- पानीमा ढल मिसिएकाले जन्डिसको प्रकोप
काठमाडौ विराटनगर, वैशाख २७ - तीन सातादेखि फैलिएको जन्डिसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको विराटनगर, १ को भारतीय अस्पतालमा र एकको काठमाडौ उपचारको लागि ल्याइदै गर्दा मृत्यु भएको हो । भारतमा उपचार गराउन गएकाको यकिन तथ्यांक नभएकाले मृतक संख्या अझै बढी हुन सक्ने अनुमान छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी त्यसको पुष्टि गरेको हो ।
महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले प्रकोपबाट स्थानीय नोबेल र विराट अस्पतालमा २/२, ग्रीनक्रसमा १, काठमाडौं मेडिकल कलेज र भारतमा १/१ जनाको मृत्यु भएको जानकारी दिए ।
स्थानीय सरकारी र निजी अस्पतालमा शुक्रबारसम्म १ हजार १ सय २७ जना उपचाररत रहेको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए । उनका अनुसार काठमाडौं र भारतका विभिन्न सहरमा उपचारका लागि जानेको संख्या निकै छ । प्रकोप नियन्त्रणका लागि बिहीबार आएको डा. मरासिनी नेतृत्वको विशेषज्ञ टोलीले अस्पतालहरूमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको छ । 'हेपाटाइटिस ई को भाइरस शरीरमा प्रवेश गरेको १४ देखि ६० दिनसम्म असर गर्ने भएकाले अझै केही दिन बिरामीको चाप रहनेछ,' मरासिनीले भने । शारीरिक अवस्था कमजोर भएका र गर्भवतीमा बढी संक्रमण फैलिने गरेकोे उनले बताए ।
शुक्रबारमात्र कोसी अञ्चल अस्पतालको बहिरंग विभागमा ४४ जना बिरामी आएको डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार आईसीयूमा रहेका २ समेत गरी २४ जना भर्ना छन् । नोबेल अस्पतालमा पनि २० जना भर्ना रहेको जनसम्पर्क अधिकारी नारायण दाहालले जनाए । कोसी अञ्चल अस्पतालमा शय्या अभावले बिरामीलाई भर्ना लिन सक्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । 'यसको कुनै विशेष उपचार र खोप छैन,' मरासिनीले भने, 'सरसफाइमा ध्यान दिए आफैं निको हुन्छ ।' सफा हात, पानी र खाना नै प्रकोपबाट बच्ने एकमात्र उपाय भएको उनले बताए । पानीजन्य रोग भएकाले उमालेर प्रयोग गर्न उनले सुझाव दिएका छन् ।
'ढल मिसिएर खानेपानी दूषित’
खानेपानी संस्थानद्वारा वितरित पानीमा ढल मिसिएकाले जन्डिसको प्रकोप फैलिएको प्राविधिकले बताएका छन् । ५ दशकअघि बिछ्याइएको पाइपबाट नगर क्षेत्रमा पानी वितरण भइरहेको छ । पाइप फुटेर पानीमा फोहोर मिसिने गरेको पाइएको छ । ढलका कारण पानीमा दिसामा पाइने 'कोलिर्फम' नामक जीवाणु मिसिन्छ । नालासँगै बिछ्याइएका पानीका पाइप पुरानो भएकाले धेरै ठाउँमा फुटेका छन् । केही स्थानमा शौचालयको निकास पनि नालामै भएकाले खानेपानी दूषित भएको प्राविधिकले जनाएका छन् ।
मुहान स्वच्छ रहे पनि घरका धारासम्म पुग्दा दूषित हुनुले पाइपलाइनमै समस्या रहेको संस्थानका प्रमुख सन्तोषकुमार रौनियारले बताए । ०१८ सालताका बिछ्याइएका पाइप रहेकाले धेरै ठाउँ फुटेको हुन सक्ने उनले बताए । रौनियारका अनुसार पाइपमात्र नभई ०२४ सालमा भारतले बनाइदिएको ट्यांकी पनि पुरानो भइसकेको छ । 'विराटनगरमा सबै घरमा खानेपानी सप्लाई छैन,' उनले भने, 'सप्लाई नभएका क्षेत्रमा पनि बिरामी भेटिएकाले अर्को कारण पनि हुन सक्छ ।' नगर क्षेत्रका ३५ प्रतिशत घरमा मात्र धारा वितरण गरिएको छ, ६५ प्रतिशतमा ट्युबवेलबाटै पानी तानिन्छ । मुहान स्वच्छ रहेको र सर्वसाधारणका घरमा पुग्दा कोलिर्फमको मात्रा बढेको पाइएकाले पाइपलाइनमा ढल मिसिएको निष्कर्ष निकालिएको रौनियारले बताए । २ सय किमिमध्ये केही क्षेत्रमा मात्र नयाँ पाइप बिछ्याइएको छ । 'पाइप लिक भएको स्थान खोजिरहेका छौं,' रौनियारले भने ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौलाले नगर क्षेत्रमा पानीको निकासका लागि बनाइएका नालालाई ढलका रूपमा प्रयोग गर्न थालिएपछि पाइपलाइन दूषित बन्दै गएको बताए । ती नालामा केहीले शौचालयको निकास बनाएको सूचना आएकाले त्यसको खोजी गर्न टोली परिचालन गरिएको निरौलाले जानकारी दिए । नालालाई ढल बनाएको पाइए कारबाही गरिने उनले बताए ।