Headlines News :
fb
Home » » माओवादीका पूर्वकमान्डर जेल चलान

माओवादीका पूर्वकमान्डर जेल चलान


इटहरी : सुनसरी खनार ४ का सुभाष काफ्लेको हत्या गरेको अभियोगमा माओवादीका पूर्वकमान्डर झापा शान्तिनगरका राहुल भनिने रवि भट्टराई पुर्पक्षका लागि जेल चलान भएका छन्। मंसिर ६ गते इटहरी धरान सडकखण्डको चारकोसे जंगलमा काफ्लेको हत्या गरेको घटनामा संलग्न भएको अभियोगमा रविसहित अन्य चारजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले बिहीबार रवि, नरेश चौधरी, रमेश काफ्ले र सुभास गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार रवि र नरेशलाई झुम्का कारागार चलान गरिएको छ। रमेश र सुभास गौतम फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी विनोद शर्माले बताए।

सुभासले एक्लै बस्ने मनसायका साथ दाजु रमेशसँग अंश मागेपछि सुभासको हत्या भएको भन्दै रमेशकी श्रीमती ममता काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएकी थिइन्। माओवादी कमान्डर रहेका रमेशले साथी रविलाई सुपारी दिएर हत्या गर्न लगाएको प्रहरीको दाबी छ। पतिको हत्या जेठाजु रमेशले नै गरेको भन्दै ममताले रमेशसहितका अभियुक्त लाई पक्राउ गर्न माग गर्दै आएकी थिइन्।

पुर्पक्षका लागि जेलचलान भएका चौधरी रमेशका गाडी चालक हुन् भने गौतम र रवि हितैसी भएको बताइएको छ। सुभासका हत्यारालाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र स्थानीय बासिन्दाले कारबाही गर्न दबाब दिँदै आएका थिए। अदालतले श्रीमान्को हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि न्याय पाउने आस पलाएको ममताले बताइन्।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar