ब्राजिलमा जेठ २९ गतेबाट सुरु भएको विश्वकप फुटबल जारी छ। जित्ने आशा गरिएका कतिपय टिम सुरुवाती चरणमै बाहिरिसकेका छन्। सेमिफाइनल चरणको खेल पनि सकिएको छ। मन पराएको टिमले जित्दा यहाँका थुप्रै खेलप्रेमी खुसी भए भने हार्दा आफैं हारेझैं हतास। संसारका अन्य देशमा जस्तै नेपालमा पनि फुटबलको क्रेज बढ्दो छ। गाउँसहरमा जर्सीमा सजिएका फुटबलप्रेमीको रौनकले यसलाई पुष्टि गर्छ।ब्राजिलमा जारी खेलको समय नेपाली समयअनुकूल छैन। किनकि रातको १:४५ देखि पछिल्ला चरणका खेल भइरहेका छन्। तर, निद्रालाई जितेर पनि दर्शकहरू टिभीमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्दै आएका छन्। कतिपय दर्शकका टिमले जिते। कतिपयका टिमले हारे। समग्रमा नेपाली फ्यानहरूले मध्यरातको निद्रा गुमाए। यसको असर भोलिपल्टको दैनिकीमा देखा परेको छ।
करिब एक महिना लामो खेलका कारण कलेज जाने विद्यार्थी कक्षाकोठामा उँघ्न थालेका छन्। खेल सुरु भएयता कक्षामा आउने विद्यार्थीको संख्या नै घटेको नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजमका विद्यार्थी सुदिन रिमाल सुनाउँछन्।
रातभर फुटबल हेर्दा चालकहरूलाई गाडी चलाउन असजिलो भएको कतिपयको अनुभव छ। चालक कुमार खड्काले त बुधबार रातिको खेलका कारण बिहीबार गाडी चलाएनन् । 'रातभरि नसुतेपछि गाडी चलाउन समस्या पर्यो ,' उनले भने, 'बिहीबारको लागी साथीसँग सहयोग मागेँ।'
सरकारी कार्यलयका कतिपय कर्मचारीको अनुहारमा पनि फुटबलको असर देखिन्छ। चार वर्षमा आउने यस महाकुम्भले समग्रमा गाउँसहर अनिदोजस्तै बनाएको छ।
ब्राजिलको खेलमा जाग्राम
अभिनेत्री बेनिसा हमाल जारी विश्वकप फुटबलमा ब्राजिलियन टिमकी समर्थक हुन्। उनले रातको निद्रा माया मारेर भए पनि ब्राजिको कुनै खेल छुटाएकी छैनन्।
तर, ब्राजिल सेमिफाइनल चरणबाटै बाहिरियो। 'आफूले समर्थन गरेका टिमले हारे पनि बाँकी उत्साह घटेको छैन,' ब्राजिल–मोहबारे उनी भन्छिन्, 'दिउँसो सुतेरै भए पनि ब्राजिलको गेम हेर्न रात कुर्थें।'
ब्राजिल पराजित भए पनि मौका मिलेसम्म फाइनल खेल हेर्ने उनको धोको छ। 'अब कसैको पक्ष–विपक्षमा रहेर भन्दा पनि सामान्य दर्शकको रूपमा फुटबल हेर्नेछु,' उनले भनिन्, 'ब्राजिल रहुन्जेल म त उसकै समर्थक हो।' गोल्डेन गेट कलेजमा मास्टर्स दोस्रो वर्षमा अध्यनरत उनले मंगलबार राति ब्राजिल–जर्मनीको सेमिफाइनल खेल हेरेपछि बुधबारको कक्षा नै छुटाउनुपरेको सुनाइन्। 'निन्द्रा पनि बिग्रियो, कलेज जाने मूड नै भएन,' उनले भनिन्।
यसअघि ब्राजिल र चिलीसँगको खेल हेरेपछि उनको सुटिङसमेत केही प्रभावित बनेको रहेछ। 'बिहान ५ बजे नै सुटिङमा निस्कनुपर्ने थियो,' बाध्यता सुनाउँछिन्, 'खेलका कारण निद्रा पुगेकै थिएन। तर जानैपर्ने भयो।'
बेनिसाले आफ्नो फेसबुकको प्रोफाइल पिक्चरबाट विश्वकप उचालिरहेका नेइमारको तस्बिर अझैसम्म हटाएकी छैनन्। यसैले पुष्टि गर्छ, उनी नेइमारकी डाइहार्ड फ्यान हुन्। 'विश्वकप सुरु भएपछि नेइमारको फोटो अपलोड गरेकी थिएँ,' अलि दुःखी हुँदै भनिन्, 'सेमिफाइनलमा नेइमार खेल्न नपाउनु र ब्राजिल पराजित हुनुले नरमाइलो लागेको छ।'
क्लास छोडिन्छ, गेम छोडिन्न
