दोलखा , असार १६ - दक्षिणी गाउँ झुले ३ की ७५ वर्षीया हेमा कार्की आक्रमणपछि लुटिएकी छन् । घरमा बस्तुलाई खोले पकाइरहेकी उनलाई शनिबार राति आक्रमण गरी बेहोस बनाएर लुटेको जाहेरीमा उल्लेख छ । हेमाको टाउको, स्तन र घुँडामा गहिरो चोट लागेको चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालका चिकित्सकले बताए ।
दाउरा र बाख्रा बाँधेको किला उखेलेर उनीमाथि अन्धाधुन्ध आक्रमण गरी बेहोस भएपछि खोरमा लगेर फालेको सौतेला छोरा बाबुकाजी कार्कीले बताए । घाइतेको प्रारम्भिक उपचारपछि काठमाडौं पठाएको प्रहरीले बताए । अनुसन्धानका लागि झुले ७ का विक्रम तामाङ र आइतसिंह तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिएका छन् । लुटेपछि पोल खुल्छ भन्ने त्रासले मार्ने नियत राखेको देखिएकाले आरोपीलाई ज्यान मार्ने अभियोगमा मुद्दा चलाइनेछ ।
रक्तश्राव भइरहेकी हेमालाई आइतबार ९ बजेतिर बेहोस अवस्थामा फेला पारेको झुले ३ का राजेन्द्र कार्कीले बताए । एक्लै बसेको फाइदा उठाउँदै लुट्ने नियतले आक्रमण भएको स्थानीयको अनुमान छ । करिब १२ घन्टा बेहोसपछि होसमा आएकी उनले आफ्नो मारबडी, मंगलसूत्र गरी डेढ तोला र करिब ३० हजार लुटिएको बताइन् ।
fb