४ जेठ, काठमाडौं । वर्ष दिनसम्म निरन्तर सफाइ गर्दा पनि गन्हाउन नछोडेको शान्तिनगरस्थित वागमती पुलमाथि सेतै कपाल र दाह्री फूलेका वृद्ध खुट्टो खोच्याउँदै हिँडिरहेका छन् । सडक विभागबाट प्राप्त गुलाबी रंगको टोपी र हाफ ज्याकेट लाएका उनले हातमा साबेल बोकेका छन् । कपाल फूलेर सेताम्मे भए पनि उनले लगाएको पोशाकले उनी अहिले पनि सडक विभागमा कार्यरत रहेको प्रष्टै देखिन्छ ।
हतारमा रहेका उनलाई बाटैमा रोकेर सोधियो । ‘यति हतार गर्दै कता जाँदै हुनुहुन्छ ?’ उत्तरमा उनले भने, ‘सडक बढार्न ढिला भइसक्यो, साथीहरुले छोडिसके, सडक बढार्न कुद्दैछु ।’ दाहिने खुट्टो खोच्याउँदै कुदिरहेका उनी उमेरले ५८ लागिसकेका छन् । यो उमेर भनेको निजामति कर्मचारीले अवकाश लिने बेला हो । अरुले अवकाश पाएर आराम गर्ने उमेरमा उनलाई भने दिनैपिच्छे सडक बढार्ने हतारोले अझै छोडेको छैन ।
झ्याइँझ्याँइ बिहे गरेर भित्र्याएकी पत्नीको मृत्युभएपछि बिरक्तिएर ०३८ सालमा काठमाडौं छिरेका उनले बैंशालु उमेर काठमाडौंमा यसैगरी भौतारिँदै बिताइसकेका कृष्णप्रसाद आचार्यले सडकका धुलो र फोहोर बढार्न थालेको १३ वर्ष भइसकेछ । काठमाडौंको तीनकुनेदेखि भक्तपुर जोड्ने मनहरा पुलसम्मको धुलो बढार्ने जिम्मा पाएका उनी अहिले पनि बैंशको जस्तै बल निकाल्दै सडकमा कुच्चो र साबेल नचाउँछन् । हातमा साबेल बोकेका उनी सडक विभागका करारमा नियुक्त कर्मचारी हुन् ।
‘सडक बढार्दै बुढो भइसकेँ, गरी खाने अरु मेलो केही छैन, हातखुट्टा चलुन्जेल यही काम गर्छु’, कृष्णप्रसादले सुनाए, ‘यो काम पनि छोडेमा परिवार कसरी पाल्नु ?, छोराछोरी कसरी पढाउनु ?’ कपनमा टाटीले बारेको छाप्रो हालेका उनी अन्य ३० जना साथीहरुसँगै सडकमा होस्टेमा हैंसे गर्न बिहान ७ बजे नै निस्कन्छन् । काठमाडौंको सडकको धुलो बढार्नबाट कहिले फुर्सद मिल्छ भने विहानै ७ बजे काठमाडौंको सडक बढार्न निस्कन्छन् । ‘विहान घरबाट निस्केपछि दिनभरि सडकको धुलो बढारी आफू पनि धुलैसरी भएर घर पुग्छु’, कृष्णप्रसाद भन्छन्, ‘सडक विभागले मासिक ११ हजार ६ सय ८२ रुपैयाँ दिन्छ, त्यसैले काठमाडौंमा दुःखका साथ परिवार पालेको छु ।’
कृष्णप्रसादले काठमाडौंमै आएर दोस्रो विहे गरेपछि दुई छोरा र एक छोरी जन्मे । सबै छोराछोरीले उच्च शिक्षा पढिरहेका छन् । सडक विभागमा १३ वर्षअघि सडक सफाईका लागि करारमा नियुक्त उनले अवकाश पाउँदा खाली हात र्फकनुपर्छ । ‘हातखुट्टा लागुन्जेल र आँखाले देखुन्जेल सडक बढार्छु, नसकेका दिन खाली हात घर र्फकने हो’, कृष्णप्रसादले सुनाए, ‘हाम्रो जागिरै करारको भएकाले सडक विभागले हामीलाई तलब बाहेक केही
दिँदैन ।’
सडक बढार्ने काम पाउनुअघि आफ्नो बैंशालु उमेर कृष्णप्रसादले काठमाडौंका गलैंचा कारखानामा धागो सुकाउँदै गुजारे । ‘कतै जाँदा पनि परिवार पाल्नै सकिन, जता गए पनि थोरै पैसा दिएर शोषण गर्नेमात्र भेटिए’, उनले भने, ‘सडक विभागमा आएपछि भने करारको भएपनि दीगो जागिर भेट्टाएँ, यहाँबाट पनि विदा हुँदा खाली हात जानुपर्छ ।’
छोराछोरी हुर्किनसकेकाले आफ्नो हातपाउ बसेमा कसरी परिवार पाल्ने कृष्णप्रसादलाई चिन्ता परेको छ । भर्खर उच्च शिक्षा शुरु गरेका छोराछोरीलाई पढाएर राम्रो जागिर खाएको देख्न चहान्छन्, उनी । ‘हातपाउ नबसुन्जेल त पालौंला, त्यसपछि के गर्ने, सबैतिर अध्याँरो देख्दैछु’, कृष्णप्रसादले भने, ‘छोराछोरीलाई पढाउनजेल हातपाउ नबसुन् भनेको अहिल्यै धेरै हिँड्दा खुट्टो खोच्याउनुपरेको छ ।’
सुरक्षा केही छैन
विश्वकै प्रदुषित सहरको सूचीमा रहेको काठमाडौंको सडक बढार्ने कृष्णप्रसाद जस्ता मजदुरले सुरक्षाका कुनै विधि प्रयोग नगरी सडक बढारिरहेका छन् । मुख छोप्ने एउटा मास्कबाहेक उनीहरुलाई धुलो र धुवाँबाट बच्ने अरु सामग्री दिइएको छैन । ’हामीले आफैं किनेर मास्क लगाएका छौं, धुलो बढार्दा जोगिने अरु केही पाएका छैनौ’, कृष्णप्रसाद भन्छन्, ‘जति धुलो उडे पनि सफाइको जिम्मा पाएपछि गर्दिन भन्न मिलेन, आफूलाई रोगी बनाएर भएपनि बढारिरहेका छौं ।’
स्वास्थ्यलाई सिधै जोखिममा पार्ने काम गरेका उनीहरुको जीवन वीमा पनि गरिएको छैन । श्वासप्रश्वास र फोक्सो रोगको उच्च जोखिमयुक्त काम गर्ने उनीहरु आफू विरामी भएर पनि सहरलाई स्वस्थ बनाउन निरन्तर लागिरहेका छन् ।
उनीसँगै सडक बढार्न हिँडेकी ४० वषर्ीया धनमाया खत्रीको पनि पीडा उस्तै छ । दोलखाको डाँडाखर्कबाट ०५८ सालमा काठमाडौं छिरेकी उनी सडक बढार्दा पटक पटक बिरामी भएको बताउँछिन् । ‘सडक बढार्दा धुलो र धुवाँले पटक-पटक बिरामी हुन्छौं, विरामी हुँदा आफैंले उपचार गर्नुपर्छ’, खत्रीले भनिन्, ‘धुलो धुवाँसँग लड्ने हामीलाई उपचारका लागि केही सुविधा सरकारले दिए राहत हुने थियो ।’
काठमाडौंका मानिस असभ्य
डेढ दशक सयम काठमाडौंको सडक बढारेर बिताएका कृष्णप्रसाद आचार्य काठमाडौंका मानिसलाई फोहोरी भन्छन् । ०६३ सालदेखि काठमाडौंको धुलो र फोहोर बढारिरहेकी धनमाया खत्रीलाई राजधानीका मान्छे साह्रै असभ्य लाग्छ । ’मैले सडक बढार्न थालेको १३ वर्ष भइसक्यो, यो १३ वर्षमा यहाँका बासिन्दाको सोचमा कुनै परिवर्तन भएको पाइन’, कृष्णप्रसाद भन्छन्, ‘दिनभर सडक बढारेर सफा बनाएर फक्र्यो, भोलिपल्ट आउँदा जथाभावी मनपरि फोहोर फालिएको हुन्छ, अहिले पनि त्यही ब्यहोरा काठमाडौंबासीले देखाइरहेका छन् ।’
धनमायालाई पनि यहाँका बासिन्दाको व्यबहार देखेर दिक्क लागेको रहेछ । ‘अघिल्लो दिन बढारेर टल्काएर गयो, भोलिपल्ट आउँदा सडक भरी दिसा, भात र अन्य फोहोर थुपारिदिन्छन्’, धनमाया भन्छिन्, ‘देशको राजधानीमा बस्नेहरु गाउँका भन्दा फोहोरी छन्, घरमात्रै सफा राख्छन् अनि सडकभरि फोहोर थुपार्ने यिनीहरु साहै्र असभ्य छन् ।’
fb