Headlines News :
fb
Home » » पाँच केबलकार बन्दै

पाँच केबलकार बन्दै

गोदावरी फुल्चोकी केबलकारलाई निर्माण अनुमति
काठमाडौ, श्रावण ९ - गोदावरी-फुल्चोकी केबलकार बनाउन स्थानीय सहकारी संस्थाले अनुमति पाएको छ। सिद्धेश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २ दशमलव ९०३ किलोमिटरको मोनो केबलकार बनाउन लागेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिक अधिकृत जगन्नाथ घिमिरेका अनुसार हालै मात्र यसको निर्माणका लागि अनुमति दिइएको बताए। 'जमिनका लागि सम्बन्धित पक्षले नै वन मन्त्रालयसँग प्रक्रिया पूरा गर्नेछ,' उनले भने।

काठमाडौंबाट घुम्न जाने आन्तरिक पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न लागिएको हो। संस्थाका सचिव रवि आचार्यका अनुसार केबलकारको सुरु बिन्दुनेर रहेको बोटानिकल गार्डेनमा मात्र वाषिर्क ३ लाख ६० हजार घुम्न आउँछन्।

त्यसबाहेक गोदावरी क्षेत्रमा मात्र घुम्न जानेहरूको संख्या पनि उल्लेख्य भएकाले केबलकार सञ्चालनबाट फाइदा हुने आचार्यको भनाइ छ।

'विस्तृत सम्भाव्यता अध्ययन गर्दा यसबाहेक काठमाडौंको जनसंख्यालाई पनि आधार बनाइएको छ,' उनले भने, 'अबको एक वर्षमा निर्माण कार्य सुरु भइसक्नेछ।' सुरु बिन्दुको उचाइ समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर र अन्तिम बिन्दु फुल्चोकीको डाँडा २ हजार ६ सय २० मिटर रहेको छ। यो आयोजनाको लागत १ सय ४१ करोड रुपैयाँ रहेको आचार्यले बताए। सहकारीले केबलकार निर्माणका लागि सिभिल बैंक र सनराइज बैंकसंग ऋण लिने तयारी गरेको छ। योजनाको अध्ययनले सञ्चालनमा आएपछि आगामी २५ वर्षमा सरकारले करिब साढे ९४ करोड रुपैयाँ राजस्व कमाउने देखाएको छ। उक्त केबलकारमा डोपलमायर अस्टि्रयाको प्रविधि प्रयोग हुनेछ।

यो आयोजनाको लगानी फिर्ता हुने अवधि सञ्चालनमा आएपछि ५ वर्षको राखिएको छ। त्यसपछि संस्थाले नै फुल्चोकीमा पार्क निर्माण गर्ने तथा रिसोर्ट सञ्चालनमा ल्याउने योजना बनाएको छ। पर्यटकीय दृष्टिकोणले नै यसअघि थानकोट-चन्द्रगिरीका लागि पर्यटन मन्त्रालयले अनुमति दिई निर्माणका लागि प्रारम्भिक काम सुरु भइसकेको छ। त्यस्तै अर्को केबलकार योजना बूढानीलकण्ठ-शिवपुरीका लागि पनि विस्तृत अध्ययन भएको छ।

लगानीकर्ता चन्द्रप्रसाद ढकालका अनुसार थानकोट-चन्द्रागिरीको व्यावसायिक सञ्चालन २०१५ को अपि्रलसम्म भइसक्नेछ। '२ अर्ब १५ करोड रुपैयाँ लागत रहेको यो आयोजनाको निर्माणकार्य द्रुत गतिमा अगाडि बढेको छ,' उनले भने। यो आयोजनाअन्तर्गत १ सय ५० शय्याको रिसोर्ट, भ्युटावरलगायत पूर्वाधारहरू पनि सँगसँगै बन्दै छन्। 'राजधानीमा घुम्नलाई ठाउँ छैन, यस्ता आयोजना पूरा भए बिदाको समय छोटो दूरीमा रहेका प्राकृतिक क्षेत्रमा बिताउन सजिलो हुनेछ,' ढकालले भने। यसका लागि ८ सय रोपनी जमिन भाडामा लिइएको छ।

उपत्यकाबाहिर पनि सरकारले नयाँ गन्तव्यका लागि केबलकार निर्माण गर्ने तयारी गरिरहेको छ। तिनमा साढे १ किलोमिटरको केबलकार (जसले फेवाताललाई विश्वशान्ति स्तुपासँग जोड्छ) आयोजना छ। यसका लागि १ अर्ब २० करोड रुपैयाँ खर्च हुने सरकारी अधिकारी बताउँछन्।

जसलाई निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडलअन्तर्गत बनाउने तयारी सरकारले गर्दै छ। पर्यटन मन्त्रालयले ताप्लेजुङ र प्यूठान, पूर्वको पाथीभरामा पनि केबलकार बनाउने योजना तयार पारेको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar