
सामान्यभन्दा सामान्य काम गर्न पनि मालपोत कार्यालय कर्मचारी र लेखापढी कर्मचारीलाई ‘घूस’ खुवाउनुपरेको गुनासो उनीहरुको छ । उनीहरुले घूस दिँदा छिटो र नदिँदा ढिलो काम हुने रोग अझै पनि जिल्ला मालपोत कार्यालयमा रहेको जिकिर गरे । ‘लालपुर्जा पाउनलाई २५ रुपैयाँ दस्तुर तिर्नुपर्छ,’ भरतपुर १० का बालकृष्ण सुवेदीले भने, ‘तर तोकिएको शुल्क दिए भोली आउनूस भन्छ, १ सय रुपैयाँ दिए तुरुन्तै दिन्छ,’ कारोबारमा खबर छ ।
अर्का सहभागी अग्नि पनेरुले लेखापढी कर्मचारीसँगको मिलेमतोमा मालपोतका कर्मचारीले घूस खाने गरेको दाबी गरे । ‘एउटा साथीसँग गएको थिए,’ उनले अनुभव सुनाए
‘पहिले पास गर्न नमिल्ने भनेको लिखत लेखापढी कर्मचारीलाई २ हजार दिएपछि कर्मचारीले तुरुन्तै पास गरिदियो ।’ मालपोतभित्रैका घुस्याहा कर्मचारीको पहिचान गरी यस्तो रोग निको पार्नुपर्ने उनले बताए ।
तर, मालापोत अधिकृत गुरुदत्त सुवेदीले भने घूसको आरोप मिथ्या भएको प्रतिक्रिया दिए । ‘आरोप लगाउन सजिलो छ,’ उनले भने, ‘तर फलानो कर्मचारीले घूस मागे भनेर गुनासो गर्ने कोही छैनन् ।’ उनले घूस लिने र दिने दुवैलाई कारबाही गर्नुपर्ने बताए ।