Headlines News :
fb
Home » » पानीघट्टबाट पाँच किलोवाटसम्म विद्युत् उत्पादन

पानीघट्टबाट पाँच किलोवाटसम्म विद्युत् उत्पादन

बनेपा, जेठ १७ – काभ्रेपलाञ्चोक जिल्लामा पानीघट्टबाट विद्युत् उत्पादन भएको छ । विद्युत्भार कटौतीका कारण नियमित रूपमा विद्युत् आपूर्ति नभइरहेका बेला अन्य विभिन्न प्रयोजनका लागि स्थापना भएका पानीघट्टले विद्युत् उत्पादन गरेका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा यहाँका ६ गाविसमा दुई किलोवाटदेखि पाँच किलोवाटसम्म विद्युत् उत्पादन भएको पानीघट्ट धनी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष शिवशरण श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार ऊर्जा प्रवद्र्धन केन्द्रले जिल्लाको महाभारत डाँडापारी फलामेटार, साल्मेचाकल, गोकुले, फोक्सिङटार, साल्धारा र मेच्छे गाविसमा प्रतिकिलोवाट रु ६० हजार अनुदान सहयोग गरेको छ । दिनहँु भएको विद्युत्भार कटौतीका कारण यसप्रतिको आकर्षण बढ्दो देखिएको छ पानीघट्ट धनी सङ्घ काभ्रेका अध्यक्ष श्रेष्ठले भने । यहाँ ०६३ सालदेखि पानीघट्टबाट विद्युत् उत्पादन गर्न थालिएको हो । त्यसो त यो जिल्लामा कुल ३८ वटा पानीघट्टले विद्युत् उत्पादन गरेका छन् । तर त्यसमा स्थानीय निकायको झिनो सहयोगबाहेक केही सहयोग छैन ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार स्थानीय विभिन्न समूहले गरेको लगानीबाट स्थानीय रूपमा विद्युत् उत्पादन भएको छ । पानीघट्टको मर्मतसम्भार गर्न रु १०० देखि १५० सम्म प्रतिघर परिवार बजेट सङ्कलन गरेको उनको भनाइ छ । विद्युतीकरण गरिएका त्यस्ता पानीघट्टका लागि स्थानीय गाउँ विकास समितिले कुल लगानी भएको रकमको झन्डै पाँच प्रतिशतमात्रै आर्थिक सहयोग गरेको छ । समूहले लगानी गरेको पानीघट्टमा प्रतिकिलोवाट करिब रु एक लाख ८० हजारदेखि रु दुई लाख २० हजारसम्म लगानी भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विद्युतीकरण भएका पानीघट्टमध्ये एउटा पानीघट्टबाट करिब ६५ घर लाभावन्वित भएकासमेत पानीघट्ट सङ्घ काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको ऊर्जा तथा वातावरण शाखाले दिएको जानकारीअनुसार यहाँका एक हजार १२० पानीघट्ट सञ्चालनमा रहेका छन् । तीमध्ये ९९० पानीघट्ट आधुनिक तरिकाले सञ्चालन भएका छन् । पानीघट्टबाट गाउँले मिलेर बत्ती बालेका कारण गाउँ झिलिमिलि भएको छ तर बजारमा बत्ती नै छैन, अध्यक्ष श्रेष्ठले भने । उनले पानी घट्टबाट सञ्चालन हुने विद्युत् उत्पादनलाई बढाउँदै लगिनेसमेत जानकारी दिए ।
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar