Headlines News :
fb
Home » » बेलायतमा नेपालबारे पढाइ

बेलायतमा नेपालबारे पढाइ

लन्डन, जेष्ठ २७ - बेलायतको 'युनिभर्सिटी अफ सेफिल्ड' मा नेपालसम्बन्धी पढाइ सुरु भएको छ । अक्सफोर्डलगायत विभिन्न बेलायती विश्वविद्यालयले नेपालसम्बन्धी अध्ययन अनुसन्धान गरेपनि 'मोड्युल' नै राखेर पढाइ थालेको सम्भवतः यो पहिलो भएको बताउँछन्, विश्वविद्यालयका सिनियर लेक्चरर एवं मोड्युल लिडर पदम सिम्खडा ।

अब सेफिल्ड विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने विद्यार्थीले नेपालसम्बन्धी विशेष ज्ञान लिन चाहेमा 'इन्टरनेसनल डेभलप्मेन्ट इन नेपाल' मोड्युल (विषय) रोज्न सक्ने छन् । मोड्युलमा नेपालको सामाजिक, आर्थिक विकास, राजनीति, स्वास्थ्यलगायत क्षेत्रबारे अध्ययन हुने सिम्खडाले जनाए । विश्वविद्यालयको 'स्कुल अफ हेल्थ एन्ड रिलेटेड रिसर्च' का डाइरेक्टर सिम्खडाकै पहलमा विश्वविद्यालयले नेपालसम्बन्धी 'मोड्युल' राखेको हो ।

'बेलायतका विश्वविद्यालयमा पनि नेपालबारे बहस होस् भन्ने हाम्रो उद्देश्य हो,' सिम्खडाले भने, 'नेपालबाट सिक्न सकिने धेरै पक्ष भएकाले नेपाली विद्यार्थी मात्र यहाँ आउने होइन, विदेशी विद्यार्थीसमेत नेपाल गएर अध्ययन गरून् भन्ने हामी चाहन्छौं ।'

उक्त मोड्युल लिनेले आठ साता सेफिल्ड विश्वविद्यालयमा र दुई साता नेपाल गएर अध्ययन गर्नुपर्नेछ । विद्यार्थी नेपाल जाँदा विश्वविद्यालयकै सहयोगमा तारा नेपालले सञ्चालन गरेको हेल्थ प्रमोसन प्रोजेक्ट, त्रिभुवन विश्वविद्यालय आदि शैक्षिक प्रतिष्ठानसमेत भ्रमण गर्छन् । पहिलो ब्याचमा नेपाल अध्ययन गर्नेमा अमेरिका, बेलायत, थाइल्यान्ड, जापान, मलेसिया, नाइजेरिया, दक्षिण कोरिया, गाम्बियालगायत १० देशका २५ विद्यार्थी छन् ।

यी विद्यार्थीहरू तीनजना लेक्चररका साथ भर्खर नेपाल गई दुई साता अध्ययन गरेर बेलायत फर्किएका छन् । नेपालमा रहँदा उनीहरूले धादिङको नलाङ र सलाङ गाविस बसेर स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि प्रविधि आदिबारे अनुसन्धान गरेका थिए । उनीहरूको अध्ययनमा ती गाविसका ७५ प्रतिशत नेपाली रोजगारीका लागि विदेश गएको उल्लेख छ । विद्यार्थीहरूले अनुसन्धानको अन्तिम निष्कर्ष 'पोलिसी बि्रफ' स्थानीय नीति/निर्मातालाई हस्तान्तरणसमेत गरेका छन् ।

योर्क विश्वविद्यालयले पनि नेपालसम्बन्धी मोड्युल राख्न चाहेर छलफल गर्न बोलाएको सिम्खडाले जनाए । उता, सोआस् युनिभर्सिटी अफ लन्डनले भने नेपाली भाषा अध्यापन गराउँदै आएको छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar