Headlines News :
fb
Home » » बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।
पहिलोपल्ट नेपालको राष्ट्रिय प्रतियोगिता खेलेकी गौरिकाले शुक्रबार चार नयाँ कीर्तिमान थपिन्। अघिल्लो दिन उनले तीन कीर्तिमान स्थापित गरेकी थिइन्। नेपाली पौडीमा एउटै राष्ट्रिय प्रतियोगितामा ७ कीर्तिमान बनाउने गौरिका पहिलोे पौडीवाज भएकी छन्। यसअघि शिरीष गुरुङले एउटै प्रतियोगितामा ५ कीर्तिमान राखेको इतिहास छ।
चार कीर्तिमानी स्वर्ण जितेपछि गौरिकाले भविष्यमा ओलम्पिक खेल्ने लक्ष्य लिएको बताइन्। उनले भनिन्, 'नेपालबाटै ओलम्पिक खेल्न कोसिस गर्नेछु।'
सुरुमा आफूलाई नेपालमा कीर्तिमान बनाउँला जस्तो नलागेको उनले बताइन्। 'लन्डनमा पनि मैले आफ्नो उमेर समूहमा स्वर्ण पदक जितिसकेकाले पदक जित्छु भन्ने विश्वास थियो। कीर्तिमान बनेको थाहा पाउँदा खुसी छु। अब आफ्नो लक्ष्यअनुसार पहिला म एसियाली खेलकुदका लागि तयारी गर्नेछु।'
सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २०० मिटर व्यक्तिगत मिड्ले, २०० मिटर फ्रिस्टाइल, १०० बटरफ्लाई र १०० मिटर ब्याकस्ट्रोकमा कीर्तिमान राखिन्। बिहीबार उनले २०० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर ब्याकस्ट्रोकमा कीर्तिमान राखेकी हुन्।
गौरिकाको परिवार ९ वर्षदेखि लन्डनमा छ। उनको बुबा पारस सर्जन हुन्। आमा गरिमा र भाइसँगै उनी बिदा मनाउन जन्मथलो आएकी हुन्। ठमेल घर भएकी गौरिकालाई प्रतियोगिता खेल्ने अवसर जुरेको हो। लन्डनको बार्नेट कपथ्याल क्लबमा २ वर्षदेखि उनले पौडी प्रशिक्षण गरिरहेको बताइन्।
प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेको भन्दै आयोजक नेपाल पौडी संघले गौरिकालाई उदीयमान खेलाडीका रूपमा पुरस्कृत गर्योन।
गौरिकाले कीर्तिमान बनाउँदा आमा गरिमा र हजुरबुबा लोकभक्त राणा पौडी पोखरीमै थिए। गरिमाले छोरीले नेपाल आएर पदक जित्दा गर्व महसुस गरेको बताइन्। उनले भनिन्, 'लन्डनमा बसेर पनि छोरीले नेपालमा कीर्तिमान बनाइन्। आफ्नो बच्चाले नेपालमा आएर सफता हासिल गर्नु हाम्रा लागि खुसीको कुरा हो। उनले नेपालमा आएर आफ्नो क्षमता देखाइन्। खुसी छु। हामी नेपाल फर्कने योजनामा छौं। भविष्यमा उनले नेपालका लागि अझै राम्रो नतिजा निकाल्ने विश्वास छ।'
गौरिका ह्याब्स गर्ल्स स्कुलको कक्षा ७ मा पढ्छिन्। एक महिना लन्डन रिजन पौडी प्रतियोगितामा छोरीले ११ वर्ष उमेरसमूहमा चार स्वर्ण पदक जितेको आमा गरिमाले बताइन्।
गौरिकाले २०० मिटर व्यक्तिगत मिड्लेमा नयना शाक्यको नाम रहेको १२ वर्ष पुरानो कीर्तिमान भंग गरिन्। गौरिकाको नाममा २ मिनेट ५३ः ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ। नयनाले सन् २००२ को बुसान एसियाडमा २ मिनेट ५८ः६१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। गौरिकाले कीर्तिमानी स्वर्ण जित्दा अञ्जली स्याङ्बोले रजत र ओसिना भारतीले कांस्य पदक जिते।
गौरिकाले १०० मिटर ब्याकस्ट्रोकको १३ वर्ष पुरानो कीर्तिमान तोडिन्। उनले १ मिनेट १७ः ९७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदा शैला राणाले २००१ मा १५औं राष्ट्रिय खुला पौडीमा बनाएको १ मिनेट २२ः११ सेकेन्डको कीर्तिमान तोडिएको थियो। यस इभेन्टमा ओसिना भारतीले रजत र निहारिका तुलाधरले कांस्य जिते।
२०० मिटर फ्रिस्टाइलमा गौरिकाले २ मिनेट २६.२८ सेकेन्डको कीर्तिमान राखिन्। यसअघि सोफिया शाहको नाममा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा २ मिनेट २९ः ७२ सेकेन्डको कीर्तिमान बनेको थियो। यसमा रजत जितेकी सोफियाले पनि आफ्नो कीर्तिमानमा सुधार गरिन्। उनले २ मिनेट २९ः१३ सेकेन्डमा दूरी पूरा गरिन्। अञ्जली स्याङ्बोले २ मिनेट ४६ः८२ सेकेन्डसहित कांस्य जितिन्।
१०० मिटर बटरफ्लाई १ मिनेट १९ः३४ सेकेन्डमा पूरा गर्दै गौरिकाले करिश्मा कार्कीको नाममा रहेको ६ वर्ष पुरानो कीर्तिमान भंग गरिन्। करिश्माले २००८ को १०औं ग्यालेक्सी कप पौडीमा कीर्तिमान बनाएकी थिइन्। यस इभेन्टमा श्रृतिका सिंहले रजत र रसिका पौडेलले कांस्य तिजेका थिए।
शुक्रबार सकिएको प्रतियोगितामा नेपाल पुलिस क्लबका शिरीष गुरुङले २०० मिटर बटरफ््कलाई र १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जिते। उनले बटरफ्लाई ३ मिनेट ०१.९० सेकेन्ड र फ्रिस्टाइल ५९.२१ सेकेन्डमा पूरा गरेका थिए। २०० मिटर ब्याकस्ट्रोकमा देवेश मानन्धर स्वर्ण जिते।
२०० मिटर ब्रेस्टस्ट्रोकमा टीका थापा र महिलातर्फ सोनिरा विष्टले स्वर्ण जितेका छन्। ५० मिटर बटरफ्लाईमा स्युङ वी सु, महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा निहारिका तुलाधर, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा दिलीप थापामगर र महिला ५० मिटर फ्रिस्टाइलमा सोफिया शाहले स्वर्ण जिते।
शिरीष र सोफिया प्रतियोगिताका उत्कृष्ट खेलाडी बने।
पदकका आधारमा लिटिल एन्जल्स स्कुल टोली १२औं ग्यालेक्सी कप च्याम्पियन बन्यो। लिटिल एन्जल्सले ७५ अंक जोडेको थियो। लिंकन स्कुल दोस्रो र हिम्स तेस्रो भए। लिंकनले ५८ र हिम्सले ४३ अंक बटुलेका थिए। ग्यालेक्सी कपतर्फ जोन डिबीका नाजिर हुसैन र लिंकनकी निहारिका तुलाधर उत्कृष्ट खेलाडी भए।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar