Headlines News :
fb
Home » » डेढ सयको चिठ्ठाले बनायो करोडपति

डेढ सयको चिठ्ठाले बनायो करोडपति

२५ बैशाख, धुर्कोट (गुल्मी) । भारतमा मजदुरी गर्दा चिट्ठामा परेको क्यामरा लिएर फोटो खिच्ने व्यवसाय सुरु गरेका गुल्मीका एक व्यक्ति सोही व्यवसायबाटै करोडपति बनेका छन् ।

विसं २०३४ मा भारतमा एक–डेढ सय रूपैयाँ पर्ने रिलवाला क्यामरा हात परेपछि फोटोग्राफर बन्ने सपना बोकेका नन्दराम पाण्डे अहिले गुल्मीको सदरमुकाम तम्घासमा त्यही व्यवसायबाटै करोडौँको मालिक बन्नुभएको हो ।

अर्घाखाँचीको भगवती–९ मा जन्मनुभएका ६१ वर्षीय पाण्डेले गुल्मीको सदरमुकाम तम्घासमा उतिबेलैदेखि पाण्डे फोटो स्टुडियो खोलेर व्यवसाय सुरु गर्नुभएको थियो ।

करिब ३५ वर्ष पहिले सानो तम्घास बजारमा व्यावयाय चल्ने नचल्ने आशङ्काकैबीचमा फोटो स्टुडियो सञ्चालन गरेका नन्दराम अहिले सफल र उदाहरणीय बन्नुभएको छ ।

‘पाण्डे फोटो स्टुडियो’ उहीलेदेखि अहिलेको आधुनिक तम्घाससम्मको चर्चित र लोकप्रिय नाम बनेको छ । क्यामरा पाएपछि करिब दुई वर्ष फोटोग्राफरको काम सिकेका पाण्डे आफँै मलिक बन्ने चाहना आएपछि नयाँ स्टुडियो खोलेर आफ्नै व्यवसाय सुरु गरेको बताउनुहुन्छ ।

गरे के हुन्न भनेर प्रवासबाट स्वदेश फर्किएका पाण्डेले अहिले तम्घासको व्यस्त बसपार्कमा आफ्नै तीन तले घर बनाउनुभएको छ भने नजिकै घडेरी जोड्नुभएको छ ।

घरको न्यूनतम मूल्य डेढ करोड पर्ने र घडेरी पनि रु ५० लाखभन्दा बढीको मूल्याङ्कन गर्न सकिने उहाँका छिमेकी गोपाल भुसाल बताउनुहुन्छ । उहाँले घरको एक सटर र कोठमा फोटो स्टुडियो सञ्चालन गर्नुभएको छ ।

त्यसमा उहाँले आफूले फोटो स्टुडियो सुरु गर्दादेखि राजा वीरेन्द्र, बिपी कोइराला र त्यसपछिका राजा, प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरू गुल्मी आउँदा खिचेको फोटो सजाएर राख्नुभएको छ ।

उहाँको स्टुडियो एउटा सङ्ग्रहालय जस्तै देखिन्छ । यो व्यवसायलाई सफल बनाउन श्रीमती धनादेवीको पनि ठूलो हात रहेको उहाँले बताउनुभयो ।

नन्दरामका तीन छोराहरूमध्ये जेठा भैरहवामा फर्निचर व्यवसाय गर्छन् भने माइला छोराले बाबुको व्यवसायलाई निरन्तरता दिएका छन् । कान्छा अर्जुन पढ्दैछन् । आफूले स्टुडियो चलाउँदा एउटा मात्र पाण्डे फोटो स्टुडियो रहेको सदरमुकाममा अहिले करिब ४० वटा र जिल्लाभर त्यसको दोब्बर सङ्ख्यामा फोटो स्टुडियो छन् । रासस
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar