नायिकाद्धय सुमिना घिमिरे र गरिमा पन्तलाई वैशाखमै तीज लागेको छ । वैशाखमै तीजको गीतमा छमछमी नाचिरहेको अवस्थामा दुई नायिका भेटिए ।
प्रसंग हो करिब १२ बर्षपछि सिनेमा निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानको नयाँ चलचित्र ‘रंग बैजनी’को । शम्भुले आफै बनाएको नुतन स्टुडियोमा चलचित्रमा समावेश तीज गीतको छायांकन गरिएको हो । नायिका सुमिना घिमिरेलाई स्टेप सिकाउँदै थिए, चर्चित नृत्य निर्देशक बसन्त श्रेष्ठ । सुमिनाले एउटै लयमा थुप्रै पटक टेक खाएपछि वसन्तलाई केही अप्ठ्यारो परेको हो
नुतन प्रधानको निर्माण तथा लेखनमा तयार भैरहेको यो सिनेमाले दुई पात्रको कथा बोल्छ । चलचित्रमा दिकपालदेव पंगेनीले नायकको रुपमा डेब्यू गरेका छन् । उनले सुमिनासँग आफूले धेरै रोमान्स गर्ने खुलाए । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् । चलचित्रको ९० प्रतिशत छायांकन नुतन स्टुडियोमा नै हुनेछ ।
निर्देशक शम्भु प्रधानले ‘रंग बैजनी’मा दर्शकले साधारण नेपाली कथा पाउने बताए । चलचित्रमा सुमिना र गरिमा दुई फरक प्रवृतीको पात्रमा चित्रित भैरहेका छन् ।
तीजको गीत छायांकन भैरहेको अवस्थामा चलचित्रकी निर्मात्री एवं लेखिका नुतन प्रधानको जन्मदिनको केक पनि काटिएको थियो । विशेष अवसरमा जन्मदिन मनाउन पाउँदा नुतन पनि खुशी देखिइन् । चलचित्र ‘सन्यास’ निर्देशन गरेपश्चात शम्भु प्रधान सिनेमाको निर्देशनमा फर्किएका हुन् ।
fb