- बाबुराम र प्रचण्डपक्षको बेग्लाबेग्लै जिल्ला सम्मेलन
१६ बैशाख, रौतहट । राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा एमाओवादी रौतहट दुई चिरामा विभक्त भएको छ । विवादले चर्काे रुप लिँदा प्रचण्ड र बाबुराम पक्षधरले मंगलबार अलग अलग ठाउँमा जिल्ला सम्मेलन आयोजना गरेका छन् । बाबुराम पक्षले जिल्लाको धरहरी गाविसमा र प्रचण्ड पक्षले गेडहीगुठी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेको एमाओवादीका जिल्लास्तरीय नेता अमृत श्रेष्ठले बताए ।
विवाद बढेपछि दुबै गुटले यसअघि विभिन्न गाविसमा गाउँ सम्मेलनसमेत अलग-अलग गर्दै आएका थिए । समानान्तर समिति निर्माण र प्रतिनिधि चयनमा जुटेका दुवै पक्षका नेताहरु पार्टी सदस्यता नवीकरण फारम बोकेर कार्यकर्ता आफूतिर तान्ने होडबाजीमा उत्रिएका छन् । बाबुराम पक्षले एकलौटी ढंगले निषेध गर्दै गाउँ सम्मेलन गर्दै आएको प्रचण्ड पक्षीय कार्यकर्ताको आरोप छ ।
जिल्लामा प्रचण्ड पक्षको अगुवाइ सभासद् एवं पूर्वजिल्ला संयोजक अशोक जयसवालले गरेका छन् भने भट्टराई पक्षको नेतृत्व पूर्वमन्त्री प्रभु साह र पूर्वसभासद देवेन्द्र पटेल लगायतले गर्दै आएका छन् । धरहरीमा बाबुराम पक्षले आयोजना गर्न लागेको जिल्ला सम्मेलन आधिकारिक रहेको जिल्ला संयोजक विन्देश्वर यादवले बताए ।