Headlines News :
fb
Home » » यसरी हुँदैछ पत्रकारको चुनावी भीडन्त

यसरी हुँदैछ पत्रकारको चुनावी भीडन्त

 २० बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आजबाट सुरु भएको छ । नयाँ नेतृत्व लिनका लागि वाम पत्रकारका चारवटा संगठनले चौतारीका महेन्द्र विष्टलाई अध्यक्षमा उठाएका
छन् भने प्रजातान्त्रिक धारका तर्फबाट पोषण केसीको नेतृत्वमा पत्रकारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
महासंघको चुनाव कसले जित्ला भन्ने जोड घटाऊ सुरु भएको छ । एमाले, एकीकृत माओवादी, नेकप-माओवादी र राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संयुक्त प्यानलसँग कांग्रेस निकट प्रेस युनियनका उम्मेद्वाररुहले प्रतिस्पर्धा गर्नुपर्ने भए पनि कसले चुनाव जित्छ भनेर आँकलन गर्न निकै कठिन छ ।
प्रेस चौतारीले चुनावी प्रतिस्पर्धा युनियनलाई जित्ने रणनीति अनुरुप तीनवटा वामपन्थी संगठनहरुसँग गठबन्धन गरेको हो । चारवटा संगठनको चुनावी गठबन्धनले युनियनलाई सजिलै पराजित गर्ने दाबीसहित चारवटै संगठनका उम्मेदवारहरु चुनावी प्रचारमा ब्यस्त छन् । युनियन पनि महासंघमा विगतको विरासत फर्काउन लागिपरेको छ ।

स्थापना भएदेखि नै पत्रकार महासंघमा एकछत्र नेतृत्व गर्दै आएको युनियनलाई शिव गाउँलेको नेतृत्वमा तोडेको चौतारी र क्रान्तिकारीले यसपटक पनि नेतृत्व लिने तयारीका साथ अन्य संगठनसँग गठबन्धन गरेको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक गगन विष्टको भनाइ छ ।

यस्तो छ युनियनका केसीको प्यानल

नेपाल प्रेस युनियन भने नेपाल पत्रकार महासंघको नेतृत्वका लागि पोषण केसीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । युनियनले पत्रकार महासंघको उपाध्यक्षमा आफ्ना तर्फबाट रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु र महासचिवमा वर्तमान सचिव जगत नेपाललाई उठाएको छ ।
यसैगरी सचिवमा दिलिप थापामगर, एसोसिएट सचिवमा प्रकाश थापा, महिला सचिवमा बसुन्धरा गौतम र समावेशी सचिवमा गोविन्द परियार तथा कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ ।
अध्यक्षका उम्मेदवार पोषण पत्रकार महासंघको पूर्व महासचिव हुन् । उनले धर्मेन्द्र झा पत्रकार महासंघको अध्यक्ष हुँदा महासचिवको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् भने अघिल्लो अधिवेशनमा प्रेस युनियनभित्रैवाट केदार कोइराला उनीविरुद्ध बाघी उठेपछि चौतारीका उम्मेदवार शीव गाउँलेसँग थोरै मतले हारेका थिए । त्यसैले पनि केसीलाई बलिया उम्मेदवारको रुपमा लिइएको छ ।

यस्तै उपाध्यक्षका उम्मेदवार दाहाल हिमाल खबर पत्रिकामा आबद्ध छन् भने यसअघि अघिल्लो अधिवेशनमा ओम शर्मासँग दुई मतलेमात्रै पराजित भएका थिए । अर्की उपाध्यक्षकी उम्मेदवार अनिता विन्दु प्रेस युनियनकी उपाध्यक्षसमेत हुन् भने नेपाल टेलिभिजनकी समाचार बाचिका हुन् ।

यस्तै महासचिवका उम्मेदवार वर्तमान सचिव जगत नेपाल निकै बलिया उम्मेदवारका रुपमा उभिएका छन् । उनी कान्तिपुर टेलिभिजनसँग आबद्ध छन् । अघिल्लो अधिवेशनमा सिंगो युनियन पराजित हुँदा नेपाल सचिवमा निर्वाचित भएका थिए । नेपाल निकै मिलनसार र स्वच्छ छविका पत्रकारका रुपमा परिचित छन् । यस्तै सचिवका उम्मेदवार दिलिप थापा मगर पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य हुन् भने एसोसिएट सचिवका उम्मेदवार प्रकाश थापा पनि केन्द्रीय सदस्य हुन् ।

यस्तै महिला सचिवकी उम्मेदवार बसुन्धरा गौतम बीबीसी नेपाली सेवामा कार्यरत छिन् । यस्तै कोषाध्यक्षका उम्मेदवार राजेश मिश्र भने कान्तिपुर पब्लिकेशनमा आबद्ध छन् । उता लेखा समितिको संयोजकका उम्मेदवार प्रदीप चापागाईं आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष हुन् । उनी नेपाल टेलिभिजनसँग आबद्ध छन् ।

यस्तो छ विष्टको प्यानल

चारवटा प्रगतिशील गठबन्धनका तर्फबाट अध्यक्षका लागि प्रेस चौतारीका डा. महेन्द्र विष्ट उम्मेदवार छन् । एक कार्यकाल पत्रकार महासंघको महासचिवको जिम्मेवारी पूरा गरिसकेका विष्ट दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाल इमेज टेलिभिजनमा आवद्ध विष्टसँग दैनिक पत्रिका तथा अन्य सञ्चारमाध्यममा काम गरेको लामो अनुभव छ ।

एकीकृत माओवादीनिकट क्रान्तिकारी पत्रकार संघको तर्फबाट उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजिर मगर र महिला सचिवमा संगीता खड्का चुनावी मैदानमा छन् । उपाध्यक्षका लागि प्रगतिशील गठबन्धनले अघि सारेका भण्डारी जनादेश साप्ताहिकबाट युद्दकालिन सम्वाददाता हुँदै हाल समावेशी मासिकका सम्पादक छन् । यसअघि उनले नेपाल टेलिभिजन बहस कार्यक्रम सञ्चालन गरेका थिए ।
क्रान्तिकारीको कोटाबाट महासचिवका उम्मेदवार बनेका उजीर मगर माओवादी पत्रकार भने होइनन् । नागरिक दैनिकमा कार्यरत उनी व्यवसायिक पत्रकार हुन् । बाग्लुङ घरमा भएका मगर बैचारिक रुपमा भने यसअघि चित्रबहादुर केसीनिकट थिए । हाँक साप्ताहिक हुँदै पत्रकारितामा आएका मगरले यसअघि कान्तिपुर दैनिकमा समेत काम गरिसकेका छन् । उनी महासंघको निवर्तमान नेतृत्वमा समेत छन् ।

सचिवकी उम्मेदवार संगीता खड्का पनि युद्धकालीन सम्वाददाता हुन् । द्वन्द्वकालमा जनआहृवान साप्ताहिकबाट ०५७ सालमा पत्रकारिता थालेकी भण्डारीले एक वर्ष जेल जीवन पनि भोगेकी छन् । उनीसँग जनादेश साप्ताहिकमा सम्वाददाता हुँदै सह-सम्पादकको भूमिका र रेडियो नेपालमा घटना र विचार कार्यक्रम चलाएको पनि अनुभव छ । हाम्रो संसार महिला म्यागेजिन प्रकाशित गरिरहेकी खड्का निवर्तमान कार्य समितिमा महासंघकी केन्दि्रय सदस्य पनि हुन् ।

समावेशीतर्फबाट उपाध्यक्षका लागि चौतारीबाट उम्मेदवारी दिएका वीरगञ्ज निवासी महेश दास २०५० देखि पत्रकारितामा क्रियाशील छन् । दृष्टि र घटनाविचार साप्ताहिकबाट काम थालेका उनीसँग टेलिभिजन, दैनिक पत्रिका र एफएममा काम गरेको अनुभव छ ।

गोरखापत्र संस्थानका सञ्चालक समितिका सदस्य समेत भइसकेका दास आफैंले वीरगञ्जमा भोजपुरी एफएम सञ्चालन गरिरहेका छन् । निवर्तमान कार्य समितिमा केन्द्रीय सदस्य तथा मध्यमाञ्चल संयोजक रहेका दासलाई समावेशी कोटाबाट उपाध्यक्षका लागि प्रगतिशील समूहले चुनावी मैदानमा उतारेको हो ।
प्रगतिशील समूहले कोषध्यक्षमा उठाएका प्रेस चौतारीका सूर्यमणि गौतमको उम्मेद्वारी घोषणा भएको छ । सुर्खेतबाट पत्रकारिता गरिरहेका गौतम निवर्तमान कार्य समितिमा केन्दि्रय सदस्य तथा मध्यपश्चिमाञ्चल संयोजक छन् । गौतमले महासंघको बैठकमा आउँदा प्राप्त हुने भत्ता मृगौला रोगीको उपचारका लागि सहयोग गरेर चर्चा कमाएका थिए ।

