Headlines News :
fb
Home » » हँदाहुँदा झिंगा तस्करी !

हँदाहुँदा झिंगा तस्करी !

काभ्रे, श्रावण ३ - नेपालबाट चीनतिर रक्तचन्दन तस्करी नौलो समाचार रहेन । नौलैचाहिँ के छ भने सीमावर्ती तिब्बती सहर खासामा अकल्पनीय मूल्यका साथ बिक्री हुने गरी नेपाल हुँदै ठूलो परिमाणमा झिंगा जान्छ । अर्को अचम्म, हजामले काटेको तपाईंको कपाल पनि तस्करी भएर त्यहीं पुग्न सक्छ । तिब्बतको तस्करी बजार अपार छ । नेपालले त्य
समा आफ्नो भाग बाक्लो पार्दै लगेको छ ।

तस्करी हुने झिंगा घरका नभएर वनका हुन् । ठूला र हरिया वनझिंगा कुहाएर तिब्बतमा बनाइने रक्सीको माग युरोपेली बजारमा रहेको जानकारहरूले बताए । नेपालका जंगल चहारेर वनझिंगा जम्मा पारिन्छन् र खासातर्फ पठाइन्छन्, जहाँ त्यसको सरदर मूल्य प्रतिकिलो १ लाख रुपैयाँ पर्न जान्छ ।

'वनझिंगा जान्छ भन्ने सुनेका हौं तर अहिलेसम्म फेला पार्न सकेको छैन,' पूर्ववाग्मती अञ्चल प्रमुख एसएसपी पशुपति उपाध्यायले भने ।

तराई र महाभारत शृंखलाका घना जंगलमा पाइने वनझिंगा कुहिएका फलफूल तथा मानिसको दिसा वरपर रहन रुचाउँछन् । वनझिंगा जिउँदै पक्रन झुलभित्र मह राखेर जंगलमा टाँगिन्छ । झुलमा छिरेपछि वनझिंगा त्यहाँभित्र राखिएको गममा टाँसिएर संकलित हुन्छन् ।

गाउँलेद्वारा संकलित वनझिंगा स्थानीय एजेन्टमार्फत तस्करी च्यानलको व्यापारीकहाँ पुग्छ, जसले विभिन्न उपाय लगाएर खास पुर्‍याइछाड्छ । मरेकाभन्दा जिउँदाले बढी मूल्य पाउँछन् । जिल्ला वन कार्यालय काभ्रेका प्रमुख गणेश रायले वनझिंगा तस्करीबारे थाहा नभएको बताए । वन ऐनमा यसबारे केही उल्लेख नभएको उनको भनाइ थियो ।

संसारको दोस्रो ठूलो आर्थिक शक्ति चीनको बजारले यस्ता धेरै चिजको खपत गर्छ, जसको हामी कुनै उपादेयता देख्दैनौं । नेपालका सीमानाकाबाट भित्रिने अनेकन चिजबाट विभिन्न सामग्री बनाई चिनियाँ कम्पनीहरूले युरोपेली बजारमा बिक्री गर्दै आएका छन् । 'चीनतिर तस्करी नहुने सामान पनि केही रहेनछ,' काभ्रे जिल्ला प्रहरी प्रमुख अरुणकुमार बीसीले भने, 'यहाँ मूल्यहीन र प्रयोगमै नआउने सामान पनि तस्करी हुँदो रहेछ ।'

अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चीनतिर तस्करी हुने अर्को चिज हो, कपाल । नेपालको कानुनले कतैबाट पनि कपालको ओसारपसारलाई बर्जित गरेको छैन । तर, तस्करहरूले अन्य गैरकानुनी सामग्रीसँगै लुकाईछिपाई लाने भएकाले कपालको ओसारपसार पनि तस्करीमै गनिएको हो । कहिले हात्तीका पुच्छरसँग त कहिले बाघका छालासँग, कपाल लुकाएरै सीमा पार गरिन्छ ।

सिन्धुपाल्चोकका पूर्वजिल्ला प्रहरी प्रमुख वसन्त लामाले नेपाली सीमाबाट कपाल निकासी हुने गरेको बताए । 'मेरो कार्यकालमा एक पटक पक्रेर कारबाहीका लागि वनलाई बुझाइएको थियो,' उनले भने, 'विभिन्न किसिमका खेलौना, पुतलीमा प्रयोग गर्न लैजान्छन् ।'

काठमाडौं र अरू सहरका सैलुनहरूमा संकलित कपाल चीनको खासा पुर्‍याइन्छ । जुन किलोकै ३० हजारसम्ममा बिक्री हुन्छ । खेलौना निर्माता कम्पनीहरूले पुतलीको कपालको रूपमा यसको प्रयोग गर्छन् । गुम्बाका सामग्री र मूर्तिहरूमा पनि प्रयोग हुन्छ । केही कम्पनीले कपाल प्रशोधन गरी सजावटका अन्य सामग्रीमा पनि राख्छन् ।

छोटो कपाल खासै बिक्री हुँदैन । एक बित्ताजति लामो कपालमात्र बिक्री हुन्छ । हालै बनेपाको एउटा सैलुनबाट २५ सय रुपैयाँ किलोमा कपाल बिक्री भयो । कपाल जति लामो भयो, मूल्य उति बढी हुन्छ । लामा कपाल बटुल्न व्यापारीहरू सैलुनमै पुग्छन् । नेपालका सीमानाकाबाट चीनतिर नियमित तस्करी हुने वस्तुमा रक्तचन्दन, बाघका छाला, हड्डी, हात्तीका दाह्रा, भालुको पित्त, गैंडाको खाग, दुम्सीको काँडा, सालक, कछुवा र सुनाखरी मुख्य हुन् ।

यार्चागुम्बुजस्ता विभिन्न जडीबुटी पनि तिब्बती बजारमा पहिलेदेखि नै बिक्री हुँदै आएका छन् । यसबाहेक चिरुको ऊन, सर्पको छाला, रेडपान्डाको छाला, हिँउचितुवाको छाला, हड्डी, टटेलो फूल, रातो च्याउ, अमला, अल्लो, कुरिलो, सुगन्धवाल, चुथ्रो, सुनापाती, पासाङवेद, चिराइतो, तेजपात, रिठ्ठालगायत चीन पुग्छन् । नेपालमै नपाइने समुद्री जीवसमेत नेपाल हुँदै चीनतिर तस्करी हुने गर्छ । ५ सय प्रकारका वस्तुहरू नेपालबाट चीनतिर निकासी हुन्छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar