- ११ जना नेताद्वारा पदमा नबस्ने घाेषणा
२३ बैशाख, बिराटनगर । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई सहित उनीपक्षका सबै नेताहरूले बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् । बन्दशत्रबाट बाहिरिने क्रममा डा. भट्टराईले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए ।
बन्दशत्रमा के भने भट्टराईले ?
बन्दसत्रमा बोल्ले क्रममा डा. भट्टराईले फरक र जिम्मेवारी दिने भन्दा पनि शंका गर्ने, जिम्मेवारी नदिने र निषेध गरेर अघि बढ्न खोज्ने सिस्टम हाम्रो पार्टीमा बस्यो भन्दै गुनासो गरेका थिए । ‘ अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समितिको नामावलीमा मलाई पनि पारिदिनुभएकोमा उहाँलाई धन्यवाद’ बन्दसत्रमा डा. भट्टराईले भने-’तर, नामावलीको सूचीबाट मलाई हटाउन उहाँलाई अनुरोध गर्छु ।’ भट्टराईले बैठकमा भने- म केन्द्रीय समितिमा नरहे पनि आन्दोलन, क्रान्ति र पार्टीमै हुनेछु । यो कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग हो ।’ बन्दसत्रलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि करिव ११ मिनेट बोलेका भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेका हुन् । भट्टराई बोलेपछि उनीनिकट नेता टोपवहादुर रायमाझीले बन्दसत्रमा आफ्नो कुरा राख्दै अाफू पनि पदमा नबसी बाहिरैबाट पार्टीलाई सहयाेग गर्ने बताएका थिए ।
क-कसले गरे केन्द्रीय समितिमा नबस्ने घोषणा ?
नेता डा. बाबुराम भट्टराई र टोपबहादुर रायमाझीले पार्टीको केन्द्रीय समितिमा नबस्ने अाैपचािरक घोषणा गरेका छन् । विराटनगरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा बोल्दै भट्टराई रायमाझीले पदमा नबस्ने घोषणा गरे । बाबुराम र टोपबहादुरले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि बाबुराम समूहका नेताहरु प्रभु साह, हिसिला यमी, देवेन्द्र पौडेल, वलावती शर्मा, कुमार पौडेल, गंगा श्रेष्ठ, हेमराज भण्डारी, देवी खड्का लगायतका नेताले पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनीहरुको घोषणा स्वीकृत भएको र नाम हटाएर हलमा प्रस्तुत भएको प्यानल एकतर्फी रुपमा पारित भएको सहभागी एक नेताले जानकारी दिएका छन् । पदमा नबस्ने घोषणा गरेका नेताहरु सम्मेलन छाडेर हिँडेका छन् ।