Headlines News :
fb
Home » , » ‘चरी’ सुटआउटः अप्ठेरोमा प्रहरी

‘चरी’ सुटआउटः अप्ठेरोमा प्रहरी

प्रहरीको गोलीले ग्याङस्टर ‘चरी’ मारिएको घटनामा प्रहरीको दाबी कमजोर देखिएको छ ।
२१ साउनमा प्रहरीको गोलीबाट मारिएका दिनेश अधिकारी ‘चरी’ को शवको पोष्टमार्टम ३१ साउनमा बल्ल भयो । स्रोत र प्रमाणहरूले चरी प्रहरीसँग भीमढुङ्गामा भिडन्तमा मारिएको नभएर अन्यत्रै कतै पक्राउ परेको संकेत गर्छन् ।
चरी’ की दिदी शान्ति २१ साउनमा भीमढुङ्गामा । अघिल्लो दिन उनलाई भेटेर अदालतमा केस मिलाउन रु.३ लाख रुपैयाँ लिएका थिए
‘भृकुटीमण्डपबाट पक्राउ’
भीमढुङ्गामा ‘चरी’को शव
प्रहरीले काठमाडौं, भीमढुङ्गामा प्रतिकार गर्ने क्रममा ‘चरी’ मारिएको बताए पनि उनलाई सोही दिउँसो राजधानीको भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेको आफन्तहरूको भनाइ छ । उनी त्यो बेला एक जना चिनेको मानिससँग अदालत जाने प्रक्रिया बुझ्न बागबजार जाने क्रममा रहेको आफन्तहरू बताउँछन् ।
भारतमा डाँकू बीरप्पनलाई ‘इन्काउन्टर’
गर्दा ‘समाउन सकिने अवस्था भए
पनि हत्या गरियो’ भन्दै विरोध भयो ।
शम्भु थापा, वरिष्ठ अधिवक्ता


बिहान ९ बजेतिर ‘भाइवर फोन’ मा सम्पर्कमा आएका ‘चरी’ ले कानूनी परामर्शका लागि हिंडिरहेको बताएको तथा २२ या २३ गते अदालत जाने भनेको र बिहान ११ बजेसम्म ‘भाइवर’ सम्पर्कमा रहेको प्रेमिका खुश्बू ओली बताउँछिन् । चरीले १ र २ बजेको बीचमा बागबजार जाने बताएको चरीका दाजु ध्रुव अधिकारी बताउँछन् । तर, २ बजे ‘चरी’ समूहका एक जनाको मोबाइलमा नचिनेको नम्बरबाट एक जना पुरुषले चरी पक्राउ परेको समाचार दिएको उनले बताए । फोन गर्ने मानिसले ‘दाइ, चरीलाई सादा पोशाकका प्रहरीले भर्खरै समातेर लग्यो, अब मार्छ होला’ भनेपछि फोन काटेको उनको भनाइ छ । ध्रुव भन्छन्, “त्यो बेला फोनमा बोल्ने मानिस हाम्रो सम्पर्कमा छन्, छानबिन समितिलाई हामी प्रमाणका रूपमा पेश गर्न सक्छौं ।”
हिमाललाई प्राप्त जानकारी अनुसार, तीन महीनाअघि भारतबाट काठमाडौं आएका ‘चरी’ ठमेलका होटलहरूमा लुकेर बसिरहेका थिए । उनको सम्पर्कमा बबी, कमल, निरे नामका सहयोगी ‘केटाहरू’ थिए । अघिल्लो दिन त्रिपुरेश्वरमा ‘चरी’ भेट्ने उनका साथी रमेश (नाम परिवर्तन) भन्छन्, “मैले बिहान भेट्दा उनी बबीसँग रातो मोटरसाइकलमा आएका थिए । प्रहरीले बरामद गरेको मोटरसाइकल त्यही हो । घटनापछि भने मैले बबीलाई देखेको र भेटेको छैन ।”
‘चरी’ का दाजु ध्रुवका अनुसार उनी २२ या २३ गते अदालतमा हाजिर हुन वकीलसँग कानूनी परामर्श गर्ने क्रममा थिए । २० गते दिउँसो १ बजे चरीले बालाजुको भ्याली कोल्ड स्टोर अगाडि दिदी शान्तिलाई भेटेर अदालतमा केस मिलाउन रु.३ लाख लिएको र त्यो बेलुकासम्म पनि कपाल नकाटेको ध्रुव बताउँछन् ।
दोहोरो भिडन्तमा मारिएको एउटा
 पनि प्रमाण सरकारले पेश गर्न सकेको छैन ।
 टीकाराम भट्टराई, उपाध्यक्ष, नेपाल बार एसोसिएसन


२१ साउन ५ बजेतिर प्रहरीले भीमढुङ्गामा चरी ‘इन्काउन्टर’ मा मारिएको भन्दै मिडियालाई घटनास्थलमा बोलायो । महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीरा चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीसँगको मुठभेडमा ‘चरी’ मारिएको प्रहरीको भनाइ छ । उनको शरीरमा आठ गोली लागेका थिए भने कपाल मुण्डन गरिएको लाश नजिकै मोटरसाइकल लडेको थियो ।
पोष्टमार्टमको विवाद
अपराधशास्त्री डा. रजितभक्त प्रधानाङ्ग प्रहरीले घटना लगत्तै शवको पोष्टमार्टम नगर्नुले पनि उक्त घटना ‘फेक इन्काउन्टर’ हुनसक्ने आशंका बढाएको बताउँछन् । पोष्टमार्टम गर्दा घटना भएको समय र गोली कति दुरीबाट प्रहार भएको थाहा पाइने हुनाले पोष्टमार्टम गर्ने अधिकार र कर्तव्य हुँदाहुँदै प्रहरीले नगरेको उनको बुझाइ छ । छानबिन नभई परिवारले ‘शव बुझ्दिनँ’ भन्न सक्ने भए पनि पोष्टमार्टम गर्न प्रहरीलाई कसैले रोक्न नसक्ने उनी बताउँछन् । दोहोरो मुठभेड भएको प्रमाण देखाउने आधार नभएकोले प्रहरीले घटनालाई ‘भवितव्य’ बनाउन सक्ने उनको अनुमान छ । तर, भवितव्य देखाउन पनि गाह्रो हुने उनी बताउँछन् ।
अधिवक्ता रविन केसी पनि ‘कज अफ डेथ’ निकाल्न पोष्टमार्टमले मद्दत गर्ने भएकाले प्रहरीले अरूको अनुमति नलिई पोष्टमार्टम गर्न सक्ने बताउँछन् । पोष्टमार्टम गरेर पनि शव अस्पतालमा राख्न मिल्ने उनको भनाइ छ ।
मृतकका दाजु ध्रुव भने प्रहरीले घटनास्थलमा मुचुल्का उठाउँदा परिवार र आफन्तलाई जान नदिएकाले शव नबुझेको बताउँछन् । अहिलेसम्म मृतकको शव हेर्न नपाएको बताउने आफन्तहरूले गृहमन्त्री बामदेव गौतमसहित प्रहरी अधिकारीका विरुद्ध प्रहरीले उजुरी नलिएपछि २८ साउनमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन् । ३० साउनमा उनीहरूले सर्वाेच्च अदालतमा पनि मुद्दा दिएका छन् ।

कानूनी प्रश्न
फिल्मी शैलीमा ‘चरी’ मारिएको घटनालाई लिएर ‘न्यायिक’ र ‘गैरन्यायिक’ हत्याको बहस शुरू भएको छ । घटनापछि प्रहरीले दिएको विवरण र घटनास्थलको अवस्था नमिल्दो देखिंदा ‘इन्काउन्टर’ शंकाको घेरामा परे पनि चर्चित ‘गुन्डा’ मारिएकोमा खुशी हुने धेरै छन् ।
त्यसरी खुशी हुनेहरूमध्ये केहीले यो हत्यालाई मानवअधिकार र कानूनी नजरबाट हेर्ने अधिकारवादी र वकीलहरूलाई तल्लोस्तरको गाली पनि गरिरहेका छन् । यस्तो गाली खानेमा ‘चरी’ को पक्षमा केस लड्ने तयारी गरिरहेको नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई र वरिष्ठ अधिवक्ता शम्भु थापा प्रमुख छन् । अधिवक्ता भट्टराईले घटना भएकै दिन बेलुकी फेसबुकमा ‘गणतन्त्रमा भिडन्तको नाममा एउटा नागरिकको बीभत्स हत्या । जतिसुकै ठूलो अपराधी भए पनि कानून बमोजिमको कारबाही मात्र नागरिक शासनको चरित्र हो’ भनेर पोष्ट गरेका थिए ।
भट्टराईको भनाइमा दिनेश दोहोरो भिडन्तमा मारिएको एउटा पनि प्रमाण सरकारले पेश गर्न सकेको छैन । ‘चरी’ गुन्डा थिए वा थिएनन् भन्दा पनि प्रहरीको गोलीबाट एउटा नागरिक मारिनु तथा दोहोरो भिडन्तको कुनै लक्षण नदेखिनु गैर संवैधानिक र गणतन्त्रविरोधी काम भएको उनी बताउँछन् । सरकारले यो घटनाबारे अन्तर्राष्ट्रिय मञ्चमा जवाफ दिनुपर्ने पनि उनको भनाइ छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापा पनि गोली लागेको घाउले वास्तविकता बताउने भएकाले यो घटनाको छानबिन हुनुपर्ने बताउँछन् । भारतमा सर्वाधिक खोजीमा रहेका डाँकू बीरप्पनलाई ‘इन्काउन्टर’ गर्दा पनि मानवअधिकारकर्मी र मिडियाले ‘समाउन सकिने अवस्था भए पनि हत्या गरियो’ भन्दै विरोध जनाएको बताउँदै थापा भन्छन्, “जस्तोसुकै ‘मोस्ट वान्टेड’ भए पनि यसरी गोली हानेर मार्न पाइँदैन ।”
खुश्बू र अर्पणको जुहारी
दिनेश अधिकारी ‘चरी’ मारिएपछि उनकी प्रेमिका खुश्बू ओली र खुश्बूकै पूर्व प्रेमी अर्पण कोइरालासँगै हनुमानढोकाको केरकार शाखामा कार्यरत प्रहरी निरीक्षक कुमुद ढुङ्गेल चर्चामा छन् । हिमालले खुश्बू र अर्पण दुवैसँग गरेको कुराकानीमा अर्पणले खुश्बूसँग ६ वर्ष विताउँदा रु.७ करोड सिध्याएको, दुव्र्यसनी पुनस्र्थापना केन्द्र नार्कोनान नेपालमा ‘सेकेन्ड मेन’ का रहेको भनी गरेको दाबी विश्वासिलो देखिएन । नार्कोनानका प्रमुख बसन्तराज कुँवरले अर्पण दुव्र्यसन मुक्त हुनका लागि ६ महीना पुनस्र्थापनामा बसेको र पछि केही महीना इन्टर्नको रूपमा मात्र काम गरेको बताए । उनले ‘अर्पणको परिवारलाई मासिक रु.१० हजार शुल्क तिर्न पनि गाह्रो भएको देखिन्थ्यो’ भन्नुले अर्पणले खुश्बूका लागि करोडौं सम्पत्ति सकेको दाबी कमजोर रहेको देखाउँछ ।
प्रहरी निरीक्षक कुमुद भने खुश्बूको सबै दाबी झूटो भएको बताउँछन् । दरबारमार्गमा कार्यरत रहँदा सडक बालबालिकाको समस्यामा खुश्बूलाई भेटे पनि प्रेम प्रस्ताव या अरू सम्बन्ध नराखेको कुमुदले बताए । चरीको केसमा आफू संलग्न नरहेको पनि उनको दाबी छ ।



