- ' दोषीलाई छाडिन्नः प्रहरी '
भैरहवा, बैशाख २२ – समग्र मुलुकमा नै पेट्रोलियम पदार्थको हाहाकार भै रहेको समयमा भैरहवा क्षेत्रमा भएको तेल चोरी घटनाको निहुँ पारेर पेट्रोलियम ढुवानीसँग सम्बन्धित संगठनहरुको चेतावनीको कारण नेपालमा झन् समस्या बढ्ने देखिएको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ केन्द्रिय कार्यालय र पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ प्रधान कार्यालय भलवारीद्वारा भैरहवा क्षेत्रमा रहेका तेल चारी घटनाका आरोपी ब्यावसायीहरु माथिको धरपकड तत्काल नरोके देश भरि पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । दुवै संगठनले अलग–अलग प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरीद्वारा व्यवसायीहरु माथि भएको धरपकडको बिरोध गर्दै यस्तो चेतावनी दिएका हुन । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा भैरहवा क्षेत्रमा स्थानिय प्रशासन द्धारा व्यवसायीहरु माथि भइरहेको धरपकडको कारण ब्यवसायीहरु आतंकित भएको र व्यवसाय गर्न कठिनाई भएको जनाउँदै व्यवसायीहरुलाई जारी भएको पक्राउ पूर्जि तत्काल खारेज गर्न माग गरेको छ । निगमबाट पिडिओ लग अनुसारको परिमाण बुझाउनु पर्ने दायित्व ट्याङ्कर संचालकको रहने र सो दायित्व संचालकले सदैव पूरा गरेको भन्दै बाटोमा हुने अवैध गतिविधिको जिम्मेवार नहुने बताएको छ । महासंघले ट्याङ्कर धनीहरुलाई चोख्याउन खोजेको आरोपसमेत लगाएको छ ।
भारतको बेतालपुरदेखि नेपालको भलवारीसम्म तेल पुरयाउने जिम्मा चालकको र चेकजाँचको जिम्मा निगमका कर्मचारीहरुको भएको भन्दै दुवै संगठनले सबै दोष ट्याङ्कर चालकहरु र कर्मचारीहरुमाथि थोपरेका छन् । नेपाल र भारतमा पेट्रोलियम पदार्थको मूल्य सँधै फरक पर्ने र कमसल तेल नेपाल भित्रिन सक्ने सम्भावना रहेको हुँदा भन्सार बिन्दुमानै गुणस्तर र परिमाण चेकजाच परिक्षण गरेर मात्र नेपाल ल्याउनु पर्ने सुझाव महासंघले पटक–पटक दिँदै आएकोमा सरकारले हालसम्म ठोस कदम नचालेकोले सँधै परिमाण तथा गुणस्तरमा विवादमा रहँदै आएको जारी विज्ञप्तिमा जनाइएको छ । यसै गरि पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले आफुहरुले सँधै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्य गर्दै आएको दावी गरेको छ । संघका सचिव भुपराज अर्यालद्धारा जारी बिज्ञप्तीमा सञ्चारजगतले ब्यावसायीहरुको चरित्र हत्या गरेको बताएको छ । केही चालकको लापारवाहीको कारण निगमले एक तर्फि रुपमा सवारी साधनको ढुवानी सम्झौता खारेज गरेकोमा पनि आपत्ति जनाएको छ । यता रुपन्देही प्रहरी प्रमुख एसपी बिक्रम सिंह थापाले आफुले कुनै पनि हालतमा तेल चोरी घटनामा संलग्न ब्यक्तिहरुलाई कुनै पनि हालतमा नछोडिने बताए । टैंकर चालक र सहचालकहरुको बयानका आधारमा नै आफले टैंकर धनि समेत चोरी कार्यमा संलग्न दखिएको उनको दावी छ ।
घटनामा संलग्न जो भए पनि कार्यवाहीको दायरामा ल्याई छाडने उनले बताए । घटनाका संलग्नता देखिएको भन्दै प्रहरीले आईतबार साझ नेपाल आयल निगमका अधिकृत स्तरकार दुई कर्मचारी रविन्द्र कुमार राउत र दिपेन्द्र बस्न्यातलाई पक्राउ गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापाले तेल माफिया तथा चोरहरु जहाँ जस्तोसुकै अवश्थामा पानी मुनि लुकेरै बसेपनि उनीहरुलाई पक्राउ गरेर कानुनी कार्यवाही दायरामा ल्यारै छाड्ने दावी गरे ।
उनले भने “पक्राउ गर्नका लागि हामी प्रहरी परिचालन गरिसकेका छौ । डिजल माफियाहरुले टैंकरमा लगाएको सिल कसरी तोडे भन्ने बारे अनुसन्धान जारी छ । उनले भने चोरी गर्ने विषयमा यदि कोही सरकारी कर्मचारीको संग्लनता छ भने त्यसको मतियारमा ल्याएर उसलाई पनि कार्यवाही गरेरै छाड्छ् ।” प्रहरीले यिनिहरुमाथी चोरीको मुद्दा चलाएको छ ।
अभियोग प्रमाणित भए बिगो बमोमि जरिवाना र २ बर्ष सम्मका कैद हुने कानुनी प्रावधान रहेको थापाले बताए । गएको १६ गते राष्ट्रिय सर्तकता केन्द्रले सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा प्रहरी र राष्ट्रिय सर्तकता केन्दको संयुक्त टोलीले रुपन्देहीको पड्सरी र मधवलियामा अन्डर ग्राउण्ड गरी राखिएको अन्दाजी १७ हजार लिटर भन्दा बढी पोट्लिियम पदार्थ बरामद चोरी गरि रहेको अवश्थामा रङ्गे हाथ पक्राउ गरेको थियो ।