्। चिकित्सकको सल्लाहअनुसार स्वदेश फर्केका कोइराला तीन महिनापछि फेरि परीक्षणका लागि अमेरिका जानेछन्।

अमेरिकाको क्यान्सर उपचार विधिलाई राणाकालमा चारैतिरबाट घेरेर बाघ शिकार गरेको क्षणसँग तुलना गर्दै उनले भने, 'यो त राणाकालमा बाघ शिकार गरेजस्तै हुँदो रहेछ, पाँच–सात दिन त स्पट (दाग) पत्ता लगाउनै लाग्यो।'

उपचारमा संलग्न चिकित्सक करबीरनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आएको बताएका छन्। 'हामीले फोक्सोको क्यान्सर आशंका गरेका थियौं, अमेरिकामा पुष्टि भयो,' योगीले सञ्चारकर्मीसँग भने, 'उपचारपछि क्यान्सरको दाग ८० प्रतिशत निको भएको छ।' उनका अनुसार कोइराला 'कोर्निक ब्रोङ्काइटिस'बाट समेत पीडित रहेकाले चिकित्सकहरू शल्यक्रिया नगर्ने निष्कर्षमा पुगेका थिए। त्यही भएर रेडियोथेरापी विधिबाट उपचार गरिएको योगीले जनाए।

आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै कोइरालाले सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गर्ने बताएका छन्। तोकिएको मितिमा संविधान बन्दैन कि भन्नेमा शंका नगर्न आग्रह गर्दै उनले भने, 'कुनै हालतमा संविधान आउँछ, संविधान बन्दैन भन्ने कल्पनासमेत नगर्नुस्।'

उपचार क्रममा अमेरिकामा रहँदा समेत संविधानसभा र त्यसअन्तर्गतका समितिले संविधान निर्माणको काम अघि बढाइरहेको उनले उल्लेख गरे। 'अब म स्वस्थ्य भएर फर्कें, सबै दललाई साथमा लिएर संविधान निर्माणको काम पूरा गर्नुपर्छ,' उनले भने, 'नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा छिमेकी मुलुक भारत, चीनसहित अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता छ।'

प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषदबाट मनोनित गर्न बाँकी २६ सभासदका साथै राजदूत नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने जानकारी दिए। सत्तासाझेदार एमालेको नवौं महाधिवेशन र आफ्नो उपचारका कारण यी दुवैमा ढिलाइ भएको उनले बताए। 'तीन प्रमुख दलबीच ९, ८ र ४ जना सभासद सेयरिङ गर्ने सहमति भएको छ, यसलाई अघि बढाउँछु,' उनले भने।

कोइरालाले मुलुक विकासको चरणमा प्रवेश गरेको बताउँदै छिट्टै ठूलो लगानी भित्रिने दाबी पनि गरे। 'देशमा अब विकास हुन्छ, छिट्टै ठूलो लगानी आउँदैछ,' उनले भने, 'आठ/दस वर्षमा कायापलट हुनेछ।'
प्रधानमन्त्री कोइरालाले उपचार क्रममा अमेरिकामा रहँदा राष्ट्रसंघीय महासचिव वान कि मुनसँग भेट गरेका थिए। त्यस क्रममा नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र द्विपक्षीय हितबारे छलफल भएको कांग्रेसले जनाएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar