२२ बैशाख, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । धादिङको जोगीमारा, चितवनको फिसलिङ तथा मुङलिन-नारायणघाटअन्तर्गत राजमार्गको जुगेडीसडकखण्डमा आज बिहान पहिरो गएपछि सो मार्ग भएर काठमाडौँ भित्रिने सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।उनले काठमाडौँबाट बाहिरिने गाडी जोगीमारामा तथा बाहिरबाट काठमाडौँ आउने सवारी साधन जुगेडीमा अवरुद्ध भइरहेको बताउँदै पहिरो पन्छाउने कार्य जारी रहेकाले केही समयपछि एकतर्फी भए सवारी साधन सुचारु गरिने बताए । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी नायब निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले त्यस क्षेत्रमा ठूलो पहिरो गएकाले सडक अवरुद्ध भई यातायात सुचारु हुन नसकेको बताए । पृथ्वी राजमार्ग हुँदै दैनिक करिब चार हजार सवारी साधनबाट करिब १२ हजार यात्रु आवतजावत गर्ने गर्छन् । रासस