वनस्थलीका सुदिन रिमाल नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजमका विद्यार्थी हुन्। मध्यरातमा हुने विश्वकप फुटबलका खेलले उनको दैनिकीसँगै पढाइसमेत प्रभावित बनेको छ। तर उनले खेल हेर्न छाडेका छैनन्।
'क्लास छोडिन्छ तर गेम छोडिन्न,' फुटबलका पारखी रिमालले भने, 'चार वर्षमा आउने उत्सवमा नरमाउने कुरै भएन।'
लिग चरणका खेल सामान्य रूपमा हेरे पनि प्रि–क्वाटर फाइनलदेखि भने नियमित र महत्वका साथ हेर्न थालेको उनले सुनाए। 'कतिपटक त कक्षामा पनि निदाइयो,' उनले भने, 'तर ममात्रै होइन, अन्य साथीभाइको हाल पनि उस्तै हो।'
फुटबल सुरु भएयता आधाजसो विद्यार्थी कक्षामा अनुपस्थित हुने गरेको सुदिन बताउँछन्। 'शिक्षकहरू नियमित आइरहेका छन्,' उनले भने, 'मेरै केही साथी त कक्षा आउनै छाडिसके।'
नेदरल्यान्डका प्रशंसक उनी हरेक टिमको खेल रमाइलो लाग्ने सुनाए। 'म कुनै देशको टिमको मात्रै फ्यान होइन फुटबलको पनि फ्यान हुँ,' उनी भन्छन्, 'त्यही भएर मलाई प्रत्यके खेल प्यारो लाग्छ।'
गाडी नै चलाइनँ
मध्यरातमा हुने खेलले सार्वजनिक यातायातका कर्मचारीको पनि दैनिकी प्रभावित बनाएको छ। कतिपय चालक रातभर फुटबल हेरेर दिनभर गाडी चलाउँछन् भने कतिपय साथीलाई पालो दिएर आराम लिने गरेको भेटिएको छ।
मूलपानी–नयाँ बानेश्वर रुटमा चल्ने बा२ख ९२३१ का चालक कुमार खड्काले बुधबार रातिको खेलका कारण बिहीबार गाडी नै चलाएनन्।
'मैले साथीलाई चलाउन लगाएँ,' उनले भने, 'रातभर निद्रा नपरेकाले बिहीबार सुतेर बिताएँ।' ठूलै असर नपरे पनि अनिदोमा गाडी चलाउनु जोखिम हुनेमा उनी सचेत रहेछन्। 'सकभर किन जोखिम मोल्ने भनेर आराम लिएँ,' उनले भने, 'केही बेर सुतेपछि चाहिँ चलाउन सकिन्छ।'
अर्जेन्टिनाका प्रशंसक उनी त्यही देशको जर्सीमा सजिएर गाडी हाक्नेमात्र होइन गाडीको दुवैतिर अर्जेन्टिनाको झन्डा नै फहराएका छन्। 'म त म्याराडोनादेखि मेसीसम्मको फ्यान,' उनले भने, 'मेरो टिम फाइनलमा पुगेको छ। फाइनल त झनै रमाइलोसँग हेरिन्छ।' आफ्नो काममा अनिदोले बाधा पुर्याइए पनि मन परेको टिमको खेल छुटाउनै नसकिने उनी बताउँछन्।
'खेल हेर तर निद्रा पुर्या ऊ'
फुटबल हेर्न रातभर जाग्राम रहने अनि दिनमा काम गर्दा स्वास्थ्यमा नकरात्मक असर पर्ने चिकित्सकको भनाइ छ। 'पूर्ण रूपमा आराम नपाउँदा शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ,' जनरल फिजिसियन ध्रुवप्रसाद सिंह भन्छन्, 'निरन्तर रूपमा यसो गर्दा बिरामी पर्ने सम्भावना हुन्छ।' अहिले रातभर अनिदो बस्नेहरूलाई भाइरलको समस्या हुन सक्ने उनी बताउँछन्। 'यो रौनकमा मध्यरातमा फुटबल नहेर्नुस् भन्दिनँ,' उनी सुझाउँछन्, 'तर फुटबल हेरेपछि जति समय मिल्छ आराम गर्नुस्।'
उनी पनि फुटबलको प्रशंसक हुन् तर निद्रा बिगारेर खेल नहेरेको सुनाउँछन्। 'निद्रा लागे सुतिदिन्छु र 'रिपिट' गेम हेर्छु,' उनले भने, 'निद्रा नलागेको समयमा लाइभ नै हेर्ने गरेको छु।'
खानपानजस्तै शरीरका लागि निद्रा पनि अत्यावश्यक रहेको उनको भनाइ छ। 'लामो समय निद्रा बिगार्नु ठिक होइन,' उनले भने, 'यसले टाउको दुख्ने, ज्वरो आउनेजस्ता समस्या आउन सक्छ।'