निवर्तमान कार्य समितिमा केन्द्रीय सदस्य रहेका प्रभात चलाउने क्रान्तिकारी पत्रकार संघको तर्फबाट खुलातर्फको सचिव पदका लागि चुनावी मैदानमा छन् । जाजरकोट घर भएका चलाउनेले ०५५ सालमाट जनादेश साप्ताहिकबाट पत्रकारिता थालेका हुन् ।

जनदिशा दैनिकमा०५८ बाट काम गरेका उनले ०५९ सालमा काठमाडौंबाट गिरफ्तारीमा परेर एक वर्ष जेल जीवन बिताएका थिए । बैचारिक रुपमा उनी नेकपा-माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघसँग आवद्ध छन् । उनी क्रान्तिकारी महासंघका केन्द्रीय सचिवालय सदस्य रहेका छन् । दैनिक, साप्ताहिक र मासिक पत्रिकामा सम्वाददाता तथा सम्पादकसम्म बनेका चलाउनेले पछिल्लो पटक नयाँ जनदिशा साप्ताहिकको कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए ।

पञ्चायतकालमा माध्यम साप्ताहिकबाट पत्रकारिता थालेका धनुषाको जनकपुरधाम घर भएका धर्मेन्द्र कर्णलाई प्रगतिशील समूहले समावेशी सचिवको उम्मेदवार बनाएको छ । नेकपा-माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघका सचिवालय सदस्य कर्णले काठमााडौं प्रवेश गरेर ०५६ बाट हिमालय टाइम्स दैनिकमा काम गरे । त्यसपछि एचबीसी एफएम हुँदै नेपाल वान टेलिभिजनको समाचार प्रमुख पनि बनेका कर्ण हाल कारोबार दैनिकसँगस सम्वद्ध छन् ।

राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघले खुल्लातर्फको केन्द्रीय सदस्य पाएको छ । प्रगतिशील पत्रकार संघबाट खुल्लातर्फको सदस्यमा दीपेन्द्र कुँवरको उम्मेद्वारी घोषणा भएको छ । एशोसिएट तर्फबाट विष्टको प्यानलमा छत्र शंकर केन्द्रीय सदस्यका उम्मेद्वार छन् ।
चारवटा प्रगतिशील पत्रकारका संगठनहरुका तर्फबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका उम्मेदवारहरुमा व्यसायिक पत्रकारहरुलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।

महासंघको केन्दि्रय सदस्यका लागि महिला सदस्यहरुमा पवनवर्षा साह, सरिता ढकाल र निलिफा सुब्बा चुनावी मैदानमा उत्रेका छन् । त्यसैगरी जनजातिबाट केन्द्रीय सदस्यका लागि मोहनसिंह लामा र लक्की चौधरीको उम्मेदवारी घोषणा भएको छ । मधेसी कोटाबाट केन्द्रीय सदस्यमा बेचु गौड र अजयकुमार मिश्र चुनावीमा मैदानमा छन् । दलितबाट किसन संगीत नेपाली र कमल परियारको उम्मेदवारी घोषणा भएको छ ।
प्रगतिशील समूहले पूर्वाञ्चलबाट गणेश पोखरेल र गणेश लम्साललाई उम्मेदवार बनाएको छ । मध्यमाञ्चलबाट चिरञ्जिवी मास्के र सुनील खड्का केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् ।
उपत्यकाबाट केन्द्रीय सदस्यका लागि इश्वरी वाग्ले र रामहरि सिलवालको उम्मेदवारी घोषणा भएको
छ । प्रतिष्ठानबाट सुरज आचार्य र रोशन पुरीको उम्मेदवारी चारवटा संगठनले सार्वजनिक गरेका छन् ।
पश्मिाञ्चल क्षेत्रबाट केन्द्रीय सदस्यका लागि रुद्र भट्ट र हरिनारायण गौतमको उम्मेदवारी घोषणा भएको छ । मध्यपश्चिमाञ्चलबाट केन्दि्रय सदस्यमा झलक गैरे र अजयदेव शर्मा चुनावी मैदानमा उत्रेका छन् । त्यसैगरी सुदूरपश्चिमाञ्चल खगेन्द्र पन्त र प्रकाशविक्रम शाह केन्दि्रय सदस्यका लागि लड्ने भएका हुन् ।
कर्णालीबाट केन्द्रीय सदस्यका लागि नवराज महतराको उम्मेदवारी घोषणा भएको छ । अपांगबाट केन्द्रीय सदस्यका लागि भवानी ऐरको उम्मेदवारी घोषणा गरिएको छ । अल्पसंख्यकबाट सदस्य अब्दुल्लाह मियाँलाई टिकट दिइएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar