काठमाडौ, श्रावण १ - नेपाल वायुसेवा निगमको नयाँ एमए ६० विमान फेरि ग्राउन्डेड भएको छ । यसअघि चरा ठोक्किएपछि प्रोपेलरको ब्लेडमा समस्या आएपछि दुई साता ग्राउन्डेड थियो । गत सोमबार मात्र नयाँ ब्लेड जडान गरी उडान थालेको थियो ।
उडानका क्रममा जहाजमा रहेको मौसमबारे जानकारी लिने राडारमा समस्या आएपछि फेरि ग्राउन्डेड गर्नुपरेको निगम व्यवस्थापनले जनाएको छ । आवश्यक उपकरण मगाई जहाज उडानयोग्य बनाउन चार दिन लाग्ने प्रवक्ता सरोज कसजुले बताए ।
'२० तारिखदेखि उडान शुरु हुनेछ,' उनले भने । यो जहाज चीनियाँ सरकारले निगमका लागि अनुदानमा उपलब्ध गराएको हो । गत जुन २५ देखि उडान थालेको एम ए ६० त्यसको पाँच दिनमै चरासँग ठोक्किएको थियो ।
'सुरुवातमै समस्या देखिएको छ, सरकारले जहाज त थप्यो तर यसले निगमलाई फाइदाभन्दा घाटा बढी हुने छाँट देखियो,' निगमकै एक उच्च अधिकारीले भने, 'त्यसमा अझै ५ वटा चिनियाँ जहाजको प्रस्ताव पर्यटन मन्त्रालयले लगेको छ ।' चिनियाँ जहाजको दर्ता नम्बरकै लागि प्रक्रियामा अल्भिएर एक महिना ढिलो उडान गरेको जहाजबाट निगमले बिनासमस्या उडान गर्न
पाएको छैन ।
चीनले दिएको एमए ६० गत अपि्रल २७ (वैशाख १४) मा त्रिभुवन विमानस्थल अवतरण गरेको थियो । त्यसपछि एक महिना एयरवर्दिनेस र उडान सञ्चालन अनुमति प्रमाणपत्र पाउन समय लागेकाले डेढ महिनापछि मात्र निगमले उडान सुरु गरेको थियो ।
एभ्रो जहाज गुमाएपछि ट्रंक रुटमा उडान गरेको थिएन । चीनबाट दिइएको अनुदानको एमए ६० आएपछि १२ वर्षमा निगमले ट्रंक रुटमा आफूलाई स्थापित गर्न लागेको हो ।
तीन विमान कम्पनी सुरक्षित
काठमाडौं - अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले विमान कम्पनीको नवीकरण सम्बन्धमा प्रश्न उठाएपछि सुरक्षाका आवश्यक कागजपत्र तीन विमान कम्पनीले मात्र नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएका छन् ।
बुद्ध एयर, यती र तारा एयरलाइन्सले मात्र उडान सुरक्षामा सुधार गरी आवश्यक प्रमाणपत्र प्राधिकरणलाई बुझाएका छन् । मंगलबार राति प्राधिकरणले माग गरेका आवश्यक कागजपत्र उपलब्ध नगराउने अन्य आन्तरिक उडानका सबै विमान कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) नवीकरण नगर्ने चेतावनी सम्बन्धित पक्षलाई दिएको छ ।
यसअघि प्राधिकरणले सबै विमान तथा हेलिकप्टर कम्पनीलाई आवश्यक कागजपत्र उपलब्ध गराउन भन्दै एओसीका लागि तीन महिनाको अवधि दिएको थियो । प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनका अनुसार बुधबारदेखि नै विमान कम्पनीले उडान गर्न नपाउने गरी व्यवस्था गर्न लागिएको थियो । 'तर पर्यटन मन्त्रीबाट एकैचोटि यस्तो निर्णय नगरी एक महिनाको समय दिन भनियो,' उनले भने, 'यो अवधिमा हवाई सुरक्षाका आवश्यक प्रमाण नभए अब उडान गर्न दिइने छैन ।' प्राधिकरणले युरोपली युनियनले नेपाली उड्डयनमा लगाएको प्रतिबन्ध फुकुवा गर्नका लागि सुरक्षाका विषयमा कडा कदम चालेको हो । गत डिसेम्बर ५ देखि नेपाली उड्डयन क्षेत्र कालोसूचीमा छ ।
fb