काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी यादव अधिकारीले बिहीबार अपराह्न इन्डिगो एयरलाइन्सबाट सुन लिएर तीन भारतीय नागरिक नेपाल आउँदै गरेको सूचना पाए। एआईजी बढुवाको सिफारिसमा नपारेको भन्दै असन्तुष्ट भएर बिदामा बसेका अधिकारीले तत्काल विमानस्थल भन्सार कार्यालय र विमानस्थल प्रहरीलाई खबर गरे। इन्डिगो एयर अवतरण नहुँदै प्रहरी र भन्सार कार्यालयका कर्मचारी सुन बोकेर आएका व्यक्तिको पहिचान गर्न तयारी अवस्थामा थिए।ती भारतीयहरू थाइल्यान्डबाट नयाँ दिल्ली ट्रान्जिट हुँदै काठमाडौं आइरहेका थिए। विमान अवतरण गरेपछि निस्किएका यात्रुको ब्यागेज भन्सार कर्मचारीले जाँच्न थाले। निगरानी गरिरहेको प्रहरीले भारत महाराष्ट्रका भरत बजाज, ज्याकी दुधेजा र गिरीश वादवालाई नियन्त्रणमा लियो। लामो प्रयासपछि हुलियाअनुसारका व्यक्ति त नियन्त्रणमा लियो तर उनीहरूबाट केही फेला परेन। प्रहरीले सूचना दिने संयन्त्रमा फेरि सोध्यो। तीनै भारतीयसँग सुन भएको ठोकुवा गरेपछि फेरि खानतलासी ग:यो। त्यतिबेला पनि केही नभेटेपछि भारतीयहरू पार्किङस्थल तर्फ लागेका थिए।
टयाक्सी चढ्न पार्किङस्थल पुगिसकेका उनीहरूलाई पुन: पक्राउ गर्न अधिकारीले निर्देशन दिएपछि ती फेरि पक्राउ परे। जिउ र झोला जाँच गर्दा केही नपाएपछि अप्ठ्रोमा परेको प्रहरीले उनीहरूलाई एक्सरेका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल पु:यायो। अस्पतालका प्राविधिकले एक्सरेको तयारी गरेपछि मात्रै उनीहरूले आफूहरूको गुदद्वारमा सुन भएको बताएका थिए। मलद्वारमा सुन कोचेर राखेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पुन: विमानस्थलमै लग्यो। भन्सार कार्यालय र प्रहरीले अस्पतालमै सुन निकाल्ने अडान लिएपछि पुन: अस्पताल लगियो र सुन निकालियो। प्रहरीले उनीहरूको गुदद्वारबाट एक किलो सात सय ८४ ग्राम सुन निकाल्यो। विमानस्थल प्रहरी उपरीक्षक रामकृपाल शाहले पक्राउ परेका तीनैजनालाई भन्सार कार्यालयमा बुझाइएको बताए।