साथमा सोहन श्रेष्ठ, धरान
_________________________________________________________________________________
सुरुङ्गामा रिक्सा भ्यान हस्तान्तरण
गर्न आउँदा अतिथि बनेकी खुश्बू ।


सुरुङ्गामा परिचित खुश्बू
झापाको सुरुङ्गा बजार बस्ने जयकला ओली (५६) ले अहिले चर्चामा रहेकी उनकी भतिजी खुश्बू ओलीबारे पछिल्लो समय धेरै थाहा नभएको बताए पनि त्यहाँका अरू भने खुश्बू र उनका पिता श्यामसुन्दर बेला–बेला आइरहने बताउँछन् । खुश्बूका मीतबुबा श्याम पौडेलले दुई महीनाअघि मात्र मीतलाई सुरुङ्गामा भेटेको तथा ४ मंसीरको संविधानसभा चुनावताका मीतले दुई साता एमालेको पक्षमा प्रचार गरेको बताए । खुश्बू पनि चार महीनाअघि त्यहाँ पुगेको उनको भनाइ छ ।
अर्पण पनि परिचित
सुरुङ्गाका सामाजिक संघ–संस्थामा कार्यरतहरूले खुश्बूका पूर्व प्रेमी अर्पण कोइरालालाई पनि चिनेका छन् । खुश्बूका मीतबुबा श्याम पौडेल सचिव रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गालाई झापा–४ की तत्कालीन सभासद् धर्मशिला चापागाईंको उपस्थितिमा ७ जेठ २०६६ मा खुश्बू र अर्पणले रु.९ लाख मूल्यको एम्बुलेन्स सहयोग दिएका थिए । ३ मार्च २००८ मा पनि उपशाखाको आगन्तुक पुस्तिकामा खुश्बू, अर्पण र उनीहरूसँग आएका दुई जना विदेशीले शुभकामना सन्देश दिएका छन्, जसमा खुश्बूले आफूलाई ‘ह्युमन वेलफेयर ग्रुप’ सँग आबद्ध भनी चिनाएकी छिन् । त्यसलगत्तै उपशाखाको सिफारिशमा रेडक्रसले श्यामसुन्दर, उनकी पत्नी शकुन्तला, खुश्बू र अर्पणलाई रु.१ लाखभन्दा बढी चन्दादातालाई दिइने यशस्कर सदस्यता प्रदान गर्‍यो ।
सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरिया आफ्नो कार्यकालमा २०६६ ताका अर्पण र खुश्बूले जेसिज मार्फत सुरुङ्गामा रु.२ लाख ३० हजार मूल्यको २० थान रिक्सा वितरण गरेको र उनीहरूलाई सम्मान गरिएको सम्झन्छन् । उनका अनुसार, सुरुङ्गा जेसिजको भवन निर्माणमा पनि अर्पणले रु.१ लाख र श्यामसुन्दरले रु.५० हजार सहयोग गरेका थिए ।
खुश्बूले २०६६ मा सुरुङ्गाको कनकाई माविलाई पनि रु.२५ लाख सहयोग गर्ने भन्दै प्रस्ताव ल्याउन प्रधानाध्यापक ईश्वरीप्रसाद शिवाकोटीलाई भनिन् । शिवाकोटीका अनुसार, खुश्बूले त्यसअघि रु.१ लाख अक्षयकोषका लागि र दुई पटक रु.२५ हजारका दरले सहयोग गरेकी थिइन् ।
रु.२५ लाख सहयोगको सम्झौता गर्न कात्तिक २०६७ मा खुश्बूले बोलाएपछि काठमाडौं पुगेका प्रधानाध्यापक शिवाकोटीलाई पहिलो दिन याक एन्ड यती र दोस्रो दिन एभरेष्ट होटलमा केही विदेशीसँग आएकी खुश्बूले कागजातहरूमा हस्ताक्षर गराइन् । एक दिन विद्यालयको छाप पनि राखेकी खुश्बूले कुन संस्थासँग सम्झौता गरेको नबताएको तथा पत्र पनि नदिएको प्रधानाध्यापक शिवाकोटी बताउँछन् ।

खुश्बू र अर्पणले दिएको एम्बुलेन्स ।


सम्झौतापछि खुश्बूले कुमारी ब्याङ्कमा विद्यालयको खाता खोल्न भनेकाले प्रधानाध्यापक शिवाकोटीले झापा बिर्तामोड शाखामा १२०१५२४६०५४४०१६ नं. को खाता खोले । तर, चार वर्ष ताकेता गरेपछि श्यामसुन्दरले पुस २०६९ मा जम्मा दुई लाख रुपैयाँको चेक दिए ।
डिट्ठाकी नातिनी
तेह्रथुमको आठराईबाट झापाको सुरुङ्गा झरेका खुश्बूका हजुरबुबा देवीप्रसाद ओलीलाई सुरुङ्गामा डिट्ठा भनिन्थ्यो । चार पत्नी ल्याएका देवीप्रसादले कनकाई माविलाई २०३५ सालमा रु.२५०० सहयोग गरेका थिए । पञ्चायतकालमा सुरुङ्गा ८ का वडाध्यक्ष रहेका देवीप्रसाद फागुन २०५५ मा दिवंगत भए । श्यामसुन्दर र उनका दाजु भूमिका देवीप्रसादका माइली पत्नी डम्बरकुमारी (८६) तर्फका हुन् ।
देवीप्रसादको मृत्युअघि अंशबण्डा हुँदा श्यामसुन्दरको भागमा परेको सुरुङ्गा–८ को तीन बिघा खेत तीन वर्षअघि नै बेचेको अर्की आमाबाट जन्मेका भाइ खगेन्द्रमणि (५३) बताउँछन् । सुरुङ्गा–५ को एक कट्ठा ८ धुर घडेरी पनि उनले २०६५ तिरै रु.४३ लाखमा बेचेको खगेन्द्रमणिको भनाइ छ । खगेन्द्रमणिका अनुसार, विद्युत् प्राधिकरण विराटनगरमा जागीर खाँदा सुरुङ्गाबाट काठपात लगी बनाएको घर र मोरङको सलकपुरमा जोडेको दुई बिघा जमीन पनि श्यामसुन्दरले दश वर्षअघि बेचेका तथा काठमाडौंको कीर्तिपुरमा घर बनाएका थिए ।
पहिले नेपाल प्रहरीमा असई रहेका श्यामसुन्दर नेपाल विद्युत् प्राधिकरणमा पाँचौं तहमा तथा श्याम पौडेल पनि त्यहीं कार्यरत हुँदा २०४३ सालमा मीत लगाएका थिए । २०४३ देखि काठमाडौं बस्न थालेका श्यामसुन्दरले २०४९ मा प्राधिकरणको जागीर छोडे । त्यसपछि उनले खुश्बू ट्रेडर्स, खुश्बू इन्टरप्राइजेज र अर्काे एउटा कम्पनीबाट कारोबार गरेको तथा २०५९ देखि २०६३ सम्म आफू पनि तिनमा साझेदार रहेको श्याम पौडेल बताउँछन् ।
खुश्बूको एमाले अध्यक्ष केपी ओलीसँग नजिकको नाता रहेको चर्चा चल्ने गरेकोमा खुश्बूको परिवारका सदस्यहरू भने नजिकको नाता नपर्ने बताउँछन् । झापाको बिर्ताबजार घर भएका विराटज्योति बोर्डिङका संचालक गणेश ओली खुश्बूका हजुरबुबा देवीप्रसादका भतिजा हुन् । “श्यामसुन्दर, उसको दाजु भूमिका र मैले केपीलाई काका भन्नुपर्छ” गणेशले भने “तर, आठ पुस्तासम्म उहाँ र हाम्रो हाँगो जोडिएको वंशावलीमा देखिंदैन ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar